हात्ती दौडको उपाधि वहादुर गजलाई

808 पटक पढिएको

सम्पादक: Dhadingnews.com

हात्ती दौडको उपाधि वहादुर गजलाई

चितवन, १६ पुस । चितवनको सौराहामा भएको अन्तर्राष्ट्रिय हाती दौडको उपाधि साबिक बिजेता बहादुर गजले जितेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको बहादुर गजले सोमबार भएको फाइनलमा पाँचवटा हातीलाई पछि पार्दै उपाधि जितेको हो । बहादुर गजले निधार्रित ३ सय मिटरको दुरी १ मिनेट ५ सेकेन्डमा पूरा गर्यो । प्रतियोगितामा हाईबे स्टारको एकताकली दोस्रो तथा फेवा टुर्स एण्ड ट्राभलको चम्पाकली तेस्रो भएको छ । एकता कलीले १ मिनेट १९ सेकेन्ड र चम्पाकलीले १ मिनेट २० सेकेन्ड निर्धारित दुरी पूरा गर्यो । फाइनलमा १ बिदेशीसहित ६ वटा हातीबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा भने २० वटा हात्ती सहभागी थिए ।

त्यस्तै हात्ती महोत्सव अन्र्तगत आयोजित हात्तीका छावाहरुको रोमाञ्चकारी फुटवलमा भने लायन्स क्लव इन्टरनेशनल प्रथम भएको छ । फाइनल खेलमा लायन्सले गत वर्षको विजेता किष्ट बैंकलाई २–१ गोल अन्तरले हराएको हो । लायन्स गत वर्ष किष्ट वैंकसंगै पराजित भएको थियो । लायन्सको जितमा दुवै गोल लक्ष्मण गजले गरेको हो । लक्ष्मणले खेलको दोश्रो मिनेटमा गोल गर्दै अग्रता दिलायो भने दोश्रो गोल १२ औं मिनेटमा गर्यो । किष्टका लागी सान्त्वना गोल भने सिमसिमकलीले खेलको अतिरिक्त समयको ३६ सेकेन्डमा गर्यो । महोत्सवमा टाँगा दौड,गाढा दौड,डुङ्गा दौड प्रतियोगिता भएको थियो भने सास्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

क्षेत्रिय होटल संघ सौराहाको आयोजनामा गत पुष ११ गतेदेखी सुरु भएको चितवन हात्ती महोत्सव सोमबार सकिएको छ ।