नागढुङ्गा–नौबिसे सडकखण्ड तत्काल मर्मत गर्न निर्देशन

662 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ–प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले राजधानी प्रवेशको मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–नौबिसे सडकखण्डको तत्काल मर्मत गरी कालोपत्रे गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।

सडकखण्डको निरीक्षणका क्रममा उनले खाल्टाखुल्टीका कारण यात्रुले दुःख पाएकाले तत्काल मर्मत गर्न र मर्मतका क्रममा आवागमनमा समस्या उत्पन्न भए वैकल्पिक उपाय अबलम्बन गर्न समेत निर्देशन दिए । निरीक्षणका क्रममा उनले झ्याप्ले खोलामा ढलान गर्ने डन्डी झारेको भन्दै तत्काल निर्माण सम्पन्न गर्न समेत आग्रह गरेका थिए ।
सो राजमार्गका विभिन्न स्थानमा काम सुरु भए पनि पूर्णता पाउन नसकेकामा असन्तुष्टि व्यक्त गर्दै उनले ठेकेदारलाई तत्काल काम सम्पन्न नगरे कारबाही गर्न समेत पछि नपर्ने दृढता व्यक्त गरे ।

राजधानी प्रवेश गर्ने मुख्य सडकखण्ड अवरोध हुनु भनेको मुलुक नै अवरोध हुनु हो भन्दै उनले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्न सचेत गराए । यसअघि पनि उनले सो खण्डको निरीक्षण गरेका थिए ।

सो सडकखण्डअन्तर्गत झ्याप्ले खोला, खत्री पौवा, सिक्रे खोला र याक घरमा सबैभन्दा बढी समस्या रहेको छ ।