राजधानीको बर्डफ्लुको हल्लाले धादिङलाई समस्या , दैनिक ५० लाखको नोक्सानी,१० करोड लगानी जोखिममा

680 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङ/ धादिङका कुखुराजन्य उत्पादन काठमाण्डौ लैजान रोक लगाईएका कारण धादिङका कुखुरापालक किसानले दैनिक ५० लाखको नोक्सानी भोग्नुपरेको वताएका छन । राजधानीका केही स्थानलाई बर्ड फ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेर कुखुरा खरीद बिक्री र ओसार पसारमा रोक लगाईदा धादिङका कुखुरापालक किसानले आफ्नो उत्पादन बिक्री गर्न पाएका छैनन । b9f22b
सरकारले धादिङका कुखुराजन्य उत्पादन एक्कासी राजधानी छिर्न रोक लगाएपछि पोल्टी व्यवसायमा लगानी गरेका किसानहरु निकै चिन्तित हुन पुगेका छन । धादिङ जिल्लाको २५ गाविसका किसानले अहिले पनि व्यवसायिक रुपमा कुखुरापालन गरिरहेको र व्यवसायिक रुपमा कुखुरा पाल्ने किसानहरुले अहिले जिल्लामा १० करोड भन्दा बढीको लगानी गरिरहेको बताएका छन । जिल्लाका बैक तथा वित्तिय संस्था र निजी क्षेत्रवाट समेत गरी १० करोड भन्दा बढी लगानी पोल्टीमा भईरहेको किसानहरुले वताएका छन ।
सरकारले काठमाण्डौ जिल्लाका केही स्थानलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेर नागढुङ्गा नाकावाट कुखुराजन्य उत्पादन ओसारपसारमा रोक लगाएका कारण धादिङका किसानहरु समस्यामा परेका हुन । धादिङ जिल्लामा अहिले ६ लाख ५० हजार ब्रोइलर,२५ हजार लेस,२० हजार प्यारेण्ट र ३ हजार कोइलर समेत गरी ६ लाख ९८ हजार भन्दा बढी कुखुरा ठुला लगानीमा २५ सय किसानले व्यवसायिक रुपमा कुखुरा पालन गरिरहेको धादिङ कुखुरा पालक किसान संघले जनाएको छ । यसैगरी घर खर्चका लागि सानो लगानीमा कुखुरा पाल्ने किसानको संख्या पनि निकैनै रहेको संघले वताएको छ । राजधानीका विभिन्न स्थानमा पटक पटक बर्डफ्लु देखापरेपछि जिल्लाका विभिन्न स्थानवाट नमुना परिक्षणका लागि त्रिपुरेश्वर स्थित केन्द्रीय प्रयागेशालामा कुखुरा पठाईएकोमा ति सबैमा समस्या नभेटिएको जिल्ला पशु सेवा कार्यालय धादिङले जनाएको छ ।
राजधानीवाट कुखुराका लागि दाना ल्याउन रोक लगाईएकोले अवको एक साता भित्रमा धादिङका सवै कुखुरा दाना खान नपाएकै कारण मर्ने किसानहरुको गुनासो छ । वजारमा लैजानुपर्ने अवस्थाका कुखुरा बिक्री गर्न नपाउंदा जिल्लाभरीमा दैनिक ५० लाखको नोक्सानी हुन पुगेको नेपाल राष्ट्रिय कुखुरा वजार व्यवस्थापन संघका केन्द्रीय सदस्य गोकुल रेग्मीले वताउनुभयो । रेग्मीका अनुसार धादिङ जिल्लावाट दैनिक १६ ट्रक कुखुरा राजधानीमा निकासी हुनेगरेकोमा अहिले ति कुखुरा खोरमै राख्नु पर्दा स्टक रहेको दानापनि सकिने अवस्थामा पुगेको छ । जिल्लामा दैनिक २ हजार वोरा दाना बिक्री हुने गरेको भएपनि वजारमा दाना अभाव हुंदै गईरहेको रेग्मीले वताउनु भयो । दाना बिक्री गरेर मात्र व्यवसायीले दैनिक ४४ लाख रुपैयाको कारोवार गर्ने गरेका थिए । अव एक सातालाई पनि पुग्ने दाना नभएको कारण किसानहरु समस्यामा पर्न थालेकाले काठमाण्डौवाट दाना ल्याउन र स्वस्थ कुखुरा बिक्री गर्ने वाताबरण वनाईदिन किसानले धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल संग आग्रह गरेका छन । बर्ड फ्लु रोग नियन्त्रण आदेश २०६४ अनुसार संकटग्रस्त क्षेत्र घोषणा गरी कुखुरा र कुखुराजन्य पदार्थ सबै नष्ट गर्ने निर्णय भएपछि संकटग्रस्त क्षेत्रभित्र संगै पन्छी, अण्डा तथा सुलीको ओसारपसारमा प्रतिबन्ध लगाइएपछि राजधानीवाट दाना ल्याउन रोक लागेको हो ।
काठमाण्डौलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरिएपछि धादिङ जिल्लामा उत्पादित कुखुरा तथा अण्डाको वजार संकटमा परेको धादिङ कुखुरापालक किसान संघका अध्यक्ष किस्मत अधिकारी बताउनुहुन्छ । भक्तपुर जिल्लामा देखापरेको बर्डफ्लुको संक्रमण नियन्त्रणमा नआएपछि सरकारले काठमाडौंका केही गाविस र कीतिर्पुर नगरपालिकालाई समेत संकटग्रस्त क्षेत्र घोषणा गरी राजधानीमा कुखुराजन्य उत्पादन ओसार पसार गर्न रोक लगाएको छ ।
बर्डफ्लुको संक्रमण संक्रमण फैलिन नदिनका लागि भन्दै संंकटग्रस्त क्षेत्र घोषणा गरिनु अघि किसानहरुलाई कुनै जानकारी नदिईएको नेपाल कुखुरावजार व्यवस्थापन संघका केन्द्रीय उपाध्यक्ष हेरम्वराज कोईरालाले बताउनुभयो । संकटग्रस्त घोषणा गरिएको क्षेत्रमा बर्डफ्लुको संक्रमण देखिएका या नदेखिएका सबै कुखुरा मार्ने र अरु ठाउँमा पनि खोजी जारी राखिने सरकारी निर्णय त्रुटिपूर्ण रहेको र किसानहरुलाई ऋणमा डुवाउन खोजिएको आरोप कुखुरापालक किसानहरुको छ ।
साउन ३२ गते शुक्रवार सम्म धादिङमा उत्पादित कुखुरा तथा अण्डा जिल्लामै ¥यापिड चेक गरेर राजधानी लगिने गरेकोमा शुक्रवार राती देखि नागढुङ्गा नाकावाट कुखुरा निकासीमा रोक लागेपछि धादिङ, नुवाकोट, मकवानपुर,चितवन,गोरखा र तनहुं जिल्लाका किसानहरु संगठित भएर भदौ १ गते धार्केवजारमा पृथ्वीराजमार्ग अवरुद्ध पारेर सांकेतिक आन्दोलन गरेका थिए ।
यसै बिच सोमवार जिल्ला प्रशासन कार्यालय धादिङमा प्रमुख जिल्ला अधिकारी पोखरेलको अध्यक्षतामा बसेको किसान र सरकारी प्रतिनिधिहरु सम्मिलित जिल्ला वर्ड फ्लु रोकथाम समन्वय समितिको बैठकले धादिङ जिल्लाका कुखुरामा समस्या नभएको पुष्टि गर्दै बिक्रि वितरणका लागि सहज वाताबरण वनाउन केन्द्रसंग आग्रह गर्ने निर्णय गरेको वताईएको छ ।