रातारात मरे कुखुरा

545 पटक पढिएको

सम्पादक: Dhadingnews.com

सीताराम अधिकारी,धादिङ
सदरमुकामका पसलहरूमा मासु काट्न ठिक पारिएका ब्रोइलर कुखुरा धमाधम मर्न थालेपछि कुखुरा व्यवसायी र मासु पसलेहरू सशंकित भएका छन्। कुखुरामा अज्ञात रोग आएकाले यसको नियन्त्रण गर्नका लागि जिल्ला पशु सेवा कार्यालयलाई उनीहरू गुहार माग्न पुगेका छन्। यसअघि कुखुरामा रोग लागेको थाहा पाएर गुपचुप गर्ने कुखुरापालकहरू यसपटक जिल्ला बाहिरबाट रोगी कुखुरा भित्रिएको थाहा हुनेबित्तिकै सक्रिय भएका हुन्।

जिल्लामा कुखुराको आपूर्ति कम भएको मौका छोपी भारतसँगको सीमा जोडिएको ठोरीतिरबाट रोगी कुखुरा ल्याएर एक जना व्यापारी भागेपछि सदरमुकाममा रहेका कुखुराहरू रातारात धेरै संख्यामा मरेकाले ठूलो संक्रमणको डरले जिल्ला पशुसेवा कार्यालयले सतर्कता अपनाएको छ। दुईवटा खोरमा मरेका कुखुराहरूलाई जिल्ला पशुसेवा कार्यालयले नष्ट गरेको छ भने चारओटा मासु पसललाई बिहीबार सिल गरेको छ।

बुधबार खोरमा राखिएका कुखुरा बिहीबार बिहानसम्ममा धेरै मरेपछि नलाङ गाविस–९ कालीदहका डिलबहादुर श्रेष्ठको खोरबाट मरेका कुखुरा जिल्ला पशुसेवा कार्यालयको रोहबरमा नष्ट गरी कुखुराको खोरलाई निरानीमा राखिएको छ।

यसै गरी अमित फ्रेस हाउसमा राखिएका कुखुरामध्ये ७० कुखुरा एक रातमै मरेकाले त्यसलाई पनि नष्ट गरिएको छ। प्रोप्राइटर ढालजंग सिटौलाले आफूले खोरमा राखेका कुखुराहरू मरेकाले नष्ट गरेको र बाँकी कुखुरालाई पनि निगरानीमा राखिएको बताउनुभयो। श्रीकृष्ण श्रेष्ठ र पहलमान श्रेष्ठको खोरमा राखिएका कुखुरा पनि धमाधम मर्न थालेकाले बिक्री वितरण नगरी निगरानीमा राखिएको जिल्ला पशुसेवा कार्यालयले जानकारी दिएको छ।

जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक डा. शिखा तिवारीले दिनुभएको जानकारीअनुसार सदरमुकामस्थित मुरलीभञ्ज्याङ गाविस–३ मा रहेको अमृत फ्रेस हाउस, नीलकण्ठ गाविस–५ मा रहेको मिलनटोलमा सञ्चालित पहलमान श्रेष्ठको मासु पसल, कृष्णनारायण श्रेष्ठको मासु पसल र बीचबजार चोकमा रहेको सुरेश शाहीको मासु पसललाई पनि सिल गरिएको छ। एक दिनअघि ल्याइएका कुखुरा धमाधम मरेको र मासु पसलमा पनि भेटिएपछि मासु पसललाई अर्को आदेश नभएसम्मका लागि सिल गरिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख देवेन्द्र भगतले बताउनुभयो।

एक जना जिल्ला बाहिरका मानिसले गाडीमा कुखुरा ल्याएर पसलेलाई उधारोमा कुखुरा छाडेर गएपछि खोरमा राखिएका कुखुराहरू धमाधम मरेको आफूले बिक्री गरेर नाफा गर्न खोज्दा व्यापारमा समेत प्रतिकूल असर पर्ने अवस्था आएको नलाङ गाविस–९ कालीदहका डिलबहादुर श्रेष्ठले बताउनुभयो।

धादिङबेसीका केही मासु पसलमा काट्ने तयारीमा रहेका कुखुराहरू धमाधम मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालय धादिङको विशेषज्ञ टोलीले बिहीबार बिहान ती मासु पसलको अनुगमन गरेको थियो। अनुगमनका क्रममा मासु पसलमा तयारी अवस्थामा रहेको र जिउँदा कुखुरासमेत शंकास्पद देखिएपछि ती पसलहरूमा सिल गरिएको हो भने कुखुराका केही खोरलाई पनि निगरानीमा राखिएको छ।

– न्युजअफ नेपाल डट कमबाट