मनाङ र आर्मीको सुखद सुरुआत

631 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं: साबिक उपविजेता मनाङमर्स्याङ्दी क्लब र विभागीय टोलीको त्रिभुवन आर्मी क्लबले सहिदस्मारक रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। दशरथ रंगशालामा सोमबारदेखि सुरु भएको लिगको पहिलो खेलमा मनाङले ब्वाइज युनियन क्लबलाई १-० गोलले हरायो। दोस्रो खेलमा आर्मीले जाउलाखेल युथ क्लबलाई ३-० गोलले हरायो।

मनाङको जितमा सुलभ मास्केले गोल गरे। सुलभले डिबक्सभित्र ब्वाइजका तीनजना डिफेन्सलाई छक्क्याउँदै आकर्षक गोल गरेका थिए। पहिलो हाफमा थप दुईवटा अवसर बनाएको मनाङको प्रयास विफल बनेको थियो। योना इलियसले १८ औं र ३६ औं मिनेटमा खाली पोस्ट्मा पाएको मौका चुकाएका थिए। दोस्रो हाफमा सुजल श्रेष्ठको पोस्ट्छेउको हेड प्रहारलाई ब्वाइजका गोलरक्षक राजुयोगीले पन्च गरिदिएका थिए।

खेलभर मनाङको दबाब झेलेको ब्वाइजले पहिलो हाफमा दुईवटा अवसर खेर फालेको थियो। २७ औं मिनेटमा अकिम बाबाटुन्डेको वान भर्सेस वानको प्रहारलाई मनाङका गोलरक्षक विशाल श्रेष्ठले विफल पारिदिए। ४० औं मिनेटमा वेदकुमार श्रेष्ठको सशक्त प्रहारलाई पुन: मनाङका गोलरक्षक विशाल श्रेष्ठले फर्काएका थिए। दोस्रो हाफमा निरिह बनेको ब्वाइजले कुनै पनि गोल गर्न लायक अवसर बनाउन सकेन।

मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले सुरुआतमै गोल गरे पनि खेलाडीले सोचेअनुसार प्रदर्शन गर्न नसकेको बताए। ‘पहिलो हाफमा खाली पोस्ट्मा पाएको दुईवटा मौका गुम्यो। एनसेल कप पछि समूहमा अभ्यास नभएकाले खेलाडीबीच तालमेल मिलेन। मनाङको लक्ष्य उपाधि भएकाले आगामी खेलमा सुधारात्मक प्रदर्शन गर्नेछौं, हरिओमले भने।

ब्वाइजका प्रशिक्षक विजय महर्जनले पहिलो हाफमा खुला पोस्ट्मा पाएको मौका गुमाउँदा हार खाएको बताए। ‘खेलाडीले एनसेल कपमा जस्तो प्रदर्शन गर्न सकेनन्। ब्वाइजमा व्यवस्थापन र खेलाडीबीच समन्वयको अभाव छ’, त्यसले पनि खेलाडीको प्रदर्शनमा प्रभाव पार्छ’, विजयले भने।

यसैगरी एकपक्षीय अर्को खेलमा आर्मीले जाउलाखेललाई दबाब दिएको थियो। पहिलो हाफमा बलियो आर्मीलाई गोलरहित बराबरीमा रोकेको जाउलाखेल दोस्रो हाफमा निरास देखिएको थियो। आर्मीको जितमा भरत खवासले दुई र नवयुग श्रेष्ठले एक गोल गरे। भरतले खेलको ५४ औं मिनेटमा खाता खोले। डीबक्सभित्र जाउलाखेलका चारजना रक्षकको आपसी तालमेल नमिलेको बललाई सोझै गोल बनाएका थिए।

खेलको ७९ औं मिनेटमा नवयुग श्रेष्ठले आर्मीलाई २-० को अवस्थामा पुर्यालए। नवयुगले भरत खवासको पासमा गोल गरेका थिए। अर्को गोल ८९ औं मिनेटमा भरत खवासले थपे। पदम तामाङको पहिलो प्रहार जाउलाखेलका गोलरक्षक विकेश कुथुले हातबाट फुत्काएको बललाई भरतले वान टच गोल गरेका थिए। आर्मीको तालिमबाट सोझै रंगशालाला आएका पहिलो हाफको अत्यतिर अतिरिक्त खेलाडीको रूपमा मैदान छिरेका थिए।

दोस्रो हाफमा लगातार पोस्ट् प्रहारको अवसर बनाएको आर्मीको दुईवटा प्रहार क्रसबारमा लागेको थियो।

खेलपछि आर्मीका प्रशिक्षक योगम्बर सुवालले पहिलो हाफमा खेलाडीले खासै खेल्न नसकेको बताए। ‘दोस्रो हाफमा आकर्षक प्रदर्शन गर्दा स्कोर पनि भयो’, सुवालले भने। एनसेल कपमा ६ जना खेलाडी घाइते बन्दा आर्मीलाई गाह्रो भएको सुवालले बताए। जाउलाखेलका प्रशिक्षक किशोर केसीले पहिलो हाफमा औसत प्रर्दशन गरे पनि दोस्रो हाफमा गोलरक्षकको कमजोरीले फितलो गोल खाएको बताए।

-अन्नपूर्ण