जेलका बालक स्कुलमा

474 पटक पढिएको

सम्पादक: Dhadingnews.com

child

धादिङ, पुस ४ – आमासँगै जेल बस्दा पढाइबाट वञ्चित ६ वर्षीय विजय बिकको कखरा सिक्ने अधुरो रहर पूरा हुने भएको छ । उनी बुधबारदेखि विद्यालय जान थालेका हुन् ।

आमाको बन्दी जीवनसँगै धादिङ कारागारमा रहेका उनी सदरमुकामस्थित चिल्ड्रेन पार्क आवासीय उमाविमा नर्सरीमा भर्ना भएका छन् । बुधबार उनी अरू साथीसंगीसँगै विद्यालय पोसाकमा झोला बोकेर पुगेका थिए । ‘सामान्य लेखपढ गर्न जान्ने रहेछन्, त्यसैले नर्सरीमा भर्ना गरिदियौं,’ विद्यालयकी इन्चार्ज अनिता शाक्यले भनिन् ।

धादिङबेंसीस्थित जीवित विश्वास बालगृहले उनको पढ्ने अधुरो इच्छा पूरा गरिदिएको हो । विजयलाई कक्षा १२ सम्म निःशुल्क पढाइने बालगृहका अध्यक्ष मानबहादुर तामाङले बताए । ‘कखरा सिक्दासिक्दै जेल’ शीर्षक समाचार छापिएपछि बालगृहले उनलाई पालनपोषणसहित शिक्षादीक्षा दिने भन्दै कारागारमा निवेदन दिएको थियो । अन्य करिब एक दर्जन संघसंस्था र व्यक्तिले उनलाई सहयोग गर्ने प्रतिबद्धता जनाए पनि कारागारले बालगृहमा राखेर उनलाई पढाउन लागेको हो । ‘सहयोग गर्छु भन्दै धेरै आए,’ जेलर चिरञ्जीवी गौतमले भने, ‘सबैतिर सल्लाह गर्दा यहींको बालगृहमा राख्ने निर्णय गर्‍यौं ।’ सदरमुकाममै राख्दा आमासँग नियमित भेटघाट हुने र बालकलाई हेरचाह पुग्ने कारागारले जनाएको छ । उनकी आमा सुनिता मानव बेचबिखन अभियोगमा थुनामा छिन् । सिन्धुपाल्चोक घर भएका आमाछोरा ६ महिनादेखि कारागारमा थिए ।

प्रमुख जिल्ला अधिकारी र महिला तथा बालबालिका कार्यालयमा छलफलपछि उनलाई बालगृहको जिम्मा लगाउने निर्णय भएको हो । कारागारले उनलाई खाना, बस्न, पढ्न र स्वास्थ्योपचार सुविधा दिन लिखित रूपमा संस्थाको जिम्मा लगाएको हो । कागजातमा जेलर गौतम, संस्थाका अध्यक्ष तामाङ, उनकी आमा र महिला तथा बालबालिका कार्यालयका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । परिवारका सदस्यले चाहेको खण्डमा जुनकुनै समयमा बालगृहबाट निकाल्न सक्ने सहमति भएको छ ।

विजयलाई २ दिनअघि जेलबाट बालगृहमा लगिएको छ । तामाङले भने, ‘अन्य १५ बालबालिका बालगृहमा छन्, विजय उनीहरूसँगै विद्यालय जाने आउने गर्छन् ।’ बालगृहमा रहेका बालबालिकामध्ये विजय सबैभन्दा कान्छा भएकाले उनको स्याहारसुसार आफैंले गर्ने गरेको तामाङले बताए ।

-साभार ई कान्तिपुर