स्कूलमा शुक्रबार पनि पुरै पढाई हुने

727 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं / देशभरका स्कूलमा अब शुक्रबार पनि पुरैदिन पढाई हुने भएको छ ।

सरकारले अघि सारेको शैक्षिक सुधार वर्ष ०७० मा शुक्रबार पुरै दिन पढाउनुपर्ने उल्लेख छ । शुक्रवार १ बजेसम्म पढाई हुँदै आएकोमा शिक्षा विभागले अब सह–क्रियाकलाप समेत संचालन गरी अरु दिन झैं पुरै दिन पढाउन पर्ने नियम बनाएको छ ।

‘विद्यार्थीको सिकाइ अधिकारलाई सुनिश्चित गर्न कम्तीमा १९२ दिन अनिवार्य पठनपाठन हुने र २२० दिन विद्यालय खुल्ने प्रत्याभूति गरिनेछ’ यस आर्थिक वर्षमा प्राथमिकता प्राप्त शैक्षिक कार्यक्रमहरुको मार्गचित्रमा उल्लेख छ । सबै प्रकारका शिक्षालयहरुलाई बालमैत्री र शान्तिक्षेत्रको रुपमा विकास गर्ने पनि सरकारले जनाएको छ ।

यस्तै यसवर्ष जिल्लाको एसएलसी परीक्षाको नतिजामा कम्तीमा दोहोर अंकमा वृद्धि गर्ने लक्ष्य छ । परीक्षालाई थप मर्यादित, व्यवस्थित, प्रभावकारी बनाइने मार्गचित्रमा उल्लेख छ ।

यस्तै विभागले विज्ञान बिषय पढेका तर अध्यापन अनुमति पत्र नभएकालाई शिक्षक सेवा आयोगको नियमावली संशोधन गरी अस्थायी लाइसेन्समा पढाउन पाउने व्यवस्था गर्ने भएको छ ।

दुर्गम ठाउँमा शिक्षामा विज्ञान विषय पढेका शिक्षकको अभाव भएकाले नियमावली संशोधन गरी विज्ञान संकाय मात्रै पढेकालाई  पनि समावेश गरिने विभागका निर्देशक टेकनारायण पाण्डेले जानकारी दिनुभयो ।

साथै यो बर्ष ६८ जिल्ला शिक्षा कार्यालय ‘स्वच्छ’ सूचीमा परेका छन् । बारा, पर्सा, रौतहट, सर्लाही, धुनषा, महोत्तरी, सिरहा भने खराब सूचीमा परेका विभागले जनाएको छ । नक्कली विद्यार्थी र विद्यालय खडा गरी अनियमितता र अन्य हिसावकिताव पारदर्शी नगरेकोले यी जिल्लालाई खराब सूचीमा राखिएको विभागले जनाएको छ ।

सूर्यकुमार क्षेत्री/उज्यालोअनलाईन बाट