नेपाल जलस्रोतमा दोस्रो धनी हैन रहेछ

953 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ,  – ‘जलस्रोतको दोस्रो धनी देशमा न बिजुली, न खानेपानी’ धेरैको मुखबाट निस्कने साझा भनाई हो यो ।

प्रशस्तै खोलानदी, तालपोखरी, छहरा देखिने भएकाले होला नेपाललाई जलस्रोतको निकै धनी देश भनिन्छ । त्यसमाथि नीति निर्मातादेखि सबैले भन्ने गर्छन् ‘नेपाल जलस्रोतमा दोस्रो धनी देश हो ।’

तर नेपाललाई यो श्रेणीमा कसले राखिदियो ? अध्ययन कसले गर्‍यो ? के आधारमा दोस्रो धनी देश भयो भन्ने तथ्य र प्रमाण केही भेटिदैन । बरु तथ्याङ्क खोज्दै जाने हो भने नेपाल जलस्रोतमा दोस्रो होइन, ४२ औं धनी देशमा पर्दोरहेछ । जुन कुरा काभ्रेको धुलिखेलमा आइतबार भएको कार्यक्रममा एक विज्ञले खुलासा गरे ।

विश्व मौसम दिवसको अवसरमा जल तथा मौसमविद समाज र काठमाडौं विश्वविद्यालयले धुलिखेलमा पत्रकारसँग छलफल कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा जल तथा मौसमको क्षेत्रमा काम गर्ने विज्ञ र पत्रकार सहभागी थिए । कार्यक्रममा जलस्रोतको अवस्था, नेपालको मौसम भविष्यवाणीका चुनौती र सम्भावना लगायतका धेरै कुरामा छलफल भयो ।
छलफलका क्रममा जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक केशवप्रसाद शर्माले एउटा तथ्याङ्क प्रस्तुत गर्दै भन्नुभयो ‘नेपाललाई जलस्रोतको दोस्रो धनी देश भनिन्छ, तर होइन रहेछ ।’ उहाँका अनुसार जलस्रोतको हिसाबले नेपाल ४२ औं नम्बरमा पर्छ ।

नेपाललाई दोस्रो जलस्रोतको धनी देश कसले भन्यो भन्ने विषयमा एकछिन बहस भयो । विज्ञ र पत्रकारले समेत यही हो भन्न सकेनन् । जल तथा मौसमविद समाजका अध्यक्ष जगतकुमार भुसालले भन्नुभयो ‘८३ हजार मेघावाट बिजुली उत्पादन गर्ने क्षमता छ भन्ने हिसाबले दोस्रो भनिएको भएपनि नहुनुपर्ने, यो हिसाबले पनि दोस्रोमा चाहिँ पर्दैन ।’

विज्ञहरुको भनाई अनुसार नेपालमा पानी प्रशस्त भएपनि विश्वमै जलस्रोतको दोस्रो धनी देश चाहिँ होइन । तर भाषण गर्ने बेला सरकारका मन्त्री र सम्बन्धित अधिकारीलाई भन्ने बानी परिसकेको छ, ‘नेपाल जलस्रोतको दोस्रो धनी देश हो उज्यालो अनलाईनले खवर लेखेको छ । ।’