नौबीसे सडकको ४० प्रतिशत काम सकियो

566 पटक पढिएको

सम्पादक: Dhadingnews.com

nau

,काठमाडौं- राजधानी भित्रिनी प्रमुख नाका नागढुङ्गादेखि नौबीसेसम्मको एक हजार सत्तरी मिटर सडक निर्माणको चालीस प्रतिशत काम सम्पन्न भएको छ। ठेक्का सम्झौता भएको नौ महिनाको अवधिमा चालीस प्रतिशत काम सम्पन्न भएको हो। बाँकी ६० प्रतिशत काम आगामी तीन महिनाको अवधिमा सम्पन्न गर्ने लक्ष्य सो सडक निर्माण गर्ने ठेक्का पाएको महादेव, खिम्ति⁄मिचिको जेभीले जनाएको छ। पृथ्वी राजमार्गअन्तर्गत अत्यधिक बिग्रने सडकखण्डमा डिभिजन कार्यालले ढलान (आरसीसी) गर्न लागेको हो।

प्रधानमन्त्री कार्यालय र सडक डिभिजन कार्यालय भरतपुरले तत्काल निर्माण कार्य सम्पन्न गर्नका लागि निर्देशन दिँदै आएको छ। तर कम्पनीले राजमार्गमा दैनिक रूपमा ठूलो संख्यामा सवारीसाधन आवतजावत हुने हुँदा निर्माण कार्यमा केही ढिला हुन पुगेको स्वीकार गरेको छ। हाल सञ्चालनमा रहेको सडकमा गाडी सञ्चालन गर्ने गरी कामलाई सहज बनाउनका लागि नयाँ ट्रयाक निर्माण गरेर कामलाई अगाडि बढाइएको छ। सडकमा पिच गर्नभन्दा ढलान गर्नका लागि समय लाग्ने भएकाले सडक निर्माणमा ढिलाई हुँदै आएको बताइएको छ।

पानी पर्दा नयाँ खोलिएको बाटोमा हिलो भएर गाडी फस्ने गरेकाले सो सडकमा घण्टौ लामो जाम हुँदा सर्वसाधरणले हैरानी खेप्दै आएका छन्। क्षमताभन्दा बढी भारतीय र स्वदेशी मालवाहक सवारीसाधन सञ्चालन हुँदा राजमार्ग छिटो बिग्रने गरेको छ। सडकको क्षमताभन्दा बढी मालवाहक सवारीसाधनलाई नियन्त्रण गर्नेतर्फ सरकारको ध्यान जान नसकेको स्थानीयले गुनासो गरेका छन्। सडक निर्माण गरेको छोटो समयमै बिग्रने र पिच सडक भत्कने गरेपछि डिभिजन कार्यालयले पिच नबस्ने मुख्य स्थानको छनोट गरी ढलान (आरसीसी) गर्नका लागि ठेक्का दिएको हो। ‘दैनिक हजारौंको संख्यामा सवारीसाधन र यात्रुहरू ओहोरदोहोर गर्ने राजमार्गमा दु्रत गतिमा मर्मत कार्य भइरहेको छ’ –महादेव, खिम्ती⁄मिचीको जेभीका साइट इन्चार्ज एवं इन्जिनियर विनोद पालले भन्नुभयो। पिपलामोडदेखि नौबीसेसम्म १ हजार ७० मिटर सडकमा दुवैतर्फ ढलान (आरसीसी) कार्य भइरहेको जानकारी दिँदै उहाँले तोकिएको समयभन्दा पहिला नै काम सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो।

नौ महिनाअघि डिभिजन सडक कार्यालय भरतपुर र महादेव खिम्ती⁄मिचीको जेभीबीच ५ करोड ७० लाख ५६ हजार ४ सय रुपियाँमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौतामा ०७१ जेठ १२ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने उल्लेख गरिएको छ। सडक कार्यालयले ठेकेदार कम्पनीलाई चैतभित्र नै ढलान कार्य सम्पन्न गरेर बाँकी रहेका अन्य काम गर्न निर्देशन दिएको छ। ‘अहिले सडकमा जाम छैन, पानी पर्दा मात्र जाम हुने हो, पानी पर्नासाथ बाटो हिलो भएर गाडी फस्छ’ –डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख हरि पोखरेलले भन्नुभयो। चैत्रसम्म ढलानको काम सम्पन्न गर्ने गरी काम भइरहेको बताउँदै प्रमुख पोखरेलले काममा केही ढिला भएको बताउनुभयो। विगतमा गरिएको पिच भत्किएको स्थानमा ढलान गर्ने काम भइरहेको उल्लेख गर्दै उहाँले सडक निर्माणको क्रममा कठिनाइ पनि भएको बताउनुभयो। ढलान गरेपछि झन्डै २५ दिनसम्म गाडी गुडाउन नहुने भएका कारणले गर्दा पनि काममा केही ढिलाइ हुँदै आएको छ।

‘हामीले वैकल्पिक बाटो निर्माण गरेर भए पनि ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्नका लागि भनेको छौं’, प्रमुख पोखरेलले भन्नुभयो– ‘अहिलेकै गतिमा काम गर्दा तोकिएकै समयमा काम सम्पन्न हुन्छ नत्र काम सम्पन्न गर्न कठिनाइ हुने देखिन्छ। काम ढिला नहोस् भन्नका लागि पटक–पटक पत्राचार गरेको उल्लेख गर्दै उहाँले छिटो निर्माण कार्य सम्पन्न गराउनका लागि गम्भीर बनेर रातदिन खटिएका छौं। १ हजार ७० मिटर दुवैतिर पिच कार्य भइरहेको छ। जसमध्ये एकातर्फ ८ सय ३३ मिटर ढलानको कामको सम्पन्न भइसकेको छ भने अर्कोतर्फ ९० मिटर सडक ढलान भइसकेको छ। जेठभित्र नै काम सम्पन्न गर्दा यातायात सञ्चालन सहज हुनुका साथै घण्टौं जाममा बस्नुपर्ने समस्या हट्ने, इन्जिनियर पालको भनाइ छ।

ढलानका क्रममा एक लेन काम गर्न सवारीसाधन सञ्चालन गर्नका लागि ट्रयाक खोलेर कम्पनीले काम अगाडि बढाएको छ। दसैंतिहारलगत्तै प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा सो सडक निरीक्षण गरी वैकल्पिक सडक खोलेर मात्र निर्माणको कार्यलाई अगाडि बढाउन निर्देशन दिनुभएको थियो। सोहीअनुरूप हाल ट्रयाक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ। सो सडकअन्तर्गत याकघर, गणेशमन्दिर, सिस्नेखोलामा ट्रयाक खोलिसकेको छ। खत्रीपौवा खोलामा वेलिब्रिज निर्माण कार्य अगाडि बढेको छ। सर्वसाधारणले घण्टौं जाममा बस्नुपर्ने गुनासो गर्दै तत्कालै निर्माण कार्य सम्पन्न गर्न माग गर्दै आएका छन्।

 न्युज अफ  नेपाल डट कमवाट