संविधानसभाको चुनावमा राष्ट्रिय जनमोर्चाले जित्नु किन आवश्यक छ ?

484 पटक पढिएको

सम्पादक: Dhadingnews.com

                                                       – मोहनविक्रम सिंह
संविधान सभाको चुनावमा भाग लिने राजनीतिक शक्तिहरूमध्ये राष्ट्रिय जनमोर्चाको नीति र भूमिका अरू सबैको भन्दा बेग्लै र विशिष्ट छ । प्रश्न यो मात्र होइन कि सङ्घीयतको प्रश्नमा त्यसका नीति अरू सबैको भन्दा बेग्लै छ र त्यो प्रश्नमा देशका अन्य सबै राजनीतिक शक्तिभन्दा त्यसको स्थान उच्च छ । त्यसका साथै अर्को महत्वपूर्ण कुरा यो हो कि गणतन्त्र र राष्ट्रियताको प्रश्नमा पनि त्यसको नीति र भूमिका सधै स्पष्ट र दृढ हुने गरेको छ । गणतन्त्र, राष्ट्रियता र सङ्घीयताका प्रश्नहरूमा त्यसका नीतिहरू स्पष्ट र दृढ मात्र रहने गरेका छैनन्, आफ्ना घोषित नीतिहरूको पक्षमा त्यसले लगातार र दृढतापूर्वक आफ्ना कार्यक्रमहरू अगाडि बढाउँदै आएको छ । आफ्ना नीति र व्यवहारमा एकरूपता त्यसको चरित्रको महत्वपूर्ण विशेषता रहने गरेको छ । जबकि अन्य राजनैतिक शक्तिहरूको नीति र व्यवहारमा ठूलो अन्तर वा असन्तुलन हुन्छ । त्यसैले त्यसको त्यस प्रकारको नीति, भूमिकाका कारणले आगामी संविधान सभाको चुनावमा देश र जनताका व्यापक हितका पक्षमा त्यसले सही, सशक्त र ठोस रूपले भूमिका खेल्ने क्षमता राख्दछ । तर त्यस प्रकारको भूमिका त्यसले त्यो बेला नै खेल्न सक्नेछ, जब त्यसका उम्मेदवारहरू ठूलो सङ्ख्या विजयी भएर संविधान सभामा पुग्न सक्नेछन् ।
प्रश्न यो मात्र होइन कि नीतिगत रूपमा राष्ट्रिय जनमोर्चाका नीतिहरू अरू सबैका भन्दा बेग्लै र विशिष्ट छन् । त्यसको अर्को महत्वपूर्ण पक्ष यो हो कि त्यसको चरित्र पनि अरू सबैको भन्दा बेग्लै, स्वच्छ, निष्कलङ्क र उच्च प्रकारको छ । नेपालको २०४६ सालपछि सम्पूर्ण संसदीय इतिहासमा त्यसका सांसदहरू कुनै पनि प्रकारको भ्रष्टाचारमा लागेको, दलबदलमा फसेका, सरकारी सुविधाहरू प्राप्त गर्न गलत तरिकाहरू अपनाएको, मन्त्री पद प्राप्त गर्नका लागि सिद्धान्तहीन वा अराजनीतिक तरिकाहरू अपनाएको, जनताका बीचमा कुनै पनि प्रकारको भ्रष्टाचार गरेको आदि जस्ता कुनै पनि उदाहरणहरू त्यसको रेकर्डमा छैनन् । कैयौँपल्ट मन्त्री बन्नका लागि प्रस्तावहरू आउँदा पनि त्यसले अस्वीकार गर्ने गरेको छ । सरकारमा जानु नै हुन्न भन्ने त्यसको नीति छैन । तर सरकारमा जान हुन्छ वा हुन्न भन्ने कुरा त्यसले सरकारमा गएर आफ्ना नीति र कार्यक्रमहरू लागु गर्न सकिन्छ वा सकिन्न र इमान्दारितापूवक देश र जनताको सेवा गर्न सकिन्छ वा सकिन्न भन्ने आधारमा नै निर्णय गर्ने गर्दछ । त्यसैले अहिलेसम्म बनेका सरकारहरूमध्ये कुनैमा पनि गएर आफ्ना नीतिहरू कार्यान्वयन गर्ने वा देश र जनताको सेवा गर्ने सम्भावना नदेखिएकाले नै त्यसले सरकारमा सामेल हुने कुरालाई अस्वीकार गर्दै आएको छ । खालि मन्त्री पद, भत्ता वा विभिन्न प्रकारका सुविधाहरू प्राप्त गर्नका लागि सरकारमा जाने नीतिलाई त्यसले अस्वीकार गर्ने गरेको छ । नेपालमा सरकारमा जान वा मन्त्री बन्ने हदसम्मका निम्न, अराजनैतिक, अनैतिक र अप्रजातान्त्रिक तरिकाहरू अपनाउने गरेका थुप्रै उदाहरणहरू छन् । त्यस प्रकारको अवस्थामा मन्त्री पद वा विभिन्न सरकारी सुविधाहरूबारे त्यसले अपनाउने तरिका समान्य कुरा होइन । बताइरहनु पर्ने आवश्यकता छैन कि खालि दृढ सैद्धान्तिक राजनीतिक स्पष्टता, उच्च प्रकारको नैतिकता र देश र जनताप्रतिको  पूर्ण समर्पणको भावनाका आधारमा नै राजमोका लागि त्यस प्रकारको नीति अपनाउनु र भूमिका खेल्नु सम्भव हुन्छ । त्यस अर्थमा पनि देशमा अन्य सबै राजनीतिक शक्तिहरूभन्दा राजमोको स्थान बेग्लै र उच्च रहेको कुरामा कुनै शङ्का रहँदैन ।
राजमोको २०६४ को चुनाव घोषणा पत्रमा यो स्पष्ट रूपले लेखिएको छ कि जनताका वर्तमान आधारभूत समस्याहरूको समाधानका लागि अहिलेको राजनीतिक, आर्थिक वा सामाजिक अवस्थामा आमूल परिवर्तनको आवश्यकता छ । त्यस प्रकारको परिवर्तन विद्यमान अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाको अन्त तथा नयाँ जनवादी व्यवस्थाको स्थापनापछि नै सम्भव छ । तर त्यस प्रकारको उच्च र क्रान्तिकारी सैद्धान्तिक मान्यताहरूका बावजुद वर्तमान स्थितिमाथि ध्यान दिँदै त्यसले तात्कालिक रूपमा तुलनात्मक रूपले सबैभन्दा प्रगतिशील र जनपक्षीय नीतिहरूलाई समर्थन गर्ने वा तात्कालिक दृष्टिकोणले महत्वपूर्ण स्थान राख्ने राजनीतिक प्रश्नहरूलाई समर्थन गर्ने नीति अपनाउँदै आएको छ । त्यही नीति अनुसार नै संसदीय प्रणाली वा पुँजीवादी गणतन्त्रप्रतिको आधारभूत मतभेदका बावजुद त्यसले बहुदलीय व्यवस्था, २०६२–६३ को आन्दोलन, संविधान सभाको चुनाव, लोकतान्त्रिक संविधानको निर्माण, गणतन्त्रलाई संस्थागत गर्ने कार्य आदिलाई दृढतापूर्वक समर्थन गर्ने वा आफ्ना गम्भीर प्रकारका मतभेदका बावजुद अन्य राजनैतिक दलहरूका सही नीतिहरू वा उनीहरूको नेतृत्वमा बनेका सरकारहरूलाई समर्थन गर्ने नीति अपनाउँदै आएको छ । त्यसरी राजमोले आधारभूत कार्यक्रम र तात्कालिक नीतिहरूका बीचमा सामञ्जस्यता कायम गर्ने नीति अपनाउँदै आएको छ । आफ्ना सबै नीति र कार्यहरूलाई उच्च प्रकारको समर्थन, बिना कुनै मोलतोल सैद्धान्तिक मान्यता र राजनीतिक दृष्टिकोणका आधारमा निर्धारित गर्ने कार्यप्रणालिका कारणले त्यस प्रकारको नीति अपनाउन राजमोका लागि सम्भव हुने गरेको छ ।
अहिले राजमोले उठाएका गणतन्त्र, राष्ट्रियता र सङ्घीयताका प्रश्नहरू दीर्घकालीन र तात्कालिक राजनीतिक दृष्टिकोणले पनि अत्यन्त महत्वपूर्ण छन् । देशमा गणतन्त्र कायम भएको छ । तर त्यो अझै संस्थागत भैसकेको छैन । कैयौँ राजनीतिक शक्तिहरू त्यसलाई समाप्त गर्न वा राजतन्त्र र हिन्दू राज्यको पुनस्र्थापनाका लागि प्रयत्नशील छन् । अहिले हाम्रो राष्ट्रियता शायद इतिहासमा सबैभन्दा कमजोर अवस्थामा छ । सङ्घीयताका कारणले देशमा जातीय र क्षेत्रीय विग्रह पैदा हुने र देश राष्ट्रिय विखण्डनको स्थितिमा पुग्ने खतरा उत्पन्न भएको छ । देशका प्रमुख राजनीतिक शक्तिहरूका गलत नीति र भूमिकाका कारणले देशमा झन्पछि झन् त्यस प्रकारको स्थिति उत्पन्न हुँदै गैरहेको छ । त्यस प्रकारका खतरा वा सम्भावनाका विरूद्ध खालि राजमोले नै स्पष्ट, दृढ र सम्झौताहीन सङ्घर्षको नीति अपनाउँदै आएको छ । आफ्नो त्यस प्रकारको इतिहास र चरित्रका कारणले संविधान सभामा राजमो नै गणतन्त्र र राष्ट्रियताको रक्षा र सङ्घीयताका विरूद्ध सबैभन्दा सशक्त भूमिका खेल्न सक्ने स्थितिमा भएको कुरा स्पष्ट छ ।
देशमा गणतन्त्र कायम भएको छ । तर त्यो प्रकारले कायम हुँदैमा जनताका सबै समस्याहरूको समाधान हुने छैन । त्यसका लागि अझै लामो र कठिन सङ्घर्ष गर्नु आवश्यक हुनेछ । तर त्यसका बावजुद तात्कालिक रूपमा त्यसको जुन प्रगतिशील र ऐतिहासिक महत्व छ, त्यसलाई अस्वीकार गर्नु गलत हुनेछ । राजमोले एकातिर, त्यसको आधारभूत कमजोरीमाथि ध्यान दिँदै त्यसका ठाउँमा उच्च प्रकारको क्रान्तिकारी व्यवस्था कायम गर्नु पर्ने आवश्यकतामा जोड दिन्छ भने तात्कालिक रूपमा त्यसलाई सुदृढ गर्नु पर्ने आवश्यकतामा पनि जोड दिन्छ । गणतन्त्रको तात्कालिक चरित्रमा कैयौँ प्रकारका कमजोरीहरू भए पनि त्यसलाई सुदृढ गरेपछि त्यसको उच्च क्रान्तिकारी आन्दोलनका लागि पनि आधार तयार पार्नेछ । भारतीय विस्तारवादले नेपालको राष्ट्रियताका विरूद्ध योजनावद्ध प्रकारले षडयन्त्र गर्दै आएको छ भने नेपालका प्रमुख राजनीतिक शक्तिहरूका भारतपरस्त नीतिहरूका कारणले नेपालको राष्ट्रियताको विरूद्धको खतरा झन्पछि झन् गम्भीर हुँदै गैरहेको छ । नागरिकतासम्बन्धी प्रमुख राजनीतिक दल र सरकारका राष्ट्रघाती नीतिहरूका कारणले नेपाल फिजी बन्ने खतरा बढेर गएको छ । मधेशवादीहरूका पृथकतावादी नीतिहरू कारणले देशको राष्ट्रियता र अखण्डताका अगाडि झन् गम्भीर खतरनाक स्थिति उत्पन्न भएको छ । उक्त प्रश्नहरूमा खालि राष्ट्रिय जनमोर्चाले स्पष्ट र दृढ नीति लिँदै आएको छ ।
सङ्घीयता आज देशको अत्यन्त गम्भीर प्रश्न बनेको छ । राजमोले मात्र बारम्बार यो कुरा स्पष्ट गर्दै आएको छ कि सङ्घीयता नेपालका लागि उपयुक्त छैन । त्यो वाहेक त्यो सँग जोडिएका जातीय राज्य, आत्मनिर्णयको अधिकार, एक मधेश एक प्रदेश, बहुराष्ट्रवाद, जातीय अग्राधिकार जस्ता अवधारणाहरूका कारणले स्थिति अरू गम्भीर भएको छ । पहिले संविधान सभामा भएका र अहिले संविधान सभाको चुनावमा सामेल भएका अरू सबै राजनीतिक शक्तिहरूले सङ्घीयतालाई समर्थन गर्दछन् । तिनीहरूमध्ये राजमो नै एउटा यस्तो शक्ति हो, जो स्पष्ट रूपले सङ्घीयताको विरूद्ध उभिँदै आएको छ । त्यसैले यो स्पष्ट छ कि राजमोले नै सङ्घीयताका विरूद्धको आन्दोलनलाई सही नेतृत्व दिने क्षमता राख्दछ ।
उपर्युक्त प्रकारको पृष्ठभूमिमा राजमोले संविधान सभामा ठूलो सङ्ख्यामा विजय प्राप्त गर्नु आजको राष्ट्रिय आवश्यकता भएको छ । अन्य पार्टीहरूका लागि चुनावमा सफलता प्राप्त गर्नु या त देशमा गणतन्त्र असफल पार्ने, देशको राष्ट्रियता र अखण्डतामा आँच पु¥याउने, देशलाई सङ्घीयता, जातीय राज्यमा धकेल्ने, उक्त उद्देश्यहरू पूरा गर्नका लागि बहुमत वा दुई–तिहाई भोट प्राप्त गर्ने, सरकारमा आप्mनो नेतृत्व कायम गर्ने वा मन्त्रीमण्डलमा पुग्ने माध्यम हुनेछ भने राजमोका लागि संविधान सभाको चुनावमा सफलता लोकतान्त्रिक संविधानको निर्माण, गणतन्त्रको सुदृढीकरण वा सङ्घीयता र जातीय राज्य तथा तिनीहरूबाट सम्भावित दुष्परिणामहरूलाई रोक्नका लागि नै हुनेछ । त्यसरी संविधान सभाको चुनावमा भाग लिनुका पछाडिका र त्यसमा विजय प्राप्त गर्नुका उद्देश्यहरूबारे अन्य राजनीतिक शक्तिहरू र राजमोका बीचमा मौलिक भिन्नता छ । अर्को शब्दमा राजमोले स्पष्ट र निश्चित रूपले आफ्ना सिद्धान्त राजनीतिक मान्यता र देश र जनताका व्यापक हितका पक्षमा नै चुनावमा भाग लिँदैछ । त्यसले कति सफलता प्राप्त गर्नेछ ? त्यसमाथि देशको भविष्य पनि काफी हदसम्म निर्भर गर्नेछ ।
यस सन्दर्भमा एउटा अर्को कुराप्रति पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । राजमोले आफ्नो सिद्धान्त, राजनीतिक लाइन र गत कालमा आप्नो उज्वल चरित्रका आधारमा नै चुनावमा भाग लिँदैछ । तर अन्य विभिन्न प्रमुख राजनीतिक शक्तिहरूले पैसा, गुण्डागर्दी वा मतदाताहरूलाई विभिन्न प्रकारका प्रलोभन दिएर वा आतङ्कित गरेर पनि चुनावमा सफलता प्राप्त गर्ने प्रयत्न गर्दैछन् । उनीहरूले त्यसरी प्राप्त गरेको सफलताको वा त्यसरी बनाएका सरकारहरूबाट देश र जनताको कति हित हुनेछ ? कसैले पनि त्यसबारे सजिलैसित अन्दाज गर्न सक्दछ ।
अहिले हुने संविधान सभाको चुनाव, लोकतान्त्रिक संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्ने कार्यहरूबाट देश र जनताका आधारभूत समस्याहरू समाधान हुने छैन । तैपनि त्यो संविधान सभामा प्रगतिशील र जनपक्षीय मागहरू पूरा गराउन र त्यसरी संविधानको निर्माण र राज्यको स्वरूपलाई प्रगतिशील र जनपक्षीय रूप प्रदान गर्नका लागि अधिकतम प्रयत्न गरिनु पर्दछ । स्पष्ट छ कि गणतन्त्रलाई संस्थागत गर्न, राष्ट्रियताको रक्षा गर्न तथा  सङ्घीयता, जातीयता र क्षेत्रीयतामाथि आधारित संविधानको निर्माण हुन नदिन तथा जनताका प्रगतिशील र जनपक्षीय मागहरू, आवश्यकता अनुसार संविधानको निर्माण गर्नका लागि राजमोले बेग्ला बेग्लै विषयहरूमा समान विचार राख्ने राजनीतिक तत्वहरूसित मिलेर इमान्दारिता र दृढतापूर्वक काम गर्नेछ । त्यसैले संविधान सभाको चुनावमा राजमोको विजय ऐतिहासिक महत्वको भएको कुरा हुनेछ ।
२०७० भाद्र २४