माधव नेपाल भन्छन् – ‘देशबासी र विदेशी समुदाय आश्चर्यचकित’

588 पटक पढिएको

सम्पादक: Dhadingnews.com

माधव नेपाल भन्छन् – ‘देशबासी र विदेशी समुदाय आश्चर्यचकित’

काठमाडौं २ र रौतहट १ बाट निर्वाचित भएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले कहिल्यै पनि बिजयको उन्मादमा नजाने बताउनुभएको छ ।

प्रचण्ड नेतृत्वको एमाओवादी र मोहन वैद्य नेत्वको नेकपा-माओवादीलाई एमालेले सँगै लिएर जाने उहाँले बताउनुभयो । नेता नेपालले एमाओवादीको कदमबाट देशबासी र विदेशी समुदायसमेत आश्चर्यचकित भएको बताउनुभयो ।

काठमाडौंमा निर्वाचित भइसकेपछि शुक्रबार बिहान संविधानसभा भवनमा संचारकर्मीलाई सम्बोधन गर्दै नेता नेपालको सम्बोधनको सम्पादित अंश:

“सहमतिको राजनीतिलाई केन्द्रबिन्दूमा राखेर अगाडि बढ्निेछ । एमाले बिजयको उन्मादमा कहिले पनि जान्न । निर्वाचनको परिणामलाई स्वीकार गर्दै संविधान निर्माण राष्ट्र निर्माणमा अगाडि बढ्छ ।

एमाओवादीलाई भन्न चाहन्छु, अहिलेको परिणामबाट निराश नहुनुस, आफ्नो कमजोरीबाट आत्मआलोचना गर्नुस । निर्वाचनमा कमजोरी भए छानबिन गर्न सकिन्छ, तर चुनावमा हार्न थालेपछि परिणाम मान्दिन भन्ने निष्कर्षमा पुग्ने काम किमार्थ गर्नुहुन्न । आफ्नो निर्णयमा पुनर्बिचार गर्नुस ।

म माओवादीका नेतालाई धन्यवाद पनि दिन चाहन्छु । चुनावमा भाग नलिने अधिकार सबैलाई छ । कतिपय ठाउँमा ज्यादती भएपनि उहाँहरुको भूमिकालाई सम्मान गर्न चाहन्छु । उहाँहरुलाई संविधानसभामा कसरी सहभागी गराउने, संविधान निर्माणमा कसरी सहभागी गराउनेलाई सोच्नुपर्छ, दुबै माओवादीलाई लिएर जान हृदयको विशालताका साथ एमालेले सोच्छ ।

निर्वाचन राम्रो भयो भनेर विज्ञप्ति जारी गर्नेहरु अहिले पराजित भएपछि धाँधली भयो भन्दा सम्पूर्ण जनता र अन्तर्राष्ट्रिय जगत समेत आश्चर्यमा परेका छन् ।

६ महिनाभित्र संविधानको मस्यौदा तयार गर्नुपर्छ । एक बर्षभित्र संविधान निर्माण गर्नुपर्छ । मधेश, तराई, हिमाल, पूर्व, पश्चिम, सबै जातजातिलाई धेरै धेरै धन्यवाद ।

काठमाडौं २ र रौतहट १ का आदरणीय मतदाता, जनसमुदाय, सबै जनसमुदायका सबै कार्यकर्ता, शुभेच्छुक, सबैलाई हृदयदेखि नै आभारव्यक्त गर्न चाहन्छु ।

तपाईं प्रधानमन्त्री बन्नुहुन्छ ? भन्ने प्रश्नमा- ‘मैले बिचार गरेर हुन्न । पार्टीले जे भूमिका दिन्छ, त्यो मान्न तयार छु ।’

माओवादीको भावनामात्र होइन, उहाँहरुको संलग्नताका लागि मेरो र पार्टीको तर्फबाट अधिकतम प्रयास हुन्छ ।”

-दैनिक नेपाल