बर्ड फ्लू केएफसीको मासुबाट भित्रिएको बामदेब गौतमको दावी

635 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ/ बर्ड फ्लुको सन्त्रासले किसानले दैनिक करोडको नोक्सानी ब्यहोरिरहेको बेला नेकपा एमालेका उपाध्यक्ष एवं अखिल नेपाल किसान महासंघका अध्यक्ष बामदेब गौतमले नेपालमा भारतबाट बर्ड फ्लू भित्रिएको दावी गर्नुभएको छ ।
महासंघले विहीबार रिपोर्टर्स क्लबमा गरेको पत्रकार सम्मेलनमा गौतमले तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतीय कृषि उत्पादनमा डम्पिङ चार्ज हटाएपछि बहुराष्ट्रिय कम्पनी केएफसीले भित्र्याउने मृत कुखुराको मासुबाट नेपालमा बर्ड फ्लू भित्रिएको बताउनुभयो ।
धादिङमा नियन्त्रणमा लिइएको भारतीय कुखुराको मासुमा बर्ड फ्लूको जिवाणु पाइएको उहाँले दावी गर्नुभयो । रोग लागेका कुखुरा अहिले पनि बजारमा विक्री भइरहेकोले नेपाली नागरिक त्रासमा रहेको भन्दै मानवीय स्वास्थ्य ख्याल गरेर सरकारले नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।
महासंघले मानवमा बर्ड फ्लू नफैलने गरी तत्काल वैज्ञानिक ढंगले बर्ड फ्लू नियन्त्रण अभियान सञ्चालन गर्नुपर्ने, रोग लागेका पंक्षीलाई सुरक्षित रुपमा नष्ट गर्नुपर्ने, किसानलाई बास्तविक क्षतीको आधारमा क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, रोगलागेका कुखुरा विक्री वितरण गर्नेलाई कारवाही गर्नुपर्ने, किसानको ऋणमा ब्याज मिनाहा गर्नुपर्ने माग गरेको छ ।