अब जिल्लाबाटै राहदानी लिन सहज

515 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, -परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउने र वितरण गर्ने काममा सुधार भैरहेको दाबी गर्दै अब जिल्लाबाटै राहदानी लिन केही सहज भएको बताएको छ । राहदानी विभागले सोमबार  पत्रकार सम्मेलन गरी जिल्लाबाट आवेदन प्राप्त भएको १० दिनभित्रै एमआरपी तयार गर्नेे गरिएको जानकारी दिएको छ ।

विभागका महानिर्देशक रमेशप्रसाद खनालका अनुसार जिल्लाले वितरण प्रक्रियालाई चुस्त बनाएमा आवेदन दिएको बढीमा २० दिनमा जिल्लाबाटै एमआरपी वितरण गर्न सकिनेछ ।

यसअघि एमआरपी लिन राजधानीमै ४५ दिनदेखि दुई महिनासम्म कुर्नुपर्ने र बाहिरका जिल्लाहरुमा तीन महिनासम्म पर्खनुपर्ने अवस्था थियो ।

विभागमै पनि आवेदन लिने काउन्टरको संख्या तीनबाट बढाएर छ पुर्‍याइएको छ भने बालबालिका, बृद्ध, महिला र अशक्तहरुका लागि लाईन बस्नु नपर्ने र १२ बजेदेखि ४ बजेसम्म कुनै पनि बेला आवेदन बुझाउन सक्ने व्यवस्था गरिएको छ ।

कार्यक्रममा विभागका निर्देशक दुर्गाप्रसाद भण्डारीले माघ १७ गतेसम्ममा विभागले १५ लाख एमआरपी जारी गरिसकेको जानकारी दिए । अहिले विभागले दैनिक चार हजार एमआरपी उत्पादन गरिरहेको जानकारी दिंदै निर्देशक भण्डारीले सन् २०१५ को नोभेम्बर १५ भित्रमा सबै हस्तलिखित राहदानीलाई एमआरपीमा बदल्न सकिने बताए ।

कार्यक्रममा विभागले एमआरपीलाई लाइभ इन्रोलमेन्टमा लैजाने तयारी गरिरहेको र अहिले प्रतिवेदनमाथि छलफल भैरहेको जानकारी दिइयो इमेज च्यानल डट कममा खबर लेखेको छ ।