राताम्मे गुराँस, सेताम्मे हिउँ

644 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मकवानपुर,- सामान्यतया चैतमा फुल्नुपर्ने गुराँस फुलेर माघदेखि नै राताम्मे छ, त्यसमाथि सेताम्मे हिउँको वर्षा । अनि त के चाहियो र सौन्दर्यप्रेमीहरूलाई । सोमबार मकवानपुरको दामनमा हिउँसँग लुकामारी खेल्न हजारभन्दा बढी युवा ओइरिए ।
काठमाडौं नैकापकी २३ वर्षीया निकी लामाले जीवनमा पहिलो पटक हिउँको मज्जा लिएको बताइन् । उनी दामन बजारदेखि परको गुराँसे जंगलको पाखामा हिउँमा चिप्लिँदै थिइन् । निकी मात्र होइन, नेपालगन्ज घर भई हाल काठमाडौं सामाखुसी बस्दै आएकी २० वर्षीया ललिता चौधरीले पनि हिउँसँग खेल्दा निकै आनन्द महसुस भएको बताइन् । दामनमा हिउँ परेको खबर राजधानी दैनिकमा पढेपछि उनी बिहानै साथीहरू बटुलेर दामन आएकी थिइन् । दामनमा हिउँ परेको खबर सुनेर काठमाडौंबाट मात्र ५ सयभन्दा बढी मोटरसाइकलमा युवाहरू दामन आएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । हिउँ परेको खबर पाउनेबित्तिकै आइतबार साँझबाटै हिउँ पारखीहरू हिउँ खेल्न आउन थालेका थिए । काठमाडौंबाट नजिक भएकाले दामनमा हिउँ परेको खबर पाउनेबित्तिकै युवाहरूको घुइँचो लाग्ने गरेको छ ।
सोमबार पारिलो घाम लागेकाले घमाइलोमा युवाहरूले हिउँमा चिप्लिएर र एक अर्कामा हिउँका डल्लाले हानाहान गरेर रमाइलो गरेका थिए । सोमबार बिहानबाट हिउँले अवरुद्ध भएको त्रिभुवन राजपथ दिउँसो १२ बजेपछि मात्र सञ्चालन भएको थियो । यातायात सञ्चालन भएपछि हेटौंडा र काठमाडौं दुवैतर्फका पर्यटकहरू दामन–सीमभन्ज्याङ क्षेत्रमा आइपुगेका थिए । सोमबार बेलुकीसम्म हजारौं पर्यटक हिउँ खेलेर फर्केको स्थानीय गौरीशंकर होटलका प्रोप्राइटर शिवकुमार खत्रीले बताए ।
एभरेस्ट होटलका सञ्चालक राजेन्द्र भुजेलले आफूलाई पर्यटकहरूको अर्डर पु¥याउन भ्याई नभ्याई भएको बताए । हिउँ परेपछि दामनका होटलहरूमा एकाएक ग्राहकहरूको चाप बढ्ने गर्दछ । खेल्न पुग्ने गरी झरेको हिउँ अझै केही दिनसम्म रहने सीमभन्ज्याङका युवा रवि भुजेलले बताए ।

राजधानी