पुस्तकालय भएर पढ्ने बानीको विकास

587 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, / विद्यालयको एउटा कोठालाई सजाइएको छ । भुईंमा बस्न मिल्ने गरी गलैंचा राखिएको छ । ¥याकमा सजाएर राखिएको किताबहरु धेरै नै छन् । विद्यार्थीहरु राखिएका किताबहरु पढ्न हतार गर्छन् र शिक्षक नभएको समयमा त उनीहरु आफूलाई मन पर्ने किताब झिकेर अध्ययन गर्न थालिहाल्छन् ।
सदरमुकामबाट कम्तीमा तीन दिनको बाटो हिँडेर पुगिने उत्तरी धादिङको सेर्तुङ गाविसका विद्यालयहरुमा पुस्तकालय स्थापना गरिएपछि यहाँका विद्यार्थीहरुमा पढ्ने लहर बढेको छ ।
रङ्गीचङ्गी पुस्तकहरु, पोष्टर र काठबाट निर्मित शिक्षण सहयोगी सामग्रीसहितको यो पुस्तकालयको उपस्थितिले उत्तरका विद्यालयहरुमा रौनक नै आएको छ । विद्यार्थीमात्र होइन शिक्षक र अभिभावकसमेत यस्ता पुस्तकालयहरुमा आएर किताब लिएर जाने र पढ्ने गरेको मुक्रावलदेवी उमावि व्यवस्थापन समितिका अध्यक्ष गणेश तामाङको भनाइ छ ।
चित्रैचित्र भएको किताब र पोस्टरका कारण सावाअक्षर मात्र पढ्न जान्नेहरु पनि यस्ता पुस्तकालयबाट लाभ लिन थालेको तामाङको भनाइ छ ।
सदरमुकामबाट तीन दिनको पैदल दूरीमा अवस्थित तामाङ समुदायको बसोबास रहेको सेर्तुङ गाविसका ६ विद्यालयमा स्थापना भएको पुस्तकालयले पछाडि पारिएको समुदायलाई शिक्षाप्रति जागरण नै पैदा गरेको अभिभावकहरु बताउँछन् ।
मुक्रावलदेवी माविमा मात्र होइन, च्याम्रादेवी निमावि, हिन्दुङ प्रावि, डुवाङ प्रावि, कन्यादेवी प्रावि र खार्सागाउँ प्राविमा पनि पुस्तकालय राखिएपछि विद्यालय नआउने र बीचमा छाड्ने विद्यार्थीको सङ्ख्यामा समेत कमी आएको शिक्षकको भनाइ छ ।
पुस्तकालय स्थापनाको दिन विद्यालयले गर्ने कार्यक्रममा पुस्तकालयको महत्वबारे दिइने जानकारी र बालबालिकाले पुस्तकालयबाट पुस्तक लगी घरमा अभिभावकलाई सुनाउने बानीको विकासले गर्दा अभिभावकमा समेत पुस्तकालयप्रति आर्कषण बढ्न थालेको च्याम्रादेवी निमाविका प्रधानाध्यापक बहादुर विक बताउनुहुन्छ ।
हरेक विद्यालयका पुस्तकालयमा करिब चार हजारको सङ्ख्यामा किताब रहेको बताइएको छ । उत्तरी धादिङको सेर्तुङ, सेमजोङ र दक्षिणको छत्रेदेउराली गाविसका सबै विद्यालयमा पुस्तकालय स्थापना भई गाविसभरका सबै विद्यालयमा पुस्तकालय भएको गाविस घोषणा गरिसकिएको जिल्ला शिक्षा कार्यालय धादिङका उपसचिव जनार्दन रिजालले बताउनुभयो ।
रुम टु रिडको सहयोगमा प्रयास नेपालमार्फत धादिङ जिल्लाका ५९४ विद्यालयमध्ये २३३ विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापना भई ३७ हजार ५०० बालबालिकाले प्रत्यक्ष फाइदा लिइआएका प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो । यहाँका ५० मध्ये ३८ गाविसमा पुस्तकालय पुगेको छ ।