हरेक दिन १८ वर्ष मूनिका २० हजार किशोरी आमा बन्ने गरेको तथ्यांक

505 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, कात्तिक १३ – नेपाल लगायत विकासोन्मुख देशमा हरेक दिन १८ वर्ष मूनिका २० हजार किशोरीले बच्चा जन्माउने गरेका राष्ट्रसंघीय जनसंख्या कोषको प्रतिवेदनले औंल्याएको छ ।

जसमा हरेक १० मा ९ वटा जन्म विवाहीत युवतीबाट हुने गरेको छ । झण्डै ७० हजार किशोरीहरु हरेक वर्ष गर्भावस्थामा या सुत्केरी हुने क्रममा ज्यान गुमाउने गरेका छन् ।

कोषले आज सार्वजनिक गर्न लागेको विश्वको जनसंख्याको स्थितीको किशोरावस्थामा गर्भधारण सम्बन्धि प्रतिवेदन अनुसार १५ वर्ष मूनिका २० लाख किशोरी नयाँ आमा बन्ने गरेका छन् ।

किशोरावस्थाको गर्भाधान सम्ब्न्धि मुद्दालाई सम्बोधन हुन नसके यो संख्या सन् २०३० सम्म बढेर ३० लाख पुग्न सक्ने कोषको अनुमान छ । कोषले किशोरावस्थामा गर्भाधारणका मुख्य चुनौती र यसले किशोरीहरुको शिक्षा, स्वास्थ्य र दीर्घकालिन रोजगारका अवसरमा पार्ने गम्भीर प्रभावमा प्रतिवेदनमा विशेष जोड दिएको छ ।

प्रतिवेदनमा किशोरावस्थामा विहे र गर्भधारण गर्ने प्रचलनलाई अन्त्य गरी किशोरीहरुको मानवअधिकार र कल्याणको रक्षा गर्नुपर्नेमा जोड दिईएको छ । नेपालको सन्दर्भमा ग्रामिण क्षेत्रमा, कम शिक्षीत किशोरीहरु छिटो बिहे र आमा बन्ने गरेको प्रतिवेदनमा उल्लेख छ । विकासोन्मुख मुलुकमा अल्पसंख्यक तथा सीमान्तकृत समुदाय, यौन तथा प्रजनन स्वास्थ्यमा कम पहुँच भएकाहरु बढी जोखिममा छन् ।

किशोरावस्थामा हुने गर्भाधानले किशोरीहरुलाई आफ्नो शिक्षा, स्वास्थ्य र स्वायत्तताको अधिकारका लागि लड्नबाट रोक्ने भएकाले उमेर नपुगी हुने बिहे र बच्चा जन्माउने चलन रोक्नुपर्नेमा कोषले जोड दिएको छ ।

यस्तै प्रतिवेदनमा जोखिमपूर्ण समुदायका विशेष आवश्यकतालाई लक्षित गर्दै रणनीति तयार गर्नुपर्ने तथा किशोरीका कुरा सुनेर र उनीहरुका समस्या सुक्ष्म रुपमा बुझेर चुनौती र जोखिमको पहिचान गर्न आग्रह गरिएको छ ।

नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार १७ प्रतिशत किशोरी १५ देखि १९ वर्षको उमेरमा बिहे गर्ने, गर्भवती हुने या आमा भइसक्ने गरेका छन् । ८६ प्रतिशत विवाहीत किशोरीले गर्भनिरोधका कुनै पनि साधन प्रयोग गर्ने गरेका छैनन् उज्यालो अनलाइनले खबर छापेको छ् ।