वर्षाले नागढुंगा सडकमा फेरि जाम

778 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, चैत १२ – काठमाडौ छिर्ने मुख्य नाका नागढुंगा सडकखण्डमा मर्मत काम प्रभावकारी नहुँदा यात्रु र गाडी चालकले समस्या भोग्दै आएका छन् ।

झरी पर्ने बित्तिकै माटो बग्ने समस्याले गाडीको आवतजावत नै अवरुद्ध हुने गरेको छ ।  मंगलबार परेको पानीका कारण नागढुंगा सडकखण्डमा अहिले गाडीको चाप छ । मंगलबार बेलुकीदेखि नै गाडीको आवतजावत अवरुद्ध हुँदा यात्रु घण्टौं जाममा बस्न बाध्य छन् ।

अहिले त्यस सडकखण्डमा काठमाडौ भित्रने गाडीको लाम साढे ३ किलोमिटर र बाहिरिने गाडीको लाम १ किलोमिटरसम्म रहेको नागढुंगाका ट्राफिक प्रहरी नायब निरीक्षक उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

सडक फराकिलो पार्ने क्रममा याक घर अगाडि सडकको भित्तो खनेको माटो पानी परेपछि बग्ने गरेकाले समस्या हुने गरेको छ । ठेकेदारले भित्तो खनेको माटो व्यवस्थित नगर्दा पानी  पर्ना साथ माटोको लेदो सडकमै बग्ने गरेको हो ।

अहिले पानी पर्ने क्रम रोकिएकाले माटो सुकेपछि बाटो खुल्ने बुढाथोकीले बताउनुभयो । यही चैत महिनाको मसान्तसम्म नागढुंगा सडकखण्डको काम सक्ने सरकारले बताइरहेपनि त्यो पूरा नहुने देखिएको छ ।

http://ujyaaloonline.com