टान अध्यक्ष धमलालाई फेवातालको चिन्ता

639 पटक पढिएको

सम्पादक: Dhadingnews.com

हरि पन्त
पोखरा /ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन नेपाल (टान) का नवनिर्वाचित अध्यक्ष रमेश धमलाले पोखराको फेवातालमा जलकुम्भी बढेको र अतिक्रमण भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय पर्यटन व्यवसायी संघ कास्कीले गरेको बधाई तथा स्वाथत कार्यक्रममा बाल्दै धमलाले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
उनले फेवातलमा जलकुम्भी बढ्दा र अतिक्रमण हुँदा पर्यटन विकासमा समस्या पर्ने भन्दै त्यसतर्फ सचेत हुन पर्यटन संघ सम्बन्धित व्यवसायी तथा संघ–संस्थाहरूलाई आग्रह गरे । फेवाताल पर्यटन विकासको महत्वपूर्ण अङ्ग हो धमलाले भने–‘काठमाडौंको विष्णुमती सफाइ गर्न टान अघि बढिसकेको छ, फेवातालको संरक्षणमा के कस्तो भूमिका निर्वाह गर्नसक्छ टानको केन्द्रीय समिति तयार छ ।’
उनले पर्यटन क्षेत्रको समस्या पहिचान गरी सहकार्य र एकता भएर अघि बढ्न तयार रहेकाले समग्र पर्यटन विकासका लागि व्यवसायी र संघसंस्थाहरू एक हुनुको विकल्प नभएको बताए । उनले भने,–‘पर्यटन क्षेत्रलाई राज्यले उपेक्षा गरिरहेका बेला पर्यटन व्यवसायी तथा सो संग सम्बन्धित संघसंस्था एक हुन नसके व्यवसाय नै धरापमा पर्छ ।’ पर्यटन व्यवसायी तथा संघ–संस्थाहरू एक भएर सरकारलाई दवाव दिनुपर्नेमा धमलाले जोड दिए । देशमा भ्रष्टचार र हेरक क्षेत्रमा भएको अपारदर्शिताको आरोप टानलाई समेत लाग्ने गरेको भन्दै अध्यक्ष धमलाले त्यसका लागि टानको आन्तरिक व्यवस्थापनका साथ पारदर्शी ढङ्गले निजिक्षेत्र र सरकारी संयन्त्रसंग समन्वय गरी अघि बढ्न टानको नेतृत्व तयार रहेको बताए ।
टानमा राजनीति नहुने भन्दै धमलाले राजनीतिक स्वार्थ टानभित्र बसेर गर्नुपर्ने खाँचो नयाँ नेतृत्वलाई नभएको स्पष्ट पारे । टानको निर्वाचन नेपाली कांग्रेस र एमाओवादी निकट संगठनसंग एकता भएर आफूहरू निर्वाचित भएको भन्दै अध्यक्ष धमलाले देशको राजनीनिमा पनि कांग्रेस र एमाओवादीबीच कार्यगत एकताको खाँचो औंल्याए । उनले भने–‘कांग्रेस र एमाओवादीबीच कार्यगत एकता निकै कठिनाइको कुरा भएपनि राजनीतिक स्वार्थभन्दा माथि उठ्ने हो र्एकता सम्भव छ र एकताबाट देश सम्वृद्ध बन्छ ।’ पोखरा सरसफाइमा देशकै उत्कृष्ट शहर भएपनि पोखरामा फोहोर बढ्दै गएको आफूले पाएको बताउँदै धमलाले पोखराको सरसफाइमा पर्यटन व्यवसायीहरू नै अग्रसर बन्नुपर्नेमा जोड दए ।
टानका महासचिव सागर पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि र्एकीकृत योजना लिएर अघि बढ्दै सरकारलाई दवाव दिनुपर्ने खाँचो औंल्याए । उनले पर्यटन विकासमा निजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेपनि सरकारले कुनै महत्व नदिएको आरोप लगाए । महासचिव पाण्डेले पर्यटन क्षेत्रको आधा हिस्सा पोखराले ओगटेकोले टानले पर्यटनसंग सम्बन्धि कुनैपनि प्याकेज पोखरालाई नछुट्याइने बताए ।
राष्ट्रिय पर्यटन व्यवसायी संघ कास्कीका अध्यक्ष सोम थापाले सरकारले पर्यटन क्षेत्रलाई उपेक्षा गरेको बताउँदै पर्यटन क्षेत्रमा सरकारी सहयोगका लागि टानका वर्तमान नेतृत्व अग्रसर बन्नुपर्नेमा जोड दिए । कार्यक्रमका अध्यक्ष समेत रहेका थापाले राजनीतिक उतारचढावका कारण पर्यटन व्यवसायी धराशायी बन्ने अवस्था आएको भन्दै राजनीतिक पार्टीहरूले आफ्ना घोषणापत्रमा पर्यटन क्षेत्रको कुरा उल्लेख गर्नुपर्ने बताए ।
संघका सल्लाहकार सुन्दर कुमार श्रेष्ठले पर्यटन क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको भन्दै त्यसको न्युनिकरणमा टानको नेतृत्व अघि बढ्नुपर्ने बताए । श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि नयाँ योजना आवश्यक भएकाले नयाँ कार्यक्रमका साथ अघि बढ्न टानका नयाँ नेतृत्वलाई सुझाव दिए । पोखरामा पर्यटन विकासको सम्भावना ज्यादै भएको तर विकासका लागि प्राथमिता कम परेको भन्दै श्रेष्ठले पोखरेली पर्यटन व्यवसायीको आवाज केन्द्रले सुन्नुपर्नेमा जोड दिए । कार्यक्रममा संघका सल्लाहकार लक्ष्मीबहादुर भट्टराई, वरिष्ठ उपाध्यक्ष बलराम गिरी र सचिव शिवराज अधिकारी लगायतले पोखराको पर्यटन विकासका लागि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तत्काल थालनी गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा टानका केन्द्रीय पदाधिकारीका अध्यक्ष रमेश धमला, वरिष्ठ उपाध्यक्ष केशव पाण्डे, प्रथम उपाध्यक्ष कामीरिज्जी शेर्पा, द्वितीय उपाध्यक्ष कुलबहादुर गुरुङ, महासचिव सागर पाण्डे, सचिव पासाङ शेर्पा, कोषाध्यक्ष गोपाल श्रेष्ठ एवं सदस्यहरू निलहरि बाँस्तोला, एनजी गौली, ठाकुर तिमिल्सिना, राजेन्द्र सापकोटा, पासाङ टेण्डी शेर्पा र धनप्रसाद गुरुङ सहभागी थिए । उनीहरूलाई राष्ट्रिय पर्यटन व्यवसायी संघ कास्कीका अध्यक्ष सोम थापाले खादा लगाएर स्वागत गर्नुका साथै पर्यटन व्यवसायी हरिशंकर अर्यालले मायाको चिनो स्वरुप एक–एक थान टि–सर्ट प्रदान गरेका थिए ।