धादिङका ३३ प्रतिशत घरमा स्वच्छ चूलो

827 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अगुवाइमा धादिङका ३३ प्रतिशत घरमा स्वच्छ चूलो जडान गरिएको छ । धादिङका ७३ हजार ३ सय ५५ घरधुरीमध्ये करीब २४ हजार घरधुरीमा स्वच्छ चूलो जडान गरिसकिएको नवीकरणीय ऊर्जा तथा वातावरण संरक्षण केन्द्र, धादिङका अध्यक्ष नवराज सापकोटाले अभियानलाई बताए । ‘आगामी साढे ४ वर्षभित्र धादिङका सबै घरमा स्वच्छ चूलो जडान भइसक्नेछ,’ उनले भने ।

सरकारले आगामी ५ वर्षभित्र सबै घरपरिवारमा स्वच्छ चूलो निर्माण गर्ने अभियान नै चलाएको छ । सन् २०१७ सम्ममा देशका सम्पूर्ण घरधुरीमा स्वच्छ ऊर्जाका प्रविधिहरू पुर्‍याई घरभित्र धूवाँमुक्त गर्ने उद्देश्यका साथ काम अगाडि बढाइएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक प्राडा. गोविन्दराज पोखरेलले बताए । केन्द्रले नेपालका सबै घरमा स्वच्छ चूलो निर्माणका लागि जनचेतना जगाउने उद्देश्यले गत हप्ता राजधानीमा ‘स्वच्छ चूलो मेला– २०१३’ आयोजनासमेत गरेको थियो । ‘धूवाँरहित भान्सा निर्माणका लागि मुलुकका विभिन्न भू–भागमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने लक्ष्य राखेका छौं,’ पोखरेलले बताए ।

धादिङका कुल ५०  गाविसमध्ये मुरलीभञ्ज्याङ, बसेरी र मैदीका सबै घरमा स्वच्छ चूलो निर्माण भइसकेको छ । त्रिपुरेश्वर र नलाङ गाविसका सबै घरमा अर्को वर्षसम्ममा स्वच्छ चूलो जडान गरिसकिने सापकोटाले बताए । धादिङमा स्वच्छ चूलो निर्माणका लागि दुई संस्था क्रियाशील छन् । नवीकरणीय ऊर्जा तथा वातावरण संरक्षण केन्द्र र ग्रामीण आपसी विकास संस्थाले धादिङमा स्वच्छ चूलो निर्माण गरिरहेका हुन् । ‘एउटा स्वच्छ चूलो निर्माण गरेबापत ६ सयदेखि ७ हजार रुपैयाँसम्म लिने गरेको छु,’ स्वच्छ चूलो निर्माण गर्दै आएका किरण अर्यालले भने, ‘चूलो निर्माणका लागि पश्चिममा रूपन्देहीदेखि पूर्वमा भक्तपुरसम्म बोलाउने गर्छन् ।’

धादिङको जनसङ्ख्या करीब ३ लाख ३६ हजार छ । धूँवारहित चूलो निर्माण गरेपछि सबै घरपरिवारका सदस्यको स्वास्थ्यमा सुधार आउने विश्वास केन्द्रले लिएको छ ।