‘रोड’बाट करोडपति भएका कमलको कथा

824 पटक पढिएको

सम्पादक: Dhadingnews.com

सुदर्शन खतिवडा

काठमाडौं । अलेक्जेण्डर महानले भनेका छन् कि मेरो लास लैजाँदा दुवै हात बाहिर राखिदिनु । सबैले देखून् र भनून् संसार जित्ने अलेक्जेण्डर रित्तो हात जाँदैछ । अलेक्जेण्डरको भनाइ पछ्याएका त होइनन् होला तर धादिङको ज्यामरुङ ४ का रामप्रसाद सापकोटा (कमल) अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्न भनेपछि हुरुक्कै हुन्छन् । निम्न किसान परिवारमा जन्मिएका कमलको बाल्यकाल्य दुःख कष्टमै बित्यो । चार दिदीबहिनी र चार दाजुभाइको ठूलो परिवारमा हुर्किएका उनले अभावै अभावको बीचमा ७ बर्षको उमेरबाट विद्यालयको औपचारिक शिक्षा शुरु गरे ।
अरु कोही पनि विद्यालय नजाने परिवारमा कतिपय दिनहरु त यस्ता पनि आए, कापी कलम किन्न नसकेर उनी विद्यालय जानै पाएनन् । मेलापात र अन्य घरबाहिरका काम गरेर कापी, कलम र विद्यालय शुल्कको जोहो गर्दै कमल पढ्ने गर्दथे । कक्षा आठमा पुगेपछि त उनको पढ्ने रहरलाई अभावले गर्लम्मै पछारिदियो । तर मनभरि पढ्ने जाज्वल्यमान सपना बोकेका कमलको अघि अभावको चुनौती धेरैदिन टिक्न सकेन ।भनिन्छ आमाको मन कोमल हुन्छ, कमलले यही अनुकुलता पछ्याए र आमाले पेवाको रुपमा पाल्नुभएको एउटा बाख्रा बेचेर १५ सय रुपैयाँ जोहो गरे । यही पैसालाई बिऊ पुँजी बनाएर पढाई खर्च टार्ने अठोट गरे कमलले । घरबाट ६ घण्टा हिंडेर धादिङबेसीबाट पसलको सामान ल्याई उनले विद्यालय नजिक सानो पसल शुरु गरे, विशेषगरी विद्यार्थीहरुलाई लक्षित गरेर । बिहान बेलुका र छुट्टीको बेला पसल खोल्दै १३ बर्षको सानै उमेरमा उनी व्यापारी भए र सँगसँगै विद्यार्थी पनि ।
नेपालीको न्युज डट कम बाट