विश्वकप पर्खंदै दासानायके

507 पटक पढिएको

सम्पादक: Dhadingnews.com

विश्वकप पर्खंदै दासानायके
काठमाडौं-नेपाल ट्वान्टी–२० विश्वकपमा पुगेको खुसीमा मग्न छ। सोमबारमात्र नेपाली टोलीका खेलाडीलाई सरकारले १०–१० लाख प्रदान गरी सामूहिक खेलमा सबैभन्दा ठूलो नगद सम्मान गर्‍यो। टोलीको व्यस्तताले सम्मानको केही कार्यक्रम रोकिएर बसेका छन्।

प्रशिक्षक पुबुदु दासानायके ट्वान्टी–२० विश्वकपमा छनोट हुनुलाई नै ठूलो उपलब्धि मान्दैनन्, बोनसका रुपमा हेर्छन। नेपाललाई एकदिवसीय विश्वकपमा छनोट गराउनु दासानायकेको मुख्य लक्ष्य हो। न्युजिल्यान्डमा जनवरी १३ बाट एकदिवसीय विश्वकप छनोट हुँदैछ। त्यसका लागि नेपाली टोली मंगलबार १० दिने प्रशिक्षण र अभ्यास खेललाई न्युजिल्यान्ड लागेको छ।

दासानायके न्युजिल्यान्डमा छनोट हुनमात्र नभएर प्रतियोगिता नै जित्न जाने बताउँछन्। उनले न्युजिल्यान्डमा हुने प्रतियोगितातर्फ इंगित गर्दै भने, ‘२६ महिनाअघि म यहाँ नेपाललाई एकदिवसीय विश्वकप पुर्‍याउने लक्ष्यसाथ आएको थिएँ। अझै म त्यहाँ पुगेको छैन।’

श्रीलंकाका पूर्वटेस्ट खेलाडी दासानायकेले काठमाडौं उत्रिएको दिन सम्भि्कए, ‘म आउनेबित्तिकै एयरपोर्टमा मलाई नेपाल आउनुका कारण सोधिएको थियो, मैले विश्वकपसम्म पुर्‍याउनु हो भन्दा केहीले मलाई हेरेर हाँसे। अहिले हामी ट्वान्टी–२० विश्वकपलाई छनोट भइसकेका छौं, अब हाम्रो लक्ष्य एकदिवसीय विश्वकप हो।’

गत महिना युएईमा आइसिसी विश्व ट्वान्टी–२० छनोटमा नेपाल तेस्रो हुँदै विश्वकपलाई छानिएको हो। ‘युएईमा हामीले एउटा लय समातेका थियौं, अब त्यसलाई निरन्तरता दिन जरुरी छ। त्यसैले न्युजिल्यान्डको प्रतियोगिता हामी जित्नका लागि खेल्दै छौं। ट्वान्टी–२० र एकदिवसीयमा निकै फरक हुने बुझेका छौं। हाम्रो तयारी पनि त्यहीअनुरुप छ। मुख्य पक्ष भनेको मैले अहिलेसम्मकै उत्कृष्ट टोली पाएको छु,’ दासानायकेले भने।

युएईमा पनि उनी नेपाललाई जिताउने लक्ष्यसाथ गएका थिए। अफगानिस्तानले सेमिफाइनलमा नेपाललाई सजिलै पन्छायो। त्यही अफगानिस्तानलाई आयरल्यान्डले पराजित गरी उपाधि जित्यो। आयरल्यान्ड र अफगानिस्तान एकदिवसीय विश्वकप छनोट भइसकेकाले न्युजिल्यान्डमा हुने छैनन्। त्यसैले पनि नेपाललाई विश्वकपमा छनोट हुने सम्भावना बोकेको टोलीमा हेरिएको छ।

एकदिवसीयको परिवर्तित नियमले अहिले केही अप्ठेरो भएको दासानायकेको बुझाइ छ। अघिल्लो वर्ष परिवर्तन भएको नियमअनुसार केबल ४ फिल्डरमात्र ३० यार्ड बाहिर बस्न पाउँछन्। ‘हाम्रो मुख्य हतियार स्पिनर हो, तर नयाँ नियमले राम्रो स्पिनरले पनि धेरै रन खर्चन सक्छन्। अन्तिम १५ ओभर त ट्वान्टी–२० शैलीकै हुन्छ,’ नयाँ नियमले अप्ठेरो परेको बाध्यता उनी यसरी तेर्स्याउँछन्।

उनी नयाँ नियम एक सिक्काका दुई पाटो बनाएर हेर्छन्। ब्याट्सम्यानले कस्तो खेल्छ त्यसले नेपालको प्रदर्शन निर्भर रहने दासानायके बताउँछन्। ‘जस्तोसुकै ब्याटिङ विकेट होस हामीले ३ सय रन बनाउनु जरुरी छ, हाम्रो शीर्ष पंक्तिले ४५ ओभरसम्म ब्याटिङ गर्न जरुरी छ,’ उनी ४ फिल्डरमात्र बाउन्ड्री लाइनमा राख्न पाउनुका फाइदा खोतल्छन्, ‘हामीसँग विनोद भण्डारी र प्रदीप ऐरीजस्ता खेलाडी छन्, त्यसैले यो फाइदा हामीले उठाउनुपर्छ।’

बलिङलाई अहिलेसम्मकै उत्कृष्ट संयोजन मान्ने उनी नेपाली ब्याटिङप्रति पूर्ण आशावादी छन्। ‘राष्ट्रिय टोलीका खेलाडीहरूले अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा ६ शतक बनाएका छन्, मलाई लाग्छ यो प्रतियोगितामा नेपाली खेलाडीले कम्तीमा ६ शतक बनाउने छन्,’ दासानायकेले भने। राजु खड्का, शक्ति गौचन र शरद भेषावकर गरी १५ वर्षमा नेपाली खेलाडीले तीन शतक बनाएका थिए।

दासानायके आएपछि पछिल्लो २६ महिनामा अर्को तीन शतक बनिसकेको छ। सुवास खकुरेलले अमेरिका र अनिल मण्डलले डेनमार्कविरुद्ध शतक बनाएका थिए। दुवै शतक गत वर्ष मलेसियामा भएको डिभिजन ४ मा थियो। सुवासले अमेरिकाविरुद्ध बनाएको १ सय १५ रन नेपाली राष्ट्रिय खेलाडीको अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च स्कोर हो। अनिलले डेनमार्कविरुद्ध १ सय १३ रन बनाएका थिए। पारसले गत वर्ष युएईमा एसिसी ट्रफीमा कुवेतविरुद्ध १ सय ६ रन बनाएका थिए, जुन उनको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो।

न्युजिल्यान्डमा गएर नेपाली टोली जतिसक्दो चाँडो भिज्नुपर्ने बताउँदै दासानायके भन्छन्, ‘न्युजिल्यान्डको विकेट विशेष गरी सिमिङ हुने हुन्छ। यसपल्ट ब्याटिङ विकेट पनि भएको मैले बुझेको छु, तर हावा चलिरहने, बादल लाग्ने हुँदा हामीले समयअनुसार खेल्न सक्नुपर्छ, त्यसका लागि न्युजिल्यान्डमा गएर चाँडै घुलमिल हुन सक्नुपर्छ।’

श्रीलंकामा चार अभ्यास खेल र प्रशिक्षणका लागि नेपाली टोली मंगलबार श्रीलंका लागेको छ। श्रीलंकामा नेपालले १० दिन बिताउने छ। श्रीलंकामा नेपालले कोल्टस क्रिकेट क्लब, मुर्स स्पोर्टस क्लब, श्रीलंका पोर्टस अथोरेटी र ब्लुमफिल्ड स्पोर्टस क्लबसँग अभ्यास खेल खेल्नेछ। नाम चलेका खेलाडीहरू यी क्लबमा आबद्ध भएकाले उनीहरू नेपालसँग खेल्ने आशा दासानायकेको छ।

त्यसपछि नेपाली टोली न्युजिल्यान्ड लाग्नेछ। न्युजिल्यान्डमा नेपालले आफ्नै व्यवस्थापनमा थप चार अभ्यास खेल खेल्नेछ। न्युजिल्यान्डमा स्थानीय क्लबसँग खेल्ने भए पनि खेल तालिका अझै तय नभएको दासानायके बताउँछन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आयोजना गर्ने नामिबिया र केन्यासँगको दुई अभ्यास खेल खेलेपछि विश्वकप छनोटको समूह चरणमा नेपालले युएई, स्कटल्यान्ड, हङकङ र क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ।

श्रीलंकाबाट ११ टेस्ट र १८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेपछि दासानायके २००१ मा क्यानाडा सरेका थिए। २००१ मै क्यानाडामा आइसिसी ट्रफी आयोजना भएको थियो। वर्तमान संरचनाअनुसार विश्वकप छनोट प्रतियोगिता। उनी त्यो प्रतियोगिताका प्रत्यक्षदर्शीमात्र थिए। यही प्रतियोगिताबाट नेपाली राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को प्रतियोगितामा पाइला टेकेको थियो।

२००५ को विश्वकप छनोट उनले क्यानाडाबाट खेलेका थिए। क्यानाडालाई छनोट गराए पनि उनले २००७ को विश्वकप खेल्न पाएनन्। विश्वकपपछि उनी क्यानाडाको प्रशिक्षक नै भए। २००९ को अर्को विश्वकप छनोटमा उनले क्यानाडालाई आइसिसीको प्रमुख प्रतियोगिताको बाटो देखाए। २०११ को विश्वकपपछि उनी नेपाल आए।

यसअघिका तीन विश्वकप छनोट हेरेका दासानायके भन्छन्, ‘यसमा खेल्ने सबै टोली समान हुन्छन्। कुनै खेल सजिलै जितिन्छ भनेर भन्न सकिँदैन। यो माथिल्लो स्तरमा सबैभन्दा कठिन प्रतियोगिता हो। यसै प्रतियोगिताबाट वरियतासहित अन्य धेरै हुने हुनाले प्रत्येक क्षण गर् वा मर् जस्तो हुन्छ। एक बल यताउति भयो भने खेल जता पनि मोडिन्छ।’

नेपाल आउनुअघिको १० वर्ष दासानायकेले क्यानाडा क्रिकेटमा बिताए। क्यानाडासँगको खेल त्यसैले दासानायकेलाई भावनात्मक हुनसक्छ। ‘कागजमा क्यानाडा राम्रो टोली छ, तर उनीहरू ट्वान्टी–२० विश्वकपमा छनोट हुन नसकेकोमा मलाई आश्चर्य लागेको छ,’ दासानायकेले भने, ‘धेरैले क्यानाडासँग नेपालले खेल्नुपर्नेबारे मेरो क्यानाडासँगको सम्बन्धलाई लिएर सोध्छन्। मेरो त्यस्तो केही भावुक पक्ष छैनन्। अहिले नेपाल नै मेरो दोस्रो घर हो।’

-नागरिक न्युज  डट कमबाट