कखरा सिक्दासिक्दै जेल

792 पटक पढिएको

सम्पादक: Dhadingnews.com

child

 

धादिङ, मंसिर २१ –

‘क’ बाट कमल, पानीमा फुल्ने..

‘ख’ बाट खरायो, बारीमा डुल्ने..

भनेर सिक्न थालेको महिना दिन नबित्दै घर छाडेर ६ ववर्षीय विजय विक जेल बस्न आइपुगे । आमा जेल परेपछि नर्सरीमा भर्ना भएका विजयको कखग सिक्ने रहर अधूरै रह्यो । मानव बेचबिखन आरोपमा आमा १९ वर्षीया सुनिता ६ महिनादेखि जिल्ला कारागारमा छिन् । सहारा नभएपछि विजयलाई पनि जेलमै ल्याइयो ।

आमालाई प्रहरीले गिरफ्तार गर्नुभन्दा १२ दिनअघि झगडा गरेर घर छाडेका विजयका बुवा विकास अहिलेसम्म भेट्न आएका छैनन् । ‘किताब-कापी घरमै छ,’ विजयले भने, ‘साथीहरूसँग स्कुल जान र खेल्न पनि पाइएन ।’

सुनिताले विकाससँग आठ वर्षअघि प्रेम विवाह गरेपछि माइतीपक्ष रुष्ट छन् । ‘विकासले बेवास्ता गरेकाले घरतर्फका पनि कोही सम्पर्कमा छैनन्,’ उनले भनिन्, ‘माइतीमा त जेल परेको पनि थाहा छैन । भर्खरै पढ्न थालेको बालक छोरोको जिन्दगी बर्बाद हुने भो ।’

विजयलाई पढाउन जेलका कर्मचारीले पहल नगरेका होइनन् । ‘धेरै स्कुलमा कुरा गर्‍यौं,’ जेलका कर्मचारी मदन श्रेष्ठले भने, ‘५० प्रतिशतभन्दा सहयोग गर्न नसक्ने बताए । सुनिताले त्यो रकम पनि तिर्न सक्दिनन् ।’

आमा प्रक्राउ पर्दा विजय काठमाडौंस्थित श्रीशान्ति स्कुलको नर्सरी कक्षामा भर्ना भएको एक महिना भएको थियो । कखग र एबीसीडी लेख्न र पढ्न जानिसकेका थिए । चौकीदार अर्जुन पाण्डेका अनुसार विजय जेलका भुइँ र भित्तामा हातले कखग लेख्ने गर्छन् ।

सिन्धुपाल्चोक पांग्रेटार ८ का विक परिवार काठमाडौंमा डेरा गरेर मजदुरीबाट जीविकोपार्जन गर्थे । साउनमा पतिले झगडा गरी छाडेर गएपछि सुनितालाई सिन्धुपाल्चोक प्रहरीले प्रक्राउ गर्‍यो । २५ दिन त्यहाँको हिरासत राखेर धादिङ ल्याइएको हो । सुनिता पुर्पक्षका लागि थुनामा परेकी हुन् । मुद्दा फैसला कहिले हुन्छ भन्ने टुंगो छैन ।

सिन्धुपाल्चोकमा महिला कारागार नभएकाले धादिङ ल्याएको जेलर चिरञ्जीवी गौतमले बताए । विजयलाई पढाउन विभिन्न संघसंस्था र व्यक्तिलाई अनुरोध गर्ने सोच बनाएको गौतमले बताए ।

-ईकान्तिपुर डट कम बाट