निर्वाचनमा धाँधली नभएको निर्वाचन आयोगको दावी

600 पटक पढिएको

सम्पादक: Dhadingnews.com

                       अरुलाई औलो ठड्याउँदा आँफैतिर फर्केला

काठमाडौं / प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले संविधानसभा चुनावमा धाँधली नभएको दावी गर्दै चुनावबारे प्रश्नचिन्ह खडा नगर्न आग्रह गरेका छन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले कुनै एक ठाउँमा पनि धाँधली नभएको दाबी गर्दै चुनावबारे औंलो नउठाउन एमाओवादीलाई आग्रह गरे ।
उनले भने ‘एक ठाउँमा पनि धाँधली भएको छैन, तपाईहरुले कसैलाई एउटा औंलो उठाउँदा बुद्धले भनेजस्तो चार वटा औंलाहरु आफूतिर फर्किन सक्छन् भन्ने कुरा विचार गरिदिनुहोला ।’ उप्रेतीले निर्वाचनमा एउटा पनि गडगडी नभएको दावी गर्दै देखेको भए प्रमाण लिएर आउन चुनौती दिए । एमाओवादीले चुनावमा धाँधली भएको र मतपेटिका साटफेर गरिएको आरोप लगाइरहेका बेला उप्रेतीले पत्रकार सम्मेलन आयोजना गरेर खण्डन गरेका हुन् ।
प्रहरी कार्यालयमा मतपेटिका भेटिएकोबारे पत्रकारले सोधेको प्रश्नमा उप्रेतीले निर्वाचन आयोगले निर्वाचन सामग्रीहरु मतदान हुने स्थल नजिक सुरक्षा निकायकै पहलमा मतपेटिका राख्ने प्रचलन पुरानै रहेको बताए ।
मतपेटिकाहरु पसलमा राख्न नमिल्ने भएकाले सरकारी भवन र सुरक्षा निकायका कार्यलयहरुमै राखिने उनको भनाई थियो ।
मतदान र मतगणना कार्य गर्दाखेरि पुरानो प्रचलन अनुसार दलका प्रतिनिधिहरुकै रोहवरमा, उनीहरुलाई देखाएर र उनीहरुको हस्ताक्षरका आधारमा मात्रै गरिएको हुनाले धाँधलीको आरोप लगाउन नमिल्ने बताए ।
प्रक्रियाप्रति चित्त नबुझे बहिस्कार नगरी संविधानसभा अदालतमा उजुरी गर्न उनले सुझाव दिए ।
(ओएनएस)