कार्यकर्ता धुलाम्मे, नेता हेलिकोप्टरमा सरर

791 पटक पढिएको

सम्पादक: Dhadingnews.com

एमालेका नेता कार्यकर्ता चढेर आएका हेलिकोप्टर (तस्बीर: अन्नपूर्ण)
एमालेका नेता कार्यकर्ता चढेर आएका हेलिकोप्टर  (तस्बीर: अन्नपूर्ण)

काठमाडौं : नेकपा एमालेको शनिबारबाट सुरु भएको क्षेत्रीय अधिवेशनको उद्‍घाटन कार्यक्रम एकाएक चर्चामा आएको छ। धादिङ क्षेत्र नं १ का अध्यक्ष धनबहादुर घले संविधान सभा सदस्यमा निर्वाचित भएपछि खुसीमा रमाएको एमालेले शनिबार क्षेत्रीय अधिवेशनमा सहभागी प्रमुख अतिथिदेखि अतिथि र सहभागी ओसार्न तीनवटा हेलिकोप्टर कार्यक्रम स्थलमा उतारेर थप चर्चा कमाएको हो ।

एमालेले धादिङको १ नम्बर क्षेत्रीय अधिवेशन उद्घाटनमा अतिथि र केही सहभागी ओसार्न शनिबार तीनवटा हेलिकोप्टर सल्यानकोट गाविसको रिङनेमा उतारेपछि यस कार्यको एमाले पार्टीभित्रैवाट विरोध भएको छ। कार्यक्रमका प्रमुख अतिथि पार्टी उपाध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, सभासद एवं पार्टीका पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे, पार्टी पर्यटन इलाकाका सदस्यहरु राजेन्द्र सापकोटा, चन्द्र रिजाल, भरत अधिकारी लगायतका अतिथि र सहभागीलाई काठमाडौंबाट कार्यक्रम स्थल पुर्यालउन हेलिकोप्टरको प्रयोग भएपछि कार्यकर्ताहरुले पार्टी नेतृत्व र कार्यशैली प्रति आपत्ति जनाएका हुन्।

हेलिकोप्टरबाट उत्रिएर कार्यक्रमस्थल तर्फ आउँदै गरेका एमाले उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम

हेलिकोप्टरबाट उत्रिएर कार्यक्रमस्थल तर्फ आउँदै गरेका एमाले उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम

काठमाडौंबाट तीन वटा हेलिकोप्टरमा कार्यक्रमस्थलमा पुगेका अतिथिको स्वागतमा दुई दिनपैदल यात्रा गरेर अधिवेशनमा सहभागी हुन आएका एमाले कार्यकर्ता सडक छेउ तैनाथ थिए। सदरमुकाम धादिङबेसीबाट आफूलाई सजिलो पर्ने दुईवटा मोटरबाटोबाट बढीमा चार घण्टामा कार्यक्रमस्थल पुग्न सकिन्छ।

धादिङबेसी-साङकोष-तिप्लिङ सडक र धादिङबेसी-सल्यानटार-खहरे-गुम्दी सडक भएर जान सकिने सल्यानकोट गाविसको रिङनेमा हेलिकोप्टर चढेर आउनु एमाले पार्टी धनीमानीहरुको पार्टी भएको संकेत गरेको कार्यकर्ताहरुको भनाई थियो। अधिवेशनका नाममा फजुल खर्च गरिएको भन्दै गाउँबाट खाली खुट्टा कार्यक्रम आएका एमाले कार्यकर्ता र शुभचिन्तकले असन्तुष्टि जनाएका थिए।

जिल्लाको उत्तरी भेगमा पर्ने २० वटा गाविस समेटिएको धादिङ क्षेत्र नम्बर १ का १६ वटा गाविसमा मोटरबाटो जोडिएको छ। अधिवेशनमा सहभागी हुन आएका अधिकांश कार्यकर्ता ग्रामीण सडकमा चल्ने ट्रकमा चढेर धुलाम्मे हुँदै आएका थिए । कतिपय भने हिँडेरै कार्यक्रमस्थल आएका थिए। जिल्लाको उत्तरी भेगमा पर्ने तिप्लिङ, सेर्तुङ, लापा, रि गाविसका एमाले कार्यकर्ताहरु दुई दिन हिँडेर अधिवेशनस्थल आइपुगेको एमालेका एक जिल्ला सदस्यले बताए।

शनिवार दिउँसो १ बजेतिर सबैभन्दा पहिला गृहमन्त्री गौतम डाइनेस्टि एयरबाट कार्यक्रमस्थलमा आएका थिए। गौतमको स्वागतमा एमालेका जिल्ला नेता कार्यकर्ताले पञ्चैवाजा बजाएर नाचगान गरेका थिए। गौतम कार्यक्रम स्थलमा आइपुगेको ३० मिनेट पछि श्री एयरको हेलिकोप्टरबाट एमालेका पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री राजेन्द्र पाण्डे एक हुल कार्यकर्ता सहित हेलिकोप्टरबाट उत्रिएका थिए। पाण्डेको टोली अवतरण भएको केहीबेरमै फिस्टेल एयरबाट एमालेका पर्यटन व्यवसायी कार्यकर्ताहरु कार्यक्रमस्थल पुगेका थिए।

गाउँ गाउँबाट पैदल हिडेर कार्यक्रमसथ्ल आउँदै गरेका एमाले शुभचिन्तक तथा कार्यकर्ता

गाउँ गाउँबाट पैदल हिडेर कार्यक्रमसथ्ल आउँदै गरेका एमाले शुभचिन्तक तथा कार्यकर्ता

अधिवेशनको उद्‍घाटनस्थल नजिकै चौर र खेतको गरामा लस्करै रोकिएका तीनवटा हेलिकोप्टर हेर्न र नजिकैबाट फोटो खिच्न कार्यकर्ताहरुको भीड नै लागेको थियो। शुक्रबार साँझ अबेरसम्म धादिङबेसीमा रहेका एमाले नेता पाण्डे शनिबार दिउँसो हेलिकोप्टरबाट कार्यक्रमस्थल उत्रिएका थिए।

चार वर्षअघि दशैं मनाउन घर गएका बेला हत्या गरिएका एमाले जिल्ला सदस्य शिव थापाको शव घटनास्थलबाट सदरमुकाम लैजान मोटरको व्यवस्था गर्न समेत नसकेको एमालेले सोही क्षेत्रको अधिवेशनमा तीन तीन वटा हेलिकोप्टर ल्याएकोमा एमालेका नेता कार्यकर्ताले आक्रोश व्यक्त गरेका हुन।

‘जुन क्षेत्रमा पार्टीको काममा लागिरहँदा तत्कालीन माओवादीबाट एमालेका कार्यकर्ताहरु रामचन्द्र श्रेष्ठ, जयराम श्रेष्ठ, इच्छाबिक्रम मल्ल र शिव थापाको हत्या भयो,त्यही क्षेत्रमा अधिवेशन गरिरहँदा एमाले पार्टीले उनीहरुलाई सम्झन त परै जाओस, तामझाम देखाएर सहिद परिवार र साधारण कार्यकर्ताहरुको समेत चित्त दुखाएको छ,’ एमाले जिल्ला सदस्य अम्बिका रुपाखेतीले सञ्चारकर्मीहरुसँग बताउंदै थिइन्।

एमाले जिल्ला अध्यक्ष खेम लोहनी, पूर्व अध्यक्ष एवं धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद बुर्लाकोटीले कार्यक्रमका प्रमुख अतिथि गौतमलाई मात्र पार्टीले हेलिकोप्टरबाट ल्याएको प्रतिक्रया दिएका छन्। ‘साथीहरुले आफ्नै खर्चमा हेलिकोप्टर ल्याउनु भएको हो यसमा पार्टीको नाम जोडिरहनु नपर्ने,’  बुर्लाकोटीले भने।

-अन्नपूर्ण