प्रेस काउन्सिलबाट १४ पत्रकार पुरस्कृत; गोपालदास पत्रकारिता पुरस्कार गौतमलाई

594 पटक पढिएको

सम्पादक: Dhadingnews.com

press_council_44th-anniversकाठमाडौं, ६ असोज। प्रेस काउन्सिलले आफ्नो ४४औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न १५ व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ। काउन्सिलले १५ मध्ये १४ पत्रकार र एक कर्मचारीलाई पुरस्कृत गरेको हो।

काउन्सिलले यस बर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट देवेन्द्र गौतमलाई पुरस्कृत गरेको छ। त्यसैगरि प्रेस काउन्सिल आचारसंहिता पुरस्कारबाट रेडियो चुलिमालिकालाई पुरस्कृत गरेको छ।

काउन्सिलले प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कारबाट अजित तिवारी र लक्ष्मी शाहलाई पुरस्कृत गरेको छ। प्रेस काउन्सिल सशक्त पत्रकारिता पुरस्कारबाट हदिश खुद्धार, गजेन्द्र बुढाथोकी  नेत्र पन्थी पुरस्कृत हुनुभएको छ। प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट सुधा देव, प्रेस काउन्सिल यूवा सशक्तिकरण पुरस्कारबाट बविता परियार, प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कारबाट लक्ष्मी पुन, प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कारबाट माधव विद्रोही, प्रेस काउन्सिल स्तम्भलेखन पुरस्कारबाट केदार सुवेदी पुरस्कृत हुनुभएको छ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारबाट शब्द संयोजन, प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कारबाट बुङवाखा र प्रेस काउन्सिल उत्कृष्ठ कर्मचारी पुरस्कारबाट सुरेन्द्र मल्ल पुरस्कृत हुनुभएको छ।

कामु प्रधानन्यायाधिश दामोदर शर्माले पुरस्कृतहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो।

क्रियाशिलता, समावेशी, दुर्गम लगायतका सबै विधालाई समेटेर पुरस्कृत गरिएको काउन्सिलका सदस्य किशोर श्रेष्ठले जानकारी दिनुभएको छ।

हालसम्म छापा सञ्चार माध्यमलाई मात्र अनुगमन गर्दै आएको काउन्सिलले विद्युतिय सञ्चार माध्यमलाई पनि अनुगमन गर्ने प्रक्रिया शुरु गरेको छ। यसको लागि काउन्सिलले सञ्चार मन्त्रालयसँग प्रस्ताव समेत गरिसकेको काउन्सिलले जनाएको छ।

गत बर्ष ४२ उजुरी परेको थियो भने यस बर्ष ७८ वटा उजुरी परेको छ। त्यसैगरि गतबर्ष ७९५ वटाले वर्गिकरणमा निवेदन दिएका थिए भने यस बर्ष ८१७ वटा वर्गिकरणका लागि काउन्सिलमा निवेदन परेको छ।

साथै २५० वटा पत्रकारिता कपि पेष्ट पत्रकारिता भएको पहिचान भएको थियो। काउन्सिलले सबै २५०लाई नै अन्तिम पटक भन्दै सचेतपत्र पठाइएको थियो जसमध्ये २२३ ले पुनरावेदन दिएको काउन्सिलले जनाएको छ।

हाम्रा कुरा डट कमबाट