नीलकण्ठ सामुदायिक अध्ययन केन्द्रको वार्षिक साधारण सभा सम्पन्न

769 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेशी /नीलकण्ठ सामुदायिक अध्ययन केन्द्रको छैठौं वार्षिक साधरणसभा  भाद्र १४ गते शुक्रवारका दिन सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष विश्वराज अधिकारीको अध्यक्षतामा सम्पन्न  साधारण सभाका प्रमुख अतिथि नीलकण्ठ क्याम्पसका क्याम्पस प्रमुख भुपेन्द्र कुमार श्रेष्ठ रहनु भएको थियो ।

               कार्यसमितिका सदस्य राजेन्द्र रानाले संचालन गर्नुभएको सो कार्यक्रममा कार्यसमिति सदस्य मंगलवहादुर सुनुवारले स्वागत गर्नुभएको थियो। साधारणसभामा एनेकपा माओवादीका कार्यालय सचिव विनोदवावु रिमाल, नेपाली काँग्रेसका कार्यलय सचिव शिवराज गिरी ,जनता पुस्तकालय धादिङका अध्यक्ष मोहन कुमार श्रेष्ठ, नेपाल मानव अधिकार संगठन धादिङका सभापति कृष्णप्रसाद दाहाल, नीलकण्ठ गा.वि.स.का सचिव गिरी प्रसाद विष्ट समेतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साधारणसभा संस्थाको प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम सदस्य मंगलवहादुर सुनुवारले प्रस्तुत गर्नुभएको थियो भने रु.८,६९,०००।– वरावरको आयव्यय विवरण सदस्य शुशिला श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो।
सो अवसरमा सो अध्ययन केन्द्रका संस्थापक अध्यक्ष ध्रुववहादुर थापालाइ सम्मानित गरिएको थियो भने साक्षर नेपाल अभियान अन्तरगत नीलकण्ठ गा.वि.स.मा कार्यरत ३५ जना स्वयँसेवक तथा ४ जना निरीक्षकहरुलाइ प्रमाणपत्र वितरण गरिएको थियो । पुस्तकालयमा नियमित रुपमा अध्ययन गर्ने छात्रा सजना श्रेष्ठलाइ पनि पुरस्कृत गरिएको थियो ।कार्यक्रममा संस्थाका सदस्यहरु ,साक्षर नेपाल अभियानका स्वयँसेवकहरु तथा आयआर्जन समुहका सदस्यहरुको सहभागिता रहेको थियो ।
नीलकण्ठ सामुदायिक अध्ययन केन्द्रले नीलकण्ठ गा.वि.स.मा विशेष साक्षरता कार्यक्रम, साक्षरता दोश्रो कार्यक्रम ,आयआर्जन समुह गठन ,व्यवसायिक सीप विकास तालीम, विउपुँजी वितरण,वचत तथा ऋण कार्यक्रम संचालन गर्नुको अलावा धादिङवेशीमा सामुदायिक पुस्तकालय संचालन गर्दै आएको छ । पुस्तकालयमा नयाँ नयाँ तथा चर्चित पुस्तकहरु उपलव्ध हुनुको साथै राष्ट्रिय स्तरका दैनिक ,साप्ताहिक,मासिक तथा स्थानिय पत्रिकाहरु नियमित रुपमा उपलव्ध हुने व्यवस्था गरिएको छ। वालवालिकाहरुको लागि चित्रकला अभ्यास गर्ने सुविधा मिलाइएको छ ।