एमालेले बनायो मतदाता भेट्ने अभियान

498 पटक पढिएको

सम्पादक: Dhadingnews.com

PDF Print E-mail
काठमाडौं /आगामी संविधानसभा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न एमालेले एकमहिने मतदाता अभियान सुरु गर्ने निर्णय गरेको छ । बुधबार बसेको एमाले स्थायी समिति बैठकले मतदाता नामावलीमा रहेका सबैसँग सम्बन्ध बढाउन एकमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । ‘मतदाताका बीचमा एमाले अभियान’ नाम दिई सञ्चालन गर्न लागेको अभियानअन्तर्गत एमालेले मुलुकभरका सबै मतदातासँग प्रत्यक्ष सात्क्षात्कार गर्ने लक्ष्य राखेको छ ।

केन्द्र मातहतका सबै कमिटीलाई प्रत्येक मतदाताको घरदैलोसम्म परिचालन गर्ने गरी बैठकले नयाँ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पछिल्लो पटक शीर्ष नेताहरूको तहमा देखिएको असमझदारी अन्त्य गर्दै एमालेले नयाँ चरणको अभियान थाल्ने निर्णय गरेको हो । अध्यक्ष झलनाथ खनालसहित शीर्ष नेताहरूले सञ्चारकर्मीमाझ पार्टी एकताबद्ध ढंगले अघि बढ्ने बताई अभियानबाट बहुमतसहित पहिलो पार्टी बन्ने एमालेको आधार थप सुनिश्चित हुने उद्घोष गरे । बैठकले मातहतका कमिटी र भ्रातृ संगठनका अधिवेशनहरू निर्वाचनको तयारी र पार्टीको आन्तरिक एकतामा असर पु¥याउने गरी आयोजना हुन नसक्ने भन्दै बैठकबाट एकताबद्ध भएर परिचालित हुन पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

बैठकले मूल अभियानसँगै जोडिने गरी तराई–मधेसमा विशेष अभियानका रूपमा छुट्टै ‘मधेस जागरण अभियान’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । अभियानअन्तर्गत सम्पन्न गरिने १० कामको सूची पनि बैठकले पारित गरेको छ । ‘सिंगो पार्टी पंक्ति एकताबद्ध भएर लाग्ने गरी ‘मतदाताका बीचमा एमाले अभियान’ सञ्चालन गर्ने निर्णय गरेका छौं,’ बैठकपछि अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता केपी शर्मा ओलीलाई साथमा राखेर महासचिव ईश्वर पोखरेलले सञ्चारकर्मीमाझ भने । निर्वाचन आयोगले प्रकाशन गरेको फोटोसहितको मतदाता नामावलीमा आधारित भएर मतदाता केन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने, त्यसका निम्ति गाउँमा वडा र नगरमा टोल आधारित योजना बनाएर कार्यान्वयन गर्ने अभियानमा उल्लेख छ ।

त्यस्तै, लगत संकलनका क्रममा तटस्थ देखिएका मतदाताहरूको विश्लेषण गरी पार्टीको पक्षमा तान्न तटस्थ मतदाता केन्द्रित विशेष योजना चलाइने, मतदाता सुरक्षा योजनाअन्तर्गत आफ्ना पक्षका मतदाताको सुरक्षा, स्थानीय स्थितिअनुरूप अन्य दलका कमी–कमजोरीको प्रचार गर्ने, प्रत्येक संगठित सदस्यलाई घरपरिवार नै किटान गरेर पार्टीका पक्षमा परिचालन गर्ने योजना बनाइएको छ ।