गृह बाहेकका मन्त्रालय रोज्न एमालेलाई कांग्रेसको प्रस्ताव, सरकारमा नजान एमालेमा दवाब

584 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, २७ माघ  : नेपाली कांग्रेसले सत्ताझादारीका लागि एमालेलाई गृह मन्त्रालय बाहेकका अन्य मन्त्रालय रोज्न प्रस्ताव गरेको छ । सोमबार कांग्रेस वार्ता टोलीका सदस्य दीपकुमार उपाध्यायले साझेदारीका लागि नयाँ प्रस्ताव गरिएको ओएनएस न्यूजलाई जानकारी दिए ।

स्रोतका अनुसार गृह मन्त्रालय दिने यसअघिको सहमतिबाट कांग्रेस पछि हटेको भन्दै सरकारमा सहभागी नहुन नेताहरुले अध्यक्ष झलनाथ खनाल र संसदीय दलका नेता केपी ओलीलाई दवाब दिएका छन् । उनीहरुले कच्चा सम्झौता गरेको भन्दै नेतृत्वको आलोचना पनि गरेका छन् । एमाले सचिव शंकर पोखरेलले गृह मन्त्रालय दिने सहमतिबाट कांग्रेस पछि हटे आफूहरु सरकारबाहिर बस्ने सम्भावना रहेको ओएनएस न्यूजलाई बताए ।
‘गृह मन्त्रालय एमालेलाई दिने सहमति हिजो भएको हो’ बैठकबारे उनले भने, ‘त्यसबाट कांग्रेस पछि हट्यो भने हामी सरकारमा जान सक्दैनौ । अहिले यसैबारे छलफल भइरहेको छ ।’ उनले सरकारमा नगएपनि सरकारलाई दिएको समर्थन कायमै रहने बताए ।
स्रोतका अनुसार कांग्रेसले प्रधानमन्त्रीलाई सरकार चलाउन सहज हुने भएकोले गृह मन्त्रालय आफैसँग राख्ने जनाएको हो । ‘माधव नेपाल प्रधानमन्त्री हुँदा पनि हामीले उहाँलाई गृह, अर्थ सहितका प्रधानमन्त्री दिएका हौँ’ कांग्रेसका एक नेताले भने, ‘यसपटक पनि प्रधानमन्त्रीलाई सरकार चलाउन सहज होस भनि गृह राख्न खोजिएको हो ।’
(ओएनएस)