बिग्रेका गाडी नहटाउँदा नागढुंगामा दिनभरि जाम

667 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, माघ १७ – सडकमा बिग्रिएका गाडी नहटाउँदा राजधानी काठमाडौ जोड्ने मुख्य सडक नागढुंगा नौबिसे खण्डमा शुक्रबार बिहानैदेखि जाम छ ।

सडक मर्मत भइरहेको ठाउँमा एक्साभेटर बिग्रिएको र ठाउँठाउँमा बिग्रेका ट्रक सडक छेउमै छोडिँदा दोहोरो गाडी चल्न नसकेर जाम भएको हो ।

विहान सबेरैदेखि सुरु भएको जाम खुल्न अझै एक घण्टा लाग्ने नागढुंगा ट्राफिक प्रभागका सई उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । दिउँसो सडकमा गाडीको चाप बढ्दै जाँदा काठमाडौ भित्रिने गाडीको लाम धादिङको नौबीसेभन्दा तल पुगेको छ । त्यसैगरी काठमाडौबाट बाहिर गएका गाडी थानकोट प्रहरी पोष्टभन्दा केही तलदेखिनै लाम लागेका छन् । लामो जामका कारण काठमाडौ भित्रिने र बाहिरिने हजारौं यात्रु समयमै गन्तब्यमा पुग्न सकेका छैनन् । एम्बुलेन्स लगायतका आकस्मिक सवारी साधन पनि जामका कारण समस्यामा परेका छन् । जाम भएको ठाउँमा सवारी सञ्चालनलाई ब्यवस्थित बनाउन पर्याप्त मात्रामा ट्राफिक प्रहरी नभएको र सवारी चालकहरु सडक पार गर्न हतारिँदा समस्या झन् थपिएको छ ।

सडक मर्मत गर्ने ठेकेदारको एक्साभेटर बिग्रेर सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । एक्साभेटर मर्मतको काम भइरहेको नागढुंगा ट्राफिक प्रभागका सई उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

बिग्रेका गाडी नहटाउँदा नागढुंगामा दिनभरि जाम -उज्यालो