मतदान सकियो, झण्डै ७० प्रतिशत मत खसेको अनुमान

709 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मंसिर ४ – नेकपा—माओवादी नेतृत्वको मोर्चाले बहिष्कार गरेपनि संविधानसभाको दोस्रो निर्वाचनका लागि मंगलबार निकै उत्साहजनक रुपमा मतदान भएको छ ।

केही छिटपुट घटना बाहेक देशभर शान्तिपूर्ण रुपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले उज्यालो अनलाइनलाई दिनुभएको जानकारी अनुसार देशभर झण्डै ७० प्रतिशत मतदान भएको अनुमान गरिएको छ । यसबारे आधिकारिक जानकारी केहीबेरपछि पत्रकार सम्मेलन गरेर दिइने उहाँले बताउनुभयो ।

आयोगका अनुसार जुम्लाको देपाल गाविस स्थित त्रिभुवन उच्च मावि झारज्वाला मतदान केन्द्रमा असहज स्थिति उत्पन्न भएपछि मतदान स्थगित गरिएको छ । यस्तै रोल्पाको थवाङमा एक भोट पनि खसेको छैन । नेकपा माओवादीको पकड रहेको थवाङमा भोट नपरेको हो । निर्वाचन आयोगले पनि त्यहाँ मत नपरेको स्वीकार गरेको छ ।

१ हजार ८ सय ७८ सय मतदाता रहेको थवाङमा अघिल्लो पटक सबै भोट एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले पाउनुभएको थियो । पञ्चायतकालमा भएको जनमत सग्रहमा पनि थवाङमा पञ्चायतका पक्षमा कुनै भोट परेको थिएन भने ५१ र ५६ मा पनि ५ भोट परेको थियो । देशका अरु ठाउँमा भने शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भएको आयोगले जनाएको छ ।

विहान सात बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म सञ्चालन भएको हो ।  यसपटक एक करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता छन् । त्यसमध्ये ५९ लाख ८० हजार ८ सय ८१ पुरुष र ६१ लाख ६६ हजार ८ सय २९ महिला तथा १ सय ५५ तेस्रो लिङ्गी छन् ।

२ सय ४० सिटका लागि ६ हजार १ सय २८ उम्मेदवार प्रतिस्पर्धामा छन् । समानुपातिक तर्फ १ सय २२ दलका १० हजार ७ सय ९ उम्मेदवार छन् उज्यालो अनलाईनले खबर लेखेको छ ।  ।