श्रीमानबाट सबैभन्दा बढी घरेलु हिंसा

655 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 सञ्जय कार्की
महिलाको चेतनास्तर बृद्धि र सुनवाई गर्ने निकायको कारण हिंसामा पर्ने महिलाहरु न्याय खोज्न थालेपछि महिला हिंसाको संख्या कम भएको अधिकारकर्मी देबकी नेपालको भनाई ।घरपरिबारका सबै सदस्य मध्ये सबैभन्दा बढी श्रीमानबाट घरेलु हिसामा महिला पर्ने गरेको एक तथ्याङकले देखाएको छ । दाम्पत्य जीबन भरी सुखःदुख बाड्ने अठोटका साथ बैबाहिक बन्धनमा बाधिएका महिला केही बर्ष पछिनै बिभिन्न बहानामा श्रीमान बाटनै हिंसामा पर्ने गरेका छन । खानलाउन बाट बन्चित, बेवास्ता, कुटपिट र घरनिकालाले महिलाहरु प्रताडित हुदै आएको पाइएको छ । सानै उमेरमा बैबाहिक बन्धनमा बाधिएकी महिलाहरुबाट दुई सन्तान भएपछि श्रीमानले अर्को बिबाह गरेर दुखः दिने गरेको समेत पाइएको छ । बिबाहमा मागेजति दाईजो दिएपनि पछि घरका अर्को भाईको बिबाहमा बढी दाईजो दिएमा पनि थप दाईजो माग गर्दै महिला लाई यातना दिने क्रम नरोकिदा महिला हिसामा पर्ने गरेका छन ।
भाईको बिबाहमा दाईजो प्रशस्त दिएको भन्दै सखुअवाधमौराका गाबिस–९ निबासी हिमताज मंसुरीले बिबाह भएर घर भित्रिएको दुई बर्ष पछि थप दाईजो ल्याउन भन्दै श्रीमतीलाई कुटपिट गरेर घर निकाला गरिदिएका छन । हिमताज मंसुरीको श्रीमती अजमेस खातुनले बिबाहमा दिनुपर्ने दाईजो माईतीले दिएपनि श्रीमानले देबरको बिबाहमा बढी दाईजो दिएकाले थप दाईजो ल्याउन भन्दै कुटपिट गरेर घर निकाला गरिदिएपछि आफु पीडित भएको भन्दै उनले न्यायको लागि उजुरी दिएकी छिन । उनले भने माईतीबाट थप दाईजो ल्याउनुको सटा श्रीमान र घरकासदस्यको अन्यायको बिरुद्ध न्याय खोजेकी छिन । उनले भने “असहय सहनु हुदैन त्यहि भएर कानुनी लडाईमा लागेको छु एक दिन न्याय अवश्य मिल्छ भन्नेमा छु ।” तराईमा दाईजोका कारण घरका बुहारी पीडित हुने गरेका छन । आर्थिक बर्ष ०७०÷७१ को असोज ९ गतेसम्म महिला बालबालिका तथा सेबा केन्द्र गरुडामा ६२ वटा घरेलु हिंसाको उजुरी दर्ता भएको छ । जसमध्ये खानलाउनबाट बन्चित गरी कुटपिट गरेको मात्रै ४२ वटा रहेको छ भने ७ जना महिलालाई घरनिकाला गरिएको छ । यस्तै श्रीमानले वास्ता नगरेका १३ जना महिला रहेका छन् । खासगरी घरेलु हिंसामा परेका महिलाले बैबाहिक जीवनको लामो समयसम्म बिबाह दर्ता र नागरिकता प्रमाणपत्र श्रीमानले नबनाईदिएको भन्दै उजुरी गर्नेको संख्या समेत बढोत्तरी रहेको छ । घरेलु हिंसामा परेका महिलाले सबैभन्दा पहिले बिबाह दर्ता र नागरिकता प्रमाणपत्र खोज्न थालेका छन् । श्रीमानले दोस्रो बिबाह गरेपछि पीडित भएकी कनकपुर–६ निबासी तीन सन्तानकी आमा तैबुन नेसानले १५ बर्ष पछि श्रीमानबाट नागरिकता प्रमाणपत्र बनाउन सफल भएकी छिन । उनलाई श्रीमानले पटक पटक घर निकाला गरेपछि न्यायको लागि सेबा केन्द्रमा उजुरी गरेपछि उनले नागरिकता प्रमाण पत्र बनाउन सफल भएकी हुन । परपुरुषसँग यौन सम्पर्क राखेको भन्दै सामाजिक हिंसामा समेत महिला परेको पाइएको छ । बैदेशिक रोजगारीको लागि श्रीमान बिदेश गएपछि सासुससुराबाट बुहारीलाई यातनादिने क्रम समेत नरोकिएको महिला तथा बालबालिका सेबा केन्द्रको तथ्याकमा उल्लेख छ । महिला तथा बालबालिका सेबा केन्द्र गरुडाका प्रमुख प्रहरी नायब निरीक्षक गीता रानाभाटका अनुसार घरेलु हिसाको दैनिक सरदर दुई वटा उजुरी पर्ने गरेको छ । घरेलु हिंसाका पीडित महिलालाई सेबा केन्द्रले न्याय दिलाउदै आएको उनले बताइन् । महिला बालबालिका सेबा केन्द्र्रको स्थापना पछि महिलाले सहेर बस्न छाडेका छन । घरपरिबारका सदस्यले थिचोमितो र यातना दिनासाथ उनीहरुले तुरुन्त सेबा केन्द्रमा उजुरी दिएर आफनो हक अधिकार लिने गरेका छन । यस्तै महिला बालबालिका तथा सेबा केन्द्रको आर्थिक बर्ष ०६९÷७० को तथ्याक हेर्ने हो भने घरेलु हिंसाका १ सय १३ वटा उजुरी परेका छन । जसमध्ये सबैभन्दा बढी ७९ जना महिलाहरु आफ्नै श्रीमानबाट बिभिन्न बहानामा हिंसामा परेका छन । बैदेशिक रोजगारीमा श्रीमान गएका महिला भने देवर जेठाजु र सासुससुराबाट समेत प्रताडित हुनु परेको छ । सोही कार्यालयको तथ्याकलाई आधार मान्दा देवर जेठाजुबाट १४ जना, सासु सुसराबाट १० जना, छोरा नातिबाट ५ जना, श्रीमतीबाट ३ जना, देवरानी र दाजुबाट एक एक जना पीडित भएको तथ्याङकले देखाएको छ । सेवा केन्द्रमा तीनजना पुरुषहरु आफ्नै श्रीमतीबाट पीडित भएको उजुरी पनि परेको छ । घरेलु हिंसामा पीडित महिला मात्रै हैन पुरुष समेत पर्ने गरेका छन । श्रीमती लामो समयदेखि माईती घरमै बस्दै आएकोले घर झिकाई पाउँ भन्दै पीडित पुरुषहरुले सेबा केन्द्रमा उजुरी गरेको पाइएको छ । आफ्नो घरमा श्रीमती नबसी माइतीघरमा बस्दै आएको र पटक पटक लिन जाँदा समेत नआएकाले घर भित्राउने ब्यबस्था मिलाईदिन सेबा केन्द्रमा उजुरी दिने श्रीमान समेत रहेको महिला बालबालिका सेबा केन्द्रका प्रमुख प्रहरी नायब निरीक्षक रानाभाटले बताइन् । आर्थिक बर्ष ०६९÷७० को तथ्यांकमा घरेलु हिंसामा सबैभन्दा बढी कुटपिट र खान लाउन बन्चित तथा घर निकाला गरेको रहेको छ । सोही तथ्याङकमा घरपरिवारका सदस्य सहित श्रीमानबाट भएको कुटपिटले ४२ जना महिला हिंसामा परेका छन भने खान लाउन बन्चित गरी घर निकाला गरिएका महिला ५१ जना रहेको उल्लेख छ । रौतहटमा घरेलु हिंसाबाट पीडित हुने महिलाको संख्या बर्षेनी बढेर गएको तथ्याङकले देखाएपनि महिलाको चेतनास्तर बृद्धि र सुनवाई गर्ने निकायको कारण हिंसामा पर्ने महिलाहरु न्याय खोज्न थालेपछि यो संख्या बढेर गएको महिलाअधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मी देबकी नेपालको भनाई रहेको छ । सधै थिचोमिचो र हिंसा सहेर बस्दै आएका महिला न्यायको लागि अघि बढन थालेपछि समाजमा समेत सकारात्मक सन्देश गएको छ । “सेवा केन्द्रमा परेका सबै उजुरीहरु पीडक लाई बोलाएर कानुनी परामर्श र घरेलु हिंसा ऐनको बारेमा जानकारी दिएर मिलापत्र गराउने गरिएको छ” महिला तथा बाबालिका सेबाकेन्द्र जिल्ला संजाल रौतहटका अध्यक्ष बिपिन गौतमले बताए । उनका अनुसार मिलापत्र गरेर पठाएपछि पीडतहरु पुनः पीडत भएको उजुरी पर्न नआएकाले पनि महिलाले न्याय पाएका छन । महिला तथा बालबालिका बिरुद्ध हुने हिंसाका घटना न्यूनिकरणका लागि जनचेतनामुलक कार्यक्रमहरु सन्चालन गर्ने हो र पीडितलाई न्याय दिलाउन सरोकारवाला सबै लाग्ने हो भने घरेलु हिंसाका घटना न्युनिकरण हुदै जाने छ । घरेलु हिंसाको अभिलेखिकरणको सेबा केन्द्रबाट हुँदै आएको र जिल्लाका बिभिन्न गाबिसमा महिला हिंसा बिरुद्ध सेवा केन्द्रबाट जनचेतनामुलक कार्यक्रमहरु सन्चालन हुदै आएको जिल्ला संन्जालका अध्यक्ष गौतमले बताए । उनका अनसार ग्रामिणभेगमा समेत सचेतना कार्यक्रम संचालन गरिएको र घरेलु हिंसामा परेकाले न्याय पाउने जस्ता कार्यक्रम संचालन गरिएकै कारण सेबाकेन्द्रमा घरेलु हिंसाको उजुरी बढेको छ । घरेलु हिसाको उजुरी अरु केही बर्ष बढेपनि पछि स्वतः घटेर जाने उनको भनाई छ ।
संचारिका फिचर सेवा मध्यमाञ्चल
(कार्की रौतहटमा कार्र्यरत पत्रकार हुन्)