महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि महिला अधिकार र कानुन विषयक तालिम

641 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/न्यायिक क्षेत्र सुधार परियोजना अन्र्तगत न्यायमा महिलाको पहुँच कार्यक्रमको महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि महिला अधिकार र वर्तमान कानुन विषयक तालिम शनिवारबाट धादिङबेसीमा शुरु भएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई लैङ्गिक विभेदमा आधारित हिंसा विरुद्ध अवधारणागत स्पष्टता गराउने, हिंसा प्रभावितहरुसंग काम गर्दा लैङ्गिक संवेदनशीलता बनाउने र महिलाको पक्षमा बनेका कानुनहरुको बारेमा विस्तृत जानकारी दिने उद्देश्यले आयोजना गरिएको तालिममा जिल्लाका १८ जना महिला स्वास्थ्य स्वयं सेविकाहरुको सहभागीता रहेको छ ।1236331_10201116926777840_1895036843_n
यसैवीच तालिमको उद्घाटन गर्नुहुँदै जिल्ला स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशासक मोहमद दाउदले महिला स्वास्थ्य स्वयंसेविकाहरुले हिंसा पीडित महिलाहरुको पक्षमा काम गर्न सक्ने र घटना भएको देख्ने वित्तिकै न्यायिक निकायमा जानकारी दिन सक्ने बताउनु भयो । महिला स्वास्थ्य स्वयं सेविकाहरुले गाउँमा देखिएको महिला हिंसा सम्बन्धि कुनै पनि घटनालाई नजिकबाट बुझ्न र घटनाको प्रकृति अनुसार सहयोग गर्न सक्ने हुनाले कानुनी ज्ञानको आवश्यकता महशुस गरेर तालिममा सहकार्य गरेको बताउनुभयो । साथै उहाँले पछिल्लो समयमा सर्ने खालका रोग भन्दा पनि नसर्ने खालका रोग र महिला माथी घरेलु हिंसाका घटना बढिरहेकोले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई संवेदनशील बनाउन पनि यस्ता तालिम महत्वपूर्ण हुने बताउनु भयो ।
तिन दिन सम्म चल्ने तालिममा मानवअधिकार र मौलिक अधिकार, मानवअधिकारको प्रकार, अवस्था, अवधारणा, प्रकृति संयन्त्र र दस्तावेजहरु, लैङ्गिक विभेदमा आधारित हिंसा, लैिङ्गकता र हाम्रो सामाजिकीकरण, महिलाको सम्पतिमाथीको अधिकार र यस सम्बन्धि कानुन, यौन तथा प्रजनन स्वास्थ्यको अधिकार, पहिचानको अधिकार, मानववेचविखन तथा ओसारपसार सम्बन्धि कानुन, घरेलु हिंसा, यौनजन्य हिंसा, बलत्कार र यौनजन्य र्दुव्यवहारको कानुनी पक्षहरुका बारेमा सहभागीहरुलाई जानकारी गराइने छ । आइ सि जे नेपालको सहयोगमा भएको कार्यक्रम महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल, फोकस नेपाल र नारी जागरण केन्द्रको संयुक्त आयोजनामा भएको हो ।