ढुंगाको काप फोरेर निस्कियो पीपल

821 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन

भागेर जाउ, कुन ठाउँ जाउ, मान्छे नमर्ने शहर हुँदैन……

अहिले धेरैका फेसबुकका भित्ता र ट्वीटर यही शव्दले भरिएका छन् । सबैले आ– आफ्नै तरिकाले यो गीतको बयान गरेका छन् । कोहीले जिन्दगीसँग जोडिएको गीत भनेका छन । कोहीले बाल स्वरको प्रशंसा गरेका छन् । अझ धेरैले म्यूजिक भिडियोको खुलेर तारिफ गरेका छन् । तर गीतका गायक भने उतिसारो चर्चामा छैनन् । गीतमा रहेको स्वर हो, १३ वर्षका प्रेम परियारको ।

धादिङ, मलेखुका प्रेम परियारले गाएको गीतको चर्चा बढ्दैछ । तर उनको वास्तविकता थोरैलाई थाहा छ । दुई तीन बर्षअघिसम्म धादिङ मलेखु बजारका होटल होटल चहारेर गीत गाउने बालक हुन् उनी । त्यति बेला उनी नयाँ मान्छे कोहि देख्यो की गीत सुनाई हाल्थे । गायक बन्ने ठूलो सपना छ प्रेमभित्र ।

पछिल्ला चार बर्ष प्रेमले स्कूल जाने र फुर्सदका बेला होटलमा आउने मान्छेलाई गीत सुनाएरै बिताए । कसैले दयाले गीत सुन्दिए, कसैलाई साँच्चै मन पर्‍यो ती बालकको प्रतिभा । प्रेम भन्छन् ‘स्कुल सकिएपछि मैले होटलमा गीत गाउथे र सुनाउथे ।’

गीत गाएर कमाएको पैसा आमालाई दिन्थे उनी । कलिलो स्वरमा पाका र खारिएका कलाकारको गीत दुरुस्तै गाउने क्षमता छ प्रेमसँग । त्यो क्षमतालाई पुष्टि गरेको छ विकास आचार्यको चलचित्र ‘नाई नभन्नु ल – २’ को गीतले ।

बाल मनोबिज्ञानमा आधारित चलचित्रका दुई गीतले प्रेमको उचाई बढाउँदै छ । गीतका रचनाकार डा. कृष्णहरि बराल उनको प्रतिभा देखेर दंग छन् । बराल भन्छन् ‘गीत रेकर्ड हुँदा म पनि स्टुडियोमा थिए, ओहो उनको खुवी ! म त छक्क परे । ’

प्रेमको गलामा एउटा व्यवसायिक गायकमा हुनुपर्ने गुण देखेका बराल थप्छन ‘प्रेमले गीतमा न्याय मात्रै गरेका छैनन्, जीन्दगी जोडिएको गीतमा बच्चाले यसरी गाए की मानौं ऊ आफैलाई परेको छ यो पीडा ।’ गीत गाउनुअघि गीतको भाव बताएका थिए प्रेमलाई गीतकार बरालले ।

प्रेम परियार काठमाडौंमा संगीत सिक्दै र स्कूल पढ्दै छन् । होटेलमा गीत सुनाउने क्रममा भेटेका ललितपुरका शिशिर राणाले प्रेमको खुवी देखेर उनलाई काठमाडौं ल्याएका थिए । राणाकै संरक्षणमा प्रेमले स्कूल र संगीतालयमा पढ्दै आएका छन् ।

प्रेमका आमा, बुवाको गुजाराको मेलो सामान्य काम नै हो । आधुनिक, लोक र हिन्दी गीत गाउन पारङत प्रेम अहिले ललितपुरको एउटा संगीत सिकाउने संस्थामा संगीत सिक्दै छन् । नाइ नभन्नु ल – २ का दुई गीत मध्ये एउटा गीतको संगीत गरेका हुन् बसन्त सापकोटाले ।

यी आँखामा तिमी छौं, यो मनमा तिमी छौं ,
देखाउन पो त गाहे, जीवनमा तिमी छौं
तिमी भएर मात्रै, जीन्दगीमा मज्जा छ
बरु सासले दिन्छ धोका, तिमीले दिन्न थाहा छ

बिछट्टै राम्रो गाएका छन यो गीतलाई प्रेमले । संगीतकार सापकोटाले शव्द उच्चारण, ‘फिलिङ्स’ मेलोडी टिप्ने खुबीको खुलेर तारिफ गरे । बसन्त सापकोटा भन्छन्‘ उनको स्वर ‘गड गिफ्ट’ हो, गाहे गीत पनि सजिलै गाउछन उनी ।’

प्रेमले गाएको यो चलचित्रको गीतलाई युट्युवमा दश हजार भन्दा धेरैले हेरिसकेका छन् । त्यस्तै प्रेमले धादिङका गाडी र होटेलमा गाएका गीत युट्यूवमा एकलाख भन्दा धेरैले हेरिसकेका छन. ।

२०६९ सालको पुस १३ गते उज्यालो ९० नेटवर्कले रंग दर्पणमा प्रेमको प्रतिभाबारे एउटा रिपोर्ट प्रस्तुत गरेको थियो । त्यो रिपोर्ट बाल गायक प्रेमका बारेमा कुनै पनि मिडियामा आएको पहिलो सामग्री थियो ।

प्रेमको प्रतिभाबारे संगीत गुरु अमृत क्षेत्रीले भने ‘लय र शव्द व्यवसायिक गायकले झैं तुरुन्त टिप्न सक्ने प्रेमको सवै भन्दा ठूलो खुवी हो ।’ नेपाली मात्रै होइन हिन्दी गीत पनि उत्तिकै राम्रोसँग गाउनु प्रेमको अर्को खुवी हो ।

अव उनको उमेरका हिसावले स्वर फेरिने बेला भएको छ । त्यसैले ख्याल गर्नुपर्ने सुझाव दिन्छन् बसन्त सापकोटा । प्रेमको कला र गलाको प्रचार समाजिक सञ्जालमार्फत भैरहेको छ । विदेशमा रहेका धेरै नेपालीले प्रेमलाई सहयोग गरेका छन । प्रेमले कतार, हङ्कङ, कोरिया, अष्ट्रेलियामा पुगेर आफ्नो प्रतिभा देखाइसकेका छन् ।

अहिले नाम, दाम कमाएका गायक रामकृष्ण ढकालको सांगीतिक यात्रा, प्रेम परियारको भन्दा खासै फरक छैन । रामकृष्ण ढकाललाई यस्तै गरि गीत गाउने समयमा नारायण गोपालसँग दाँजेका थिए धेरैले । अहिले प्रेम परियारलाई उनै रामकृष्ण ढकालसँग तुलना गर्न थालेका छन् । प्रेमले गाएका गीतले यति चाँडै चर्चा कमाउनु भनेको हुने बिरुवाको चिल्लो पात भने जस्तै हो । भनिन्छ ढुंगाको काप फोरेर पनि निस्कन्छ पीपल । त्यही उक्ति मिल्दैछ प्रेम परियारसँग ।

उज्यालो अनलाईनवाट