छठ पर्व सुरु

657 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, कात्तिक २१ – देशभर छठ पर्व सुरु भएको छ । यसवर्ष एकै दिन दुईवटा तिथि परेकाले केही अन्यौल छाएको छ ।

बुधबार तृतीया र चतुर्थी, विहीबार चतुर्थी र पञ्चमी, शुक्रबार पञ्चमी र षष्ठी तथा शनिबार षष्ठी र सप्तमी तिथि परेकाले अन्यौल छाएको हो ।

तर बुधबार दिउँसोदेखि नै चतुर्थी तिथि लागेकाले बुधबारदेखि छठ पर्वको विधि सुरु भएको बाल्मिकी क्याम्पसका सहप्राध्यापक माधव पाण्डेले जानकारी दिनुभयो । शनिबार पनि विहानै सप्तमी तिथि लाग्ने भएकाले त्यसदिन उदाउँदो सूर्यलाई पूजा गरेपछि छठ पर्वको समापन हुन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि व्रतसँगै छठ पर्व सुरु हुन्छ । विहीबार दोस्रो दिन घरको पवित्र स्थानमा खिरपुरी पकाइन्छ । खिर र रोटी लगायतका प्रसाद छठी मातालाई अर्पण गरेपछि विधिवत रुपमा व्रत सुरु हुन्छ ।

छठको मुख्य दिन भोलि टोलभरीका पवित्र जलाशय, नदी, तलाउमा गएर छठी माताको भक्ति आराधना गर्दै अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन छ । शनिबार सप्तमीका दिन विहान जलायशमा उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । विशेषगरी तराईका बासिन्दाले मनाउने पर्व भएपनि पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा छठको रौनक छाउन थालेको छ ।

काठमाडौं उपत्यकाका रानीपोखरी, बागमती, विष्णुमतीसँगै तराईका जलाशय, नदी तथा पोखरीमा छठको लागि आवश्यक तयारी र व्यवस्थापनको काम सुरु भएको उज्यालो अनलाईनले जनाएको छ ।