एमाओवादी धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार पुष्पविक्रम मल्लको मोटरमा आगजनी

651 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/ एकीकृत नेकपा माओवादीका धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार पुष्पविक्रम मल्लले चुनाव प्रचार प्रसारका लागि भाडामा लिएको जिपमा अज्ञात समुहले आगजनी गरेको छ । जिपका चालक र जिप धनीलाई भित्रै राखेर आगजनी गरिएको भएपनि मोटरवाट हाम्फालेर दुवैजनाले ज्यान जोगाउन सफल भएका छन । आगजनीवाट मोटर जलेर पूर्ण ध्वस्त भएको छ । DSC01647
धादिङबेसीवाट चुनाव प्रचारका सामाग्री लिएर क्षेत्र नम्बर १ को खहरे तर्फ जांदै गरेको वा १ ख २३१८ नम्बरको जिप धादिङबेसी सल्यानटार सडकखण्डमा पर्ने मुरलीभञ्ज्याङ गाविसको वडा नम्बर ४ अलैचेंमा शुक्रवार ( आज दिउंसो) ४ वजे तिर अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको हो । मास्क लगाएका दुई जना युवाले जवरजस्ति जिप रोकेपछि आंफुले जिप रोक्नै लाग्दा ति युवाले मोटरमा पेट्रोल छर्केर आंफुहरुलाई वाहिर निस्कन रोकेपनि वलिरहेको मोटरवाट हाम्फालेर ज्यान बचाएको मोटर चालक धादिङ मार्पाकका सुशिल अधिकारीले वताएका छन ।
एकीकृत नेकपा माओवादीका धादिङ क्षेत्र नम्बर १ उम्मेदवार मल्लले निर्वाचन कार्यालयवाट चुनाव प्रचार प्रसारका लागि अनुमती लिएको उक्त जिप सदरमुकामवाट मल्लको चुनाव प्रचार प्रसार सामाग्री लिएर जांदै गर्दा बिच वाटोमा अगजनीमा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
एकीकृत नेकपा माओवादीले उक्त आगजनी नेकपा–माओवादीले गराएको आरोप लगाएपनि नेकपा–माओवादीले भने उक्त घटनामा पार्टीको कुनै संलग्नता नरहेको प्रतिकृया दिएको छ । धादिङ जिल्लामा यस्ता कार्यगर्ने पार्टीको योजना नरहेकाले सो आगजनीमा पार्टीको सहभागिता नरहेको नेकपा–माओवादीका जिल्ला सेक्रेटरी विकासले धादिङ न्युजलाई वताएका छन । प्रहरीले आगजनीमा संलग्न व्यक्तिहरुको खोजी भईरहेको वताएको छ ।