जिल्ला विकास समिति धादिङमा ३० लाख फ्रिज

547 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ / जिल्ला विकास समितिले गरेको कमजोरीका कारण ठूलो मात्रामा बजेट फ्रिज भएको छ। गत आर्थिक वर्षमा विभिन्न शिर्षकमा खर्च गर्न जिल्ला आएको बजेट जिविसले उपयुक्त तरिकाले काम गर्न नसक्दा फिर्ता गएको हो। आर्थिक वर्ष ०६९/७० का लागि विनियोजित ३७ करोड ९२ लाख ७६ हजार ३ सय ९३ रुपैयाँमध्ये ३० लाख ५ हजार ९ सय ७० रुपैयाँ फिर्ता भएको जिल्ला विकास समितिको सूचना शाखाले जनाएको छ।
जिविसका अनुसार स्थानीय स्वायत्त शासन कार्यक्रमको १ लाख, स्थानीय यातायातको ५ लाख ८६ हजार, जनसहभागितमा आधारित कार्यक्रमको ३ लाख ८६ हजार, स्थानीयस्तरका सडक, पुलको १८ लाख ६१ हजार, जेष्ठ नागरिकको ९८ हजार रुपैयाँ फिर्ता भएको हो।
आवश्यक परेको ठाउँमा बजेट विनियोजन नगरी नेताहरुले भनेको भरमा बाँडफाँड हुँदा आएको पैसा खर्च हुन नसकेको सरोकारवालाको भनाइ छ।
यसैगरी विभिन्न योजना सम्पन्न गर्न निकासा भएकोमध्ये ठूलो रकम वर्षको अन्तसम्म फर्स्योट हुन सकेको छैन। जेष्ठ नागरिकको भत्ता बापतको १२ करोड २८ लाख १० हजार, रोयल्टी व्यवस्थापन वितरणको ६ लाख ७६ हजार, क्षेत्रगत झोलुंगेपुलको ३ लाख र ग्रामीण खानेपानी तथा सरसफाइको ४० हजार रुपैयाँ गरी १२ करोड ३८ लाख २६ हजार रुपैयाँ पेश्की बाँकी रहेको जिल्ला विकास समितिले जनाएको छ।