युवायुवती जान्दैनन् परिवार नियोजनका साधन प्रयोग गर्न

773 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गीता कँडेल

काठमाडौं, पुस २ – यौन प्रतिको बढ्दो जिज्ञासाका कारण सानै उमेरमा शारीरिक सम्पर्क राख्ने प्रवृत्ति बढेको छ ।

गर्भ रोक्नका लागि विभिन्न खालका साधनको पहुँच पनि बढ्दैछ । तर तिनको प्रयोग गर्न नजान्दा किशोरकिशोरी समस्यामा पर्ने गरेका छन् । नेपालमा माग अनुसार गर्भनिरोधका साधनको परिपूर्ति हुन सकेको छैन ।

नेपाल परिवार नियोजन संघको तथ्यांक अनुसार परिवार नियोजनका साधनको कूल माग ७७ दशमलव २ प्रतिशत छ ।

परिपूर्ति केवल ४९ दशमलव ७ प्रतिशत छ । परिवार नियोजनका साधनमा पहुँच नभएर प्रयोग गर्न नपाउनु एउटा समस्या छ, तर जहाँ पहुँच छ त्यहाँ भने केहीलाई प्रयोग गर्ने तरिकाबारे जानकारी नै छैन भने जानकारी भएकाहरुले पनि बेवास्ता गर्ने गरेको पाईएको छ ।download

गर्भ रोक्न प्रयोग हुने ईमर्जेन्सी पिल्स, कण्डम लगायतका साधन विहे नगरेका र स्कूल कलेज पढ्दै गरेका किशोर किशोरीले बढी माग गर्छन् ।

गर्भ रोक्न यस्ता साधन प्रयोग गर्नुपर्छ भन्ने जानकारी त छ, तर कसरी प्रयोग गर्नुपर्छ, यसका फाइदा÷बेफाइदा के छन् भन्ने विषयमा भने जानकारी नभएको पाइएको परिवार नियोजन संघका सिनियर स्टाफ नर्स सिप्रा जोशीको भनाइ छ ।

मेडिकलबाट गर्भनिरोधका साधन किनेर चुपचाप बाटो लागेका किशोर/किशोरीको जोडी केहीबेरपछि फर्किएर प्रयोग गर्ने तरिकाबारे सोधेको आफूले देखेको सुनाउँदै उहाँले भन्नुभयो, ‘उनीहरु त अन्यौल भएपछि कम्तिमा पनि मेडिकल सञ्चालकलाई सोध्न आए, तर कैयौँ यस्ता किशोरकिशोरी छन्, जो जान्ने बुझ्ने छु भन्ने सोच्छन् तर उनीहरुले सोचेजस्तो भईदिँदैन र फेल खान्छन् ।’

बानेश्वरको एक कलेजमा पढ्दै गरेका एक किशोर भन्छन्, ‘सावधानी अपनाउनुपर्छ भन्ने त थाहा छ, तर आफ्नै केटी साथीसँग पनि गर्भनिरोधका साधनबारे कसरी कुरा गर्ने भन्ने अप्ठ्यारो हुन्छ ।’

उनको जस्तो अप्ठ्यारो प्राय सबैले भोगेका हुन्छन् । जसको परिणामस्वरुप युवती वा महिलाले पटक÷पटक ईमर्जेन्सी पिल्स प्रयोग गनुपर्ने वा अनिच्छित गर्भ रहेपछि गर्भपतन गराउन बाध्य हुन्छन् ।

यसको एउटै कारण हो, गर्भनिरोधका साधनबारे खुलेर कुरा हुन नसक्नु । परिवार नियोजन संघका सिनियर स्टाफ नर्स जोशी भन्नुहुन्छ, ‘विद्यालय शिक्षामा यसबारे केही जानकारी पाउँदैनन्, त्यसैले पढेलेखेका छन् भन्दैमा ढुक्क हुन सकिंदैन ।’

गर्भपतन सेवा दिँदै आएको एक स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकका अनुसार यौन शिक्षा किशोरकिशोरीले सबैभन्दा धेरै आफ्नै आमाबाबुबाट लिन सक्छन् ।

तर हाम्रो समाज यौनका बारेमा अभिभावकसँग सोध्न सक्ने गरी खुला नभईसकेकाले छोराले बाबुसँग र छोरीले आमासँग घुमाउरो पारामा, केही लामो समय लिएर बुझ्न, ज्ञान लिन सक्ने उनको तर्क छ ।

केही देशमा गर्भनिरोधबारे जानकारी दिने तथा यौन तथा प्रजनन स्वास्थ्य प्रति सचेत बनाई निर्णय लिन सक्षम बनाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २६ तारिखमा गर्भनिरोधक साधनबारेको सचेतना दिवस मनाउने गरिन्छ ।

परिवार नियोजनका साधनले गर्भ निरोध मात्रै होईन एचआइभी एड्स र यौनरोगबाट पनि जोगाउँछ, त्यसैले त्यस्ता साधनप्रतिको सचेतना बढाउनुपर्ने आवश्यकता भएको चिकित्सकहरु नै बताउँछन् । तर नेपालमा भने यो दिवसबारे समेत खासै चासो दिएको पाईएको छैन ।

विश्वभर अनुमानित ११ दशमलव २ प्रतिशत प्रजनन उमेरका महिलाहरु परिवार नियोजनका साधनको पहुँचमा छैनन् ।

हरेक वर्ष विश्वभर ८ करोड महिलाको बिना योजना गर्भवति हुने गरेका छन्, हरेक दिन ७ सय ८५ महिला गर्भावस्थामा हुने जटिलता या सुत्केरी हुने बेला ज्यान जाने गरेको छ । यस्तै हरेक वर्ष ३४ करोड मानिसमा यौन रोग लाग्ने गरेको छ ।

यौन तथा प्रजनन स्वास्थ्यको अधिकारको कुरा गर्दा गर्भनिरोधका साधनको पहुँच र आवश्यकतामा जोड दिएको पाइएको छैन ।

बाठो हुँदा झन् समस्या

गर्भनिरोधका साधन र यसको प्रयोगबारे पर्याप्त जानकारी नहुँदा अविवाहित किशोर किशोरीहरुलाई समस्या हुने गरेपनि विवाहित भने धेरै जान्ने हुँदा अप्ठ्यारोमा पर्ने गरेको परिवार नियोजन संघका सिनियर स्टाफ नर्स जोशीको टिप्पणी छ ।

परिवार नियोजनका साधन प्रयोगको झण्झट, त्यसबाट आउनसक्ने समस्यालाई भयंकर रुपमा लिने तर पटक पटक गर्भपतन गर्न भने अग्रसर हुने गरेका छन् ।

जाबो गर्भ फाल्ने त हो के हुन्छ र भन्नेहरु धेरै भेटिने भएकाले महिलाको स्वास्थ्यमा समस्या बढ्दो छ । ग्रामिण भेगमा र अशिक्षित महिला पुरुषमा ज्ञान नभएर वा गर्भ निरोधका साधनमा पहुँच नभएर गर्भपतन गर्ने गरेपनि शहरी क्षेत्रमा लापरवाह भएर वा बढी जान्ने भएर यस्तो समस्या आएको जोशी बताउनुहुन्छ ।

परिवार नियोजन संघका अनुसार शहरी क्षेत्रकै एक जना महिला १३ औं पटक गर्भपतन गर्न आएको पनि पाइएको छ । दोहोर्‍याएर गर्भपतन गर्नुपर्ने अवस्था नआओस भनेर चिकित्सहरु गर्भनिरोधका साधन प्रयोग गर्न सुझाउँछन् । पटक पटक गर्भ फाल्दा प्रजनन अंगमा समस्या आउने र दीर्घकालिन रोगको जोखिम हुन्छ ।

साधन प्रयोगमा महिला अगाडि

परिवार नियोजनाका अस्थायी र स्थायी साधनमा पुरुष भन्दा महिलाहरु नै अगाडी छन् । पुरुषका लागि साधन कम भएकाले पनि त्यसो भएको हो । महिलाका लागि सुई, नरप्लान्ट, कपर टी, पिल्स जस्ता साधन भएपनि पुरुषका लागि अस्थायी साधनका रुपमा कण्डम नै प्रयोगमा छ ।

तर स्थायी परिवार नियोजन गर्ने पुरुषहरुले पनि फर्काउन आउने गरेको परिवार नियोजन संघका स्वास्थ्यकर्मीको अनुभव छ । त्यसरी फर्काएको सबै सफल हुन्छ भन्ने हुँदैन । संघका सिनियर स्टाफ नर्स सिप्रा जोशी भन्नुहुन्छ, ‘यो जुवा जस्तै हो, जिते मालामाल हारे कंगाल ।’

पछिल्लो समयमा शिक्षितहरुमा प्राकृतिक परिवार नियोजनको तरिका बढी प्रयोग भएको पाइएको छ । चिकित्सकहरुका अनुसार यो सुरक्षित छ । अलि ध्यान पुर्‍याउने हो भने परिवार नियोजनको यो सबैभन्दा प्रभावकारी तरिका हुन्छ ।

उज्यालो अनलाईनबाट