ग्याँस बोकेको ट्याङ्कर पल्टिएर आगलागी

498 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, मंसिर २६ – ग्याँस बोकेको ट्याङ्कर पृथ्वीराजमार्ग अन्तर्गत धादिङ जोगिमाराको जवाङ खोला नजिकै पल्टिएर आगलागी भएको छ ।

आगलागीबाट ट्याङ्करको अगाडिको भाग सबै जलेको भएपनि आगो नियन्त्रणमा लिएका कारण थप क्षति भने भएन । घटनामा ट्यांकर चालक नुवाकोट तुप्चेका माधवप्रसाद प्याकुरेल घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि काठमाडौ पठाइएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

भारतको बरौलीबाट ग्याँस बोकेर आएको एचआर ५५ पी ५९०४ नम्बरको ट्याङ्कर जवाङखोला नजिकै दुर्घटना भई त्रिशुली नदीको किनारमा खसेर आगलागी भएको थियो । ट्याङकरको अगाडीको भाग जलेर नष्ट भएको छ । आगजनीपछि करिब दुई घण्टासम्म राजमार्ग अवरुद्ध भएको थियो । प्रहरीले राजमार्गमा यात्रुहरुको सुरक्षाका लागि सडक बन्द गराएको थियो । आगलागीबाट ट्याङ्कर पड्कन सक्ने खतरा भएका कारण प्रहरीले सबै सवारीका साधनहरुलाई आवतजावत गर्न नदिई स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

ट्याङ्करमा लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्रफिक प्रहरीका साथै स्थानीय ग्याँस उद्योगहरुको सहयोगमा निभाइएको थियो उज्यालो अनलाईनले खबर लेखेको छ । ।