बिदेसिने कामदारमा महिलाको हिस्सा तीन प्रतिशत

559 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं: कामको खोजीमा बिदेसिनेमा महिलाको हिस्सा जम्मा तीन प्रतिशत मात्र रहेको छ। सरकारको अनुमति लिएर हालसम्म ३० लाख युवा विदेशी भूमिमा काम गरिरहेका छन्। जसमा महिलाको संख्या करिब ९० हजार मात्र छ। बाँकी बिदेसिने सबै पुरुष हुन्।

कामका लागि बिदेसिएका मध्ये दुई तिहाइभन्दा बढी खाडीमुलुक र मलेसियामा छन्। मुख्य रोजगार गन्तव्य खाडी र मलेसिया रहेकाले पनि यी मुलुकमा जाने महिलाको संख्या न्यून भएको हो। खाडी मुलुकमा महिला कामदारका लागि त्यति धेरै अनुकूल वातवरण छैन। सामाजिक, सांस्कृतिक हिसाबले पनि महिला कामदारका लागि खाडीमुलुक खासै उपयुक्त छैन।

त्यसबाहेक परापूर्वकालदेखि नै धन कमाउन पुरु षहरू नै बढी बिदेसिने हाम्रो परम्परा छ। यसले पनि महिलाको तुलनामा पुरुषको संख्या अत्यधिक धेरै भएको वैदेशिक रोजगारका विज्ञहरू बताउँछन्। वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म सरकारी तहबाट अनुमति लिएर कामको खोजीमा बिदेसिने पुरुष कामदार ९७ प्रतिशत छ भने महिला जम्मा तीन प्रतिशत मात्र छन्।

सरकारले २०५० सालयतामात्र बिदेसिने कामदारको तथ्यांक राख्दै आएको छ। त्यसभन्दा पहिला पनि नेपाली युवा कामको खोजीमा बिदेसिने गरे पनि सरकारले तथ्यांक राख्ने गरेको थिएन। सरकारी अनुमति लिएर जानेको संख्या ३० लाख हाराहारीमा रहे पनि गैरकानुनी रूपमा जानेको संख्यासमेत यही अनुपातमा रहेको सरकारी अनुमान छ।

महिला कामदारका लागि वैदेशिक रोजगारको आकर्षक गन्तव्य मुलुक इजरायल हो तर यो मुलुकमा विगत चार वर्षदेखि नेपाली महिला कामदार जान पाएका छैनन्। पठाउने म्यानपावर कम्पनीले जानेसँग धेरै रकम असुल्न थालेको भन्दै इजरायल सरकारले लिन रोकेको हो। इजरायलपछि केही मात्रामा दक्षिण कोरियामा महिला कामदार जाने गरेका छन् तर संख्या भने न्यून छ।

कुबेतमा महिला कामदार जाने गरे पनि यो मुलुक उनीहरूका लागि सुरक्षित हुन सकेको छैन। पछिल्ला वर्षहरूमा धेरै नेपाली कामदार जानेमा मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरबलगायतका मुलुक पर्दै आएका छन्। खाडीको तुलनामा मलेसियामा काम गर्ने वातावरण अलि सहज रहेको त्यहाँ पुगेका कामदारले बताउँदै आएका छन्।

मलेसियामा खुला समाज रहेकाले नेपाली कामदारले तुलनात्मक रूपमा सहज अनुभव गर्न सक्छन्। खुला संस्कृति भएकाले धेरै पुरुष कामदारको रोजगारको पहिलो रोजाइमा मलेसिया परेको हो। मलेसियामा पछिल्ला वर्षहरूमा विकास निर्माणका कामले समेत गति लिइरहेको छ। बहुराष्ट्रिय कम्पनीले मलेसियामा लगानी बढाइरहेका छन्।

पूर्वाधार विस्तार र सेवा क्षेत्रको काम द्रुत गतिमा अघि बढिरहेको छ। यसबाट मलेसियामा कामदारको माग बढिरहेको छ। बंगलादेशी कामदार नलिएकाले पछिल्ला वर्षमा यो मुलुकमा नेपाली कामदारले राम्रो अवसर पाउँदै आएका छन्। मलेसियापछि अधिक नेपाली कामदार बिदेसिनेमा खाडीमुलुक परेका छन्। खाडीमा जानेमध्ये दुई तिहाईभन्दा बढी कामदार अदक्ष र अर्धदक्ष छन्। आन्तरिक श्रमबजारमा बर्सेनि साढे चार लाख हाराहारीमा युवा भित्रिने गर्छन्। त्यसमध्ये अत्यन्त न्यून संख्याले मात्र स्वदेशमा काम पाउने गर्छन्। मुलुकभित्र रोजगारको अवस्था सिर्जना हुन नसक्दा युवा बिदेसिन बाध्य भएका हुन्।

बिदेसिने कामदारलाई कामसम्बन्धी सीपको ज्ञान छैन। भाषाको समस्या हुने गरेको छ। कामदार पठाउनुअघि स्वदेशमै प्राविधिक शिक्षा उपलब्ध गराउन सरकारले सकेको छैन। तालिम उपलब्ध गराउने संस्थाको अभाव छ। कामसँग सम्बन्धित प्राविधिक र सैद्धान्तिक ज्ञान अभावमा अधिकांश नेपाली कामदार विदेशी भूमिमा न्यून तलबमा जोखिमपूर्ण काम गर्न बाध्य भएका हुन्।

हाल दैनिक सरदर एक हजार पाँच सय कामदार कामको खोजीमा बिदेसिने गरेका छन्। विदेशमा पुगेका युवाले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा भने सकारात्मक प्रभाव पार्दै आएको छ। वार्षिक चार खर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ।

अन्नपूर्णपोस्ट दैनिक बाट