महिलाको कानुनी अधिकार तथा मनोसामाजिक विमर्श सम्बन्धि ३ दिने तालिम चल्दै

638 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ जिल्लामा पछिल्लो समयमा महिला र बालिकाहरुमाथी यौनजन्य हिंसाका घटनाहरु बढिरहेकोले यस्ता घटना पीडितलाई सहयोग गर्ने उद्देश्यले महिलाको कानुनी अधिकार तथा मनोसामाजिक विमर्श सम्बन्धि ३ दिने तालिम शुक्रवार देखि शुरु भएको छ । जिल्लाका विभिन्न विद्यालयका महिला शिक्षकहरुका लागि आयोजना गरिएको तालिममा २८ जनाको सहभागिता रहेको छ । महिला शिक्षकहरुलाई महिला अधिकार र वर्तमान कानुनको बारेमा जानकारी दिने,समुदायमा रहेका हिंसा पीडित महिलाहरुलाई आवश्यक सल्लाह र सहयोग प्रदान गर्ने, आधारभूत मनोसामाजिक विमर्श र कानुनी प्रकृयाको लागि आवश्यक सहयोग गर्न सक्ने क्षमताको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
यसैवीच तालिमको उद्घाटन गर्नुहुँदै जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले शिक्षकहरु समुदायको आंखा भएकोले हिंसामा परेका महिला तथा बालबालिकाहरुको उद्धार, सहयोग र परामर्श गर्न तालिम उपयोगि हुने बताउनु भयो । विद्यालयमा बालिकाहरुमाथी हुने समस्या पहिचान गरि छात्रा मैत्रि विद्यालय बनाउन र महिला तथा बालिकामाथीका हिंसाका घटनालाई नजिकबाट बुझेर आवश्यक कानुनी तथा मनोसामाजिक परामर्श गर्न सकेमा हिंसा न्यूनिकरणमा सघाउ पुग्ने बताउनुभयो । साथै महिला शिक्षकहरु समाजसंग नजिक रहने हुनाले यस्ता कानुनी र मनोविमर्श ज्ञानको आवश्यकताको महशुस गरेर पनि तालिममा सहकार्य गरेको बताउनु भयो ।
तालिम अवधिभर लैंगिक हिंसा, लैंगिक हिंसाको कारण, यौनिकता, यौनजन्य हिंसा , बलत्कार, पहिचानको अधिकार, व्यक्तिगत घटना दर्ता, मानववेचविखन, ओसारपसार र बाल विवाह मनोसामाजिक समस्या भएका बालबालिकहरुको पहिचान र उनीहरुलाई मनोसामाजिक विमर्श प्रदान गर्न सहयोगी शिपको बारेमा छलफल गरिने छ ।
तालिमको पहिलो दिन आज शिक्षकले बालबालिकाहरुको समस्या पहिचान गर्ने, बालबालिकाहरुको मनोभावना कसरी बुझने र सहयोग गर्ने भन्ने विषयमा जिल्ला शिक्षा कार्यालयका उप सचिव जर्नादन रिजालले सहजीकरण गर्नुभएको छ । आइ सि जे नेपालको सहयोगमा भएको कार्यक्रम महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल, फोकस नेपाल र नारी जागरण केन्द्रको संयुक्त आयोजनामा भएको हो ।