नेपाली कविताले यसरी अङ्कित गरेको छ शहीदलाई

1834 पटक पढिएको

सम्पादक: Dhadingnews.com

-कपिलदेव सापकोटा (प्रकाश)
आस्था, स्वतन्त्रचम र नवसमाजको स्थापनाका लागि धेरै सपुतहरुले आत्म बलिदान गरेका छन् । नेपाली माटोमा निरङ्कुशतालाई मासेर स्वतन्त्र, जनमुखी र प्रजातान्त्रिक शासन प्रणालीको स्थापनार्थ संग्रामको बलिवेदीमा आत्म आहुति गर्ने शहीदहरुको त्याग र बलिदानले राष्ट्रिय गौरव बोकेको छ । नेपाल र नेपालीको अस्थित्व जोगाउन वीर–वीराङ्गनाहरुले बहादुरी देखाएका छन्, स्वाभिमान बचाएका छन्, र ज्यानको बाजी लगाएका छन् । यस्ता बहादुर र त्यागी राष्ट्रभक्त योद्धाहरुको वीरतालाई स्तुत्यमय आदर जति गरेपनि थोरै नै हुन जान्छ । आजसम्मको मान्यतामा राष्ट्रको खराब शासनलाई हटाउन विद्रोहको आवाज उठाएर शहिद हुने पहिलो व्यक्ति लखन थापा मगर हुन् । उनको असफल विद्रोहले गर्दा ‘पाए अन्त नपाए लखन थापाको जन्त’ तथा ‘अरुपछि अन्त चैतमा अखनको जन्त’ भनेर लोक जीवनले हेयताको तातो भुम्रो उनिमाथि घोप्टाइरहेको छ । कृष्णलाल अधिकारीको “मकैको खेती”को जरोलाई यसतर्थ मिलाउँदा फरक नपर्ने हुन्छ । शहीद काण्ड नघट्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘वन’ कवितामा वीरहरुको बलिदानी भएको ठाउँमा पूजा गर्ने अठोट संगाल्नुका पछाडी बढ्दै गएका जहानिया शासन विरोधी आवाज र कार्यहरु नै हुनसक्छन् ।
“धर्म बोले–कुन मन्दिरमा पूजा गर्छौ आऊ ? मैले बोले…..वीरहरुको बलिदान भएको ठाउँ ! ”
देवकोटाको यस्तो अभिव्यक्ति आएको पाँच महिनापछि अर्थात वि.स.१९९७साल माघ महिनामा ऐतिहासिक ‘शहिद काण्ड’ घट्यो । यस काण्डमा चार जना राणा विरोधी युवाहरुलाई मृत्युदण्ड दिएर जनता तर्साउने र जन आन्दोलन रोक्ने दुस्साहस राणाहरुबाट भएको देखिन्छ । मृत्युदण्डलाई हाँसी–हाँसी स्वीकार गर्ने नी युवाहरुको शहादतले नेपाली चेतनामा नयाँ झड्का ल्यायो । शहीद गंगालालको अन्तिम अभिव्यक्ति तलको कवितालाई मानिन्छ ।
“नेता जेतादि सबको मर्नु साझा सबको
सब शब गइ बस्छन् काखमा नै चिताको
किन डरुँ मृत्युदेखि मर्न कम्मर कसेको
हुँ एक वीरपुत्र माता नेपालको ।”
यस कवितात्मक हंकरका साथमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालालको आत्म–आहुति तथा राणाहरुको बढ्दो अत्याचारले गर्दा देशका जनतासँगै लेखक साहित्यकार पनि झस्किएर ब्यूँझिए । त्यसपछि पञ्चायतको कालो कालो शासन होस् वा वर्तमानमा जनशासनको अपेक्षामा ज्यानको बाजी थाप्ने वीरहरुको शहादतको लामो शृङखलामा लेखक साहित्यकारहरुले शहिदका जीवनगाथा, त्याग, बलिदानी र गर्नुपर्ने कार्यलाई अभिव्यक्तिका माध्यम बनाएर समाजमा चेतना झोसेको पाइन्छ ।
नेपाल र नेपालीको सुखद भविष्य खाजेर ज्यान अर्पण गर्ने शहीदहरुको सम्झना, सम्मान र प्रशंसामा नेपाली साहित्यको क्षेत्र अछुतो छैन । श्रद्धामा फुलेल भएर, अभावमा झक्कानिएर, हेलामा थिल्थिलिएर तथा गतिहीनतामा चुक्चुकाएर आफ्ना भाव पुञ्जलाई जनमानसमा पु¥याएर शहीदका त्यागलाई चिनाउन, क्रान्तिमा अझै उत्कर्षित हुन र माटो जाति र स्वतन्त्रतालाई माया गर्न साहित्यकारहरुले आह्वान गरेका छन् । विभिन्न कार्यक्रमहरुको थालनीमा शहीदका सम्झनामा “मौन धारण” गर्ने चलन थालिनु राम्रो राम्रो हो । तर साहित्यकारहरुले यस भन्दा पनि अघि पढेर श्रद्धा गर्नुपर्ने माग गरेका छन् । शहीदका परिवारहरुको मर्म, सरकारको पङ्गुपना र मान्छेको बिर्सने बानीप्रति साहित्यकारका आँखा पुगेका छन् । यसका अतिरिक्त कथा (शहीद, एकरात), निबन्ध(वीरहरु, वीर शहीद), नाटक(गंगालालको चिता, शहीदकी आमा), उपन्यास(नओइलाउने फूल), कवितामा(शोकाञ्जली, मणी) जस्ता खण्डकाव्य साहित्यिक प्राप्ति हुन् । यसका अतिरिक्त सबैभन्दा बढी कविता विधा फस्टाएको छ । र यसमा पनि फुटकर कविताहरु पर्दछन् ; यसबाट समग्र ‘शहीद साहित्य’को अध्ययन मनन गरेर प्रचार गर्ने दायित्वपूर्ण कार्यभने बाँकी नै रहेको देखिन्छ ।
कविताको फाँटमा कविता, गीत, गजल, मुक्तक, हाइकुका माध्यमबाट शहीदहरुप्रति श्रद्धा चढाएको पाइन्छ । शहीदका बलिदानीलाई नसम्झने कवि विरलै होलान् । शहीदहरुको उचित सम्मान नहुँदा न नभक्कानिने कवि कमै होलान् । शहीदको सम्झना र उनीहरुका वीरगाथालाई समेटेर विकासका स्पन्दनमा बसन्तका खुसी बाँड्ने महाकाव्य, खण्डकाव्य वा गीतिकाव्य लेखिन बाँकी नै देखिन्छ र खण्डकाव्य स्तरका प्रयासहरु भने पाइन्छन् । कविहरुका आफ्ना निजी सङ्ग्रहमा शहीद कविता समेटिनु छुट्टै हो तर शहीद सम्बन्धि कवितालाई मात्र संगालेर संग्रहका रुपमा ‘शहीद गीत’, ‘शहीद कविता’ तथा प्रयोग मासिक पत्रिकाको ‘शहीद कविता अङ्क’ प्रकाशीत भएका छन् । यीनै संग्रहका आधारमा यिनै संग्रहभित्रका कविताहरुमा कविहरुले शहीदप्रति पोखेका अभिव्यक्तिलाई नियालेर एउटा रेखाङ्कन गर्ने कार्य मात्र यहाँ भएको छ ।
प्राय कविहरुका कविताहरुको भावलाई मिलाउँदा देशको स्थिति, जनआन्दोलनको खाँचो, मृत्युलाई स्वागत गर्ने साहस, पारिवारीक स्थिति र शहीदको अमरस्थान तथा शहीदप्रति भएको अपहेलनालाई कवितामा बुनिएको पाइन्छ ।
ऊ शहीत भयो, ऊ भुमर भयो र देशका लागि ऊ महान हो । भन्दैकविहरु मुक्तकण्ठले उसको महानताको प्रशंसा गर्ने कविहरु धेरै छन्, जसमा केही – कृष्ण प्रसाद भट्टराइ, नारायण प्रसाद अधिकारी, भरतराज पन्त, भीमनिधी तिवारी, युद्ध प्रसाद मिश्र, बगबहादुर थापा, धर्मराज थापा आदि पर्दछन् भने कवि भूपि शेरचनको साह्रै चोटिलो र यथार्थ यस्तो अभिव्यक्ति रहेको छ ।
“हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन देश दुईचार सपुत मरेर नगए”
खासै यो त शहीदका बारेमा लेखिएका फुटकर कविताहरुको यो एउटा रेखाङ्कन मात्र हो । यो रोखाङ्कनमा थुप्रै कविहरुका भावना नअटाउँदा यो एउटा कोरा टिपोट मात्र हो । जे भए पनि भविष्यमा ‘शहीद साहित्य’का बारेमा विस्तृत खोजि गर्नेहरुका लागि यो रेखाङ्कन एउटा चरणको रुपमा भने अवश्य नै छ । शहीदका बारेमा पोखिएका अभिव्यक्तिलाई आ–आफ्ना क्षेत्रबाट संगाल्ने प्रयास ग¥यौँ भने यस खोजमा पूर्णता आई भोलिका दिनमा ‘शहीद साहित्य’को एउटा सबल पक्ष निमार्ण गर्नमा हामी सफल हुनेछौँ ।
शहीदका त्याग, बिचार र मागलाई अबलम्बन गर्ने र इतिहासलाई शाक्षी राखेर वर्तमानको निर्माण गर्नमा साहित्यकारहरु पनि त्यत्तिकै खट्नुपरेको छ । हामीले कर्तव्यलाई बुझौँ, शहीदको त्यागलाई स्वीकारौँ र देश निर्माणमा जुटौँ, अनि शहीदका सपना पूरा गर्नमा हाम्रा अभिव्यक्तिलाई अझै जोडदार पारौँ । यसलाई त भूपिले यसरी प्रष्ट पारिसकेका छन् ;
“हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिकार्ला
गोली निलेका शहीदका प्याला ती लाशले धिकार्ला
धरतीले मुख लाजले छोप्दा आकाशले धिकार्ला ।”