छोरी, इच्छा र समाजको हेराई

854 पटक पढिएको

सम्पादक: Dhadingnews.com

संगिता आले मगर
खै किन हो, छोरी भनेपछि समाजले हेर्ने दृष्टिकोण नै फरक हुन्छ । चाहे ऊ भर्खर जन्मेको मात्र किन नहोस् । भर्खर जन्मेको नाबालिका जसलाई केहि थाहा हुँदैन ।Syanja जन्मनासाथ पनि छोरी जन्मेको भनेपछि समाजले त्यति राम्रो मान्दैन । उखानै छ नि ‘छोरो पाए खसी छोरी पाए फर्सि’ । आखिर जन्मदिने आमा एउटै, पीडा एउटै अनि छोरो पाए खसी छोरी पाए फर्सि किन ? छोरी जन्मँदा किन मान्दैनन् त यो समाजले राम्रो ? छोरा पाए के के न हुन्थ्यो भन्ने यो समाजमा जन्मेका छोराहरुको ताल पनि त उहि हो । कहिले कस्को हत्या रे, कहिले नाबालिका, किशोरी, सुत्केरी, बृद्धामाथि बलात्कार रे, कहिले अपहरण त कहिले चोरी अनि यस्तै यस्तै अनेकौँ घटनामा मुछिएका छन् ति पुरुषवादी समाजका पुरुष भनाउँदाहरु ।
छोराहरु जब हिड्न सक्ने हुन्छ तब जहाँ जाउ खुल्ला रुपमा हिड्न पाउँछन् । तर सँगैको छोरी सधैँ घरको काम र मेला पातमा सिमित हुन बाध्य छन् । स्कूले शिक्षालाई हेर्ने हो भने पनि उहि छ कथा अनि छोरीको व्यथा । छोरा बोर्डिङ स्कूलमा अनि छोरी सरकारी स्कूल, त्यहि पनि बिहान बेलुकीको काम धानेर मात्रै ।
कतिपय नारी, छोरीहरुलाई त त्यस्तो नहोला तर धेरै ठाउँमा स्कूले जिवनमा विभिन्न ज्ञानका लागि लगिने शैक्षिक भ्रमणमा सामेल हुन छोरालाई त्यति कठिन पर्दैन तर सँगै पढ्ने छोरीलाई उक्त शैक्षिक भ्रमणमा सामेल हुन बडो हम्य हम्य पर्छ । विभिन्न ठाउँहरुमा छोराहरु वर्षौँ वर्षसम्म पनि घर नआउँदा केहि हुँदैन तर छोरीलाई एकदिनबाट दुईदिन टाढा गयो भने मात्र पनि अनेकौँ आशंकाको घेरामा घेर्ने गर्छ यो परिवार अनि यो समाजले । आखिर किन ? छोराहरु जहाँ जान्छु, जे लाउछु, जे गर्छु छुट छ तर छोरी एउटा कामको शिलशिलामा घरबाट अलि टाढा जानुप¥यो भने घर परिवारका सबै सदस्यहरुलाई सोध्नुपर्छ । घरपरिवारको त सहमति भयो जाउ भन्नुहुन्छ तर छोरीलाई गिद्धे नजरले हेर्ने त्यो समाजले भने निरन्तर अनेकौँ कुरा काट्न थाल्छन् घर नफर्के सम्म । कतै गएर काम सफल भएर आयो घरपरिवारलाई कहिले सुनाउँको मनभरिको एक प्रकारको खुसी त हुन्छ नै तर समाजले भने लौ फलानाको छोरी बाहिर गाथ्यो बिग्रेर आई । यि कुराहरु सुनेर बस्न बाध्य छन् नेपाली नारीहरु ।
छोराहरुले नराम्रो गर्दा पनि राम्रो ग¥यो भन्ने यो समाजमा कहि कतै कसैको छोरीले राम्रो काम गरे पनि अनेकौँ बहानामा नराम्रो बनाएरै छाड्छन् अनि उनीहरुको खोइरो खनेरै छाड्छन् यो समाजले । सञ्चार माध्यममा पनि त्यस्तै छ । छोराहरु पनि जान्छन् कार्यक्रम हुँदा, काम विशेषले कसैसँग बोल्छन् तर सञ्चार माध्यममा आबद्ध छोरीहरु कुनै कार्यक्रममा गएको वा काम विशेषले कसैसँग बोलेको देख्यो भने लौ फलानाको छोरी त फलानो मान्छेसँग पो बोलेको छ, तिनीहरुको चाला ठिक छैन, अब बाउको नाक काट्ने भो इत्यादि कुराहरु भन्छन् जब कि उनीहरुको वास्तविक कुरा के हो थाहा पनि छैन ।
कलाकारिता क्षेत्रमा लाग्ने व्यक्तिहरुको त झनै अत्याधिक मात्रामा नराम्रा कुरा हुने गर्छ । एकजना दाइले भन्नहुन्थ्यो ड्राईभर–खलासी, आर्मी–पुलिस, कला र कलाकारलाई एउटै नजरले हेर्ने गर्छ । तपाईँलाई के लाग्छ ? यसो सोच्नुस् त ! नकारात्मक सोच्नुहुन्छ या सकारात्मक त्यो तपाईँहरुको सोचाईमा भर पर्ने कुरा हो । मेरो विचारमा हुन पनि हो जस्तो लाग्छ किनभने ड्राईभर–खलासीले धेरै मान्छेहरुसँग घुलमिल भैसकेको हुन्छ, त्यस्तै आर्मी–पुलिसहरु पनि धेरै ठाउँमा जाँदा धेरै मानिसको संगत परेको हुन्छ भने कला र कलाकार पनि उस्तै छ विभिन्न विषयलाई उठाएर आफ्नो कला मार्फत प्रस्तुत गरेर धेरै मानिस सामु पु¥याउने गर्दछ । यी सबैलाई हेर्ने हो भने सबैले आ–आफ्नो तर्फबाट राष्ट्रको शान्ति, सुरक्षा एवम् संरक्षणमा केहि न केहि टेवा पु¥याईराखेको हुन्छ । ड्राईभर–खलासी, जसको बानी जे जस्तो भएपनि कमसेकम एक ठाउँबाट अर्को ठाउँसम्मको यात्रा सुरक्षित बनाउन वा सुरक्षित गन्तव्यमा पु¥याउन तत्पर त छन् नि ! आर्मी पुलिस जसलाई राम्रो मानिदैन । होला उनीहरुको बानी खराब होला त्यो आफ्नो ठाउँमा छ तर कमसेकम आफ्नो ज्यान बाजी राखेर भएपनि राष्ट्रको शान्ति सुरक्षामा प्रतिबद्ध त छन् । बाँकी रह्यो कलाकार । कलाकारहरु पनि विभिन्न ठाउँमा जानु पर्ने हुन्छ । चाहे सुटिङका लागि होस् या चाहे आफ्नो कला प्रदर्शन वा प्रस्तुतीका लागि होस् । कलाकारहरु विशेष गरि बोल्ने शैली, हाउभाउ एवम् अभिनय जस्ता कुराहरुमा माहिर हुन्छन् भनिन्छन् । त्यहि आफ्नो कला दिने शैलीबाट धेरै विषय वस्तुलाई उठाउन सक्छन् । चाहे त्यो राष्ट्रियता, जातियता अथवा धार्मिक होस् । तर पनि अभिनयको क्रममा हुने अनेकौँ कुराले गर्दा विशेष गरि छोरीलाई त्यो क्षेत्रमा जानबाट बञ्चित गरिन्छ । तर किन ? भनिन्छ कलाकार र कलाकारिता राष्ट्रको गहना हो रे, त्यस्तो गौरभान्वित स्थानबाट छोरीलाई किन वञ्चित गरिन्छ ?
हो ! भन्दा सबैले आफ्नो रुचिको क्षेत्रमा लाग्नुपर्छ, आफ्नो प्रतिभा लुकाउनु हुँदैन भन्छन् तर कसैको मन कलाकारितामा छ, उसले कलाकारितामा आफ्नो प्रतिभा देखाउन सक्छ भने त्यस क्षेत्रमा लाग्दा किन नराम्रा दृष्टिले हेर्छन् त ? हुनत ‘आफ्नो आङमा भैँसी हिडेको नदेख्ने तर अरुको आङमा जुम्रा पनि देख्ने’ यो समाजलाई आफ्नो कर्तव्य बिर्सिएर पैसाका लागि नराम्रा काम गर्दै जोसमा होस गुमाएका कति कलाकारितामा लाग्ने व्यक्तित्वहरुको चरित्रले गर्दा झनै टेवा पु¥याएको छ ।
परिवारका पनि सबै सदस्यहरुको भावना, चाहना, इच्छा एवम् उद्देश्य एकै हुँदैनन् । कसैको कृषिमा, कसैको शिक्षक, कसैको डाक्टर, कसैको इन्जिनियर, कसैको पाइलट, कसैको कलाकारिता त कसैको पत्राकारिता आदिमा इच्छा हुन्छ । तर यहाँ कुन विषय लिएर पढ्ने वा के बन्ने हो भन्ने बारेमा पहिले नै घरका अभिभावकहरुले इच्छा नभए पनि उद्देश्य निर्धारण गरिसकेको हुन्छ । घरका अभिभावकले जे भन्यो त्यहिमा जानु पर्ने बाध्यता छ । एउटा धनि परिवारको छोरा छोरी तर उसको इच्छा नहुँदा नहुँदै पनि इज्जतको लागि भने पनि डाक्टर, इन्जिनियर इत्यादि पढ्न जानुपर्ने बाध्यता र अर्को गरिब परिवारको छोरा छोरी जसको डाक्टर, इन्जिनियर पढ्ने इच्छा एवम् बौद्धिक क्षमता छ तर ऊसँग पैसा नभएकै कारण वा उसको परिवारमा धेरै खर्च लगाएर कसैले पनि नपढेकै कारण उसले आफ्नो इच्छा अनुसारको विषय पढ्न पाउँदैनन् । जुनसुकै क्षेत्रमा पनि उस्तै छ घरपरिवार, समाज एवम् समग्र राष्ट्रको हेराइ र स्थिति ।
आफ्नो इच्छा एवम् क्षमता विपरित बाध्यताको काम कहिल्यै सफल र सभ्य हुन सक्दैन । त्यसैले आफ्ना बालबालिका विशेष गरि छोरीलाई आवश्यक सल्लाहका साथ आफ्नो इच्छा एवम् रुचिको विषयमा पढ्ने, सिक्ने, आवश्यक ठाउँमा जाने वातावरण सिर्जना गरिदिउँ । अवसर सधैँ आउँदैन त्यसैले अवसर आएको बेला अवसरबाट वञ्चित नगराऔँ । छोरीमाथि हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याऔँ ।
सल्लाह सुझावको लागि

[email protected]