निर्वाचन आयोगद्वारा लैङ्गिकमैत्री नीति सार्वजनिक

624 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं /निर्वाचन आयोगले लैङ्गिक तथा समावेशीकरण नीति २०७० सार्वजनिक गरेको छ । आउँदो संविधानसभामा चुनावलाई पूर्ण लैङ्गिकमैत्री बनाउने उद्देश्यले यस्तो नीति ल्याइएको आयोगले जनाएको छ ।

सार्वजनिक गरिएको नीतिअनुसार आयोगले अबको चुनावमा महिला पुरुष स्वयमसेवक बराबर खटाइने, मतदान केन्द्रमा महिला र पुरुष कमर्चारी बराबर राखिने, चुनावमा खटिने कर्मचारीहरूको व्यक्तिगत विवरण सङ्कलन गरिने, अपाङ्गता भएका, सुत्केरी महिलाहरूलाई मतदानको सहज व्यवस्था मिलाइने आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आफ्नो गतिविधिलाई लैङ्गिकमैत्री बनाउने अभ्यास आयोगले यही नीतिबाट थालेको बताउनुभयो । समानुपातिक समावेशीकरणको मर्मलाई आयोगले पूर्णरूपमा पालना गर्ने बताउँदै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले अब हुने चुनाव लैङ्गिकमैत्री हुने बताउनुभयो । उहाँले निर्वाचन आयोगले केही प्राविधिक कामबाहेक चुनावको तयारी धेरै अगाडि बढाइसकेकोले मङ्सिर ४ को चुनाव स्थगनको सम्भावना नरहेको बताउनुभयो ।