क्यानडा पठाउने भन्दै कालिका सोलुशनका भट्टद्वारा ७८ लाख ठगी

603 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

काठमाडौं, पुस २२  – क्यानडामा पठाएर रोजगारी दिने भन्दै सातजना युवासँग ७८ लाख रुपैयाँ उठाएर ललितपुरको झम्सिखेलमा रहेको कालिका सोलुशन प्रा.लि.का सञ्चालकद्वय ४२ वर्षका बलराम भट्ट र उनकी श्रीमती धनमाया गुरुङ भट्ट फरार भएका छन् । क्यानडा पठाइदिने भन्दै उनीहरुले विभिन्न कागजात देखाउँदै पटक–पटक गरेर ६० लाखभन्दा बढी रकम उठाएपछि पनि काम नगरी भाग्दै हिँड्न थालेपछि पीडित युवाहरुले जावलाखेल प्रहरीमा उजुरी गरेका थिए । पीडित युवाहरुको उजुरीपछि प्रहरीले भट्ट दम्पतीलाई पक्राउ गरेर गत जेठ ३ गते एक महिनाभित्रमा सबैको पैसा फिर्ता गर्ने कागज गराएर छाडेको थियो । तर, प्रहरीले छाडेपछि उनीहरु बेपत्ता भएको पीडितले जानकारी दिएका छन् ।  भट्ट धादिङको ढोला गाविस–१ का भोजराज भट्टका छोरा हुन् भने धनमाया प्यूठान जिल्लाको धुवाङ गाविस–७ कि सूर्यबहादुर गुरुङकी छोरी हुन् । भट्ट र गुरुङको केही वर्षअघि विवाह भएको थियो । रोजगारीका लागि क्यानडा लैजाने भन्दै उनीहरुले २०६९ साल मंसिरदेखि पैसा उठाउन थालेका थिए । पहिलो पटक उनीहरुले ९० हजार उठाएका थिए भने त्यसपछि पटक–पटक गरेर एक व्यक्तिसँग कम्तीमा पाँच लाख ४५ हजारदेखि बढीमा १२ लाख ७० हजारसम्म उठाएका छन् ।

क्यानडा पठाउने भन्दै पासपोर्टको स्क्यान गरेर उक्त प्रालिले पठाएपछि भट्टले युवाहरुसँग पैसा उठाउन थालेका थिए । पैसा दिन अटेर गर्न थालेपछि उनले क्यानेडियन नागरिक जोन ब्राइट भन्ने व्यक्तिलाई क्यानडाबाट नै फोन गर्न लगाएका थिए । क्यानेडियन नागरिक बताउने ती व्यक्तिले काम हुँदै गरेकाले भट्टले भनेको बेलामा पैसा दिनु र उक्त पैसाले क्यानडामा प्रोसेस अगाडि बढाउन सजिलो हुने र जति चाँडो पैसा पठायो त्यति नै छिटो क्यानडा आउन पाइने बताएपछि खोजबिन गरेर पैसा बुझाउँदै आएको पीडित एक युवाले जानकारी दिए । उनका अनुसार ६० लाखभन्दा बढी पैसा उठेपछि भट्टले काम हुँदै छ भन्दै टार्न थालेका थिए । लामो समयसम्म पनि प्रक्रिया अगाडि नबढेपछि उनीहरुले जावलाखेल प्रहरीमा उजुरी दिएका थिए ।  क्यानडा जाने भनेर विभिन्न व्यक्तिसँग चर्को ब्याजमा ऋण लिएका युवाहरु महिनौंसम्म उड्न नपाएपछि उनीहरुसँग आफन्त र ऋण दिनेहरुले पैसा फिर्ता माग्न सुरु गरेका थिए । ‘घर परिवार र आफन्तलाई यो महिना क्यानडा उड्छौं, अर्को महिना उड्छौं भन्दै गयौं’, पीडितमध्येका बल्लभ उप्रेती र धनबहादुर तामाङले भने, ‘पैसा बुझाएर महिनौँ प्रतीक्षा गर्दा पनि विदेश उड्न नपाउने देखेर भट्ट दम्पतीसँग पैसा माग्न थालेपछि उनीहरु भागीभागी हिँड्न थाले । त्यसपछि पक्राउ गरेर प्रहरीमा लगेर कागज गरायौं, तर उनीहरु त्यसपछि भने बेपत्तै भए ।’ भट्टपीडित युवाहरुको फेसबुकमा भट्ट पनि साथी छन् । उनीहरुका अनुसार कहिलेकाहीँ उनले फेसबुक चलाए पनि कहाँ हो, केही बताउँदैनन् ।
पीडित युवाहरु धनबहादुर तामाङ्ग, नरेन्द्रकुमार बम्जन, बल्लभ उप्रेती, कविराज बम्जन, अनुप सुवेदी, रोशन अर्याल र भुपेन राईले भट्ट दम्पतीले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० विपरीत कार्य गरेर ठगी गरेको हुनाले सोही ऐनको दफा ४३ बमोजिम पक्राउ गरी हदैसम्मको कारबाही र ७८ लाख १८ हजार रुपैयाँ भराइ पाऊँ भनी वैदेशिक रोजगार विभाग काठमाडौंमा गत असार ७ गते उजुरी दिएका थिए । असार ३ गते नै प्रहरीकहाँ भट्ट दम्पतीले गरेको कागजको म्याद सकिएपछि उनीहरुले ७ गते मात्र वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन् । भट्ट दम्पतीलाई धनबहादुर तामाङले विभिन्न मितिमा १० लाख, नरेन्द्रकुमार बम्जनले ६ लाख, बल्लभ उप्रेतीले ६ लाख, कविराज वम्जनले ५ लाख ९५ हजार, अनुप सुवेदीले १० लाख, रोशन अर्यालले १० लाख र भुपेन राईले ४ लाख १७ हजार नगद दिएका थिए । उनीहरुमध्ये कविराज बम्जन र भुपेन राई भने भट्टको कालिका सोलुशनका कर्मचारी पनि हुन् । ती दुईजना अहिले दुबई गएका छन् । लाखौँ रुपैयाँ उठाउने प्रयास नगरी बम्जन र राई दुबई जानुमा उनीहरुको पनि मिलेमतो रहेको आशंका नेपालमै रहेका अन्य पीडितहरुले गरेका छन् ।

वैदेशिक रोजगार विभागमा उजुरी दिँदा उजुरीकर्ताहरुले आफूहरुको पासपोर्टको फोटोकपीहरु र रोजगारदाताको सम्पर्क, एलएमओ अर्थात् लेबर मार्केट ओपिनियनको फोटोकपी, क्यानडाको वर्कपरमिटको फोटोकपी, इमिग्रेशन क्लियरेन्सको फोटोकपी, क्यानडाको भिसाको र भट्ट दम्पतीले पैसा दिन प्रहरीसमक्ष गरेको कागजको फोटोकपी लगायतका कागजात बुझाएका छन् । क्यानडाको कागजात सबै नक्कली रहेको पीडितहरुको बताएका छन् ।  पीडितहरुले उजुरी दिएकै दिन रोजगार विभागले भट्ट दम्पतीलाई पक्राउ गरेर विभागमा उपस्थित गराउन पत्र पठाए पनि पुस सकिन लाग्दासम्म उनीहरु पक्राउ परेका छैनन् । प्रहरीले वास्ता नगरेका कारण भट्ट दम्पती कता लुकेका छन् पीडितहरुले अझै पत्तो लगाउन सकेका छैनन् । युवाहरु विभागमा गएमा प्रहरीसँग मिलेर भट्ट दम्पतीलाई प्रक्राउ गरेर ल्याउनुहोस्, कारबाही अगाडि बढाउँला भन्ने जवाफ दिन्छ भने प्रहरीले भने खोजी गरिरहेका छौँ, भेट्टाएमा विभागमा पठाउँला भन्ने जवाफ मात्र दिने गर्नाले रकम डुबेर पीडामा परेका युवाहरु थप पीडित बन्न पुगेका छन् । ‘घरखेत पनि सकियो’, पीडितमध्येका उप्रेतीले भने, ‘सुरक्षा निकाय र वैदेशिक रोजगार विभागबाट पनि पर्याप्त सहयोग पाइएन ।’
-आर्थिक दैनिकबाट