धादिङमा १७३ एचआइभी सङ्क्रमित

430 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, –  धादिङमा एचआइभी/एड्स सङ्क्रमित १७३ जना रहेका छन् । त्यसमा  ९४ पुरुष र ७९ जना महिला रहेका छन् । त्यसमध्ये १८ वर्षमुनिका १३ जना बालबालिका रहेका छन् । सङ्क्रमितमध्ये १५२ जनाले एआरटी सेवा लिइरहेका छन् ।जिल्ला एड्स समन्वय समितिको बैठकमा सो जानकारी गराइएको हो । ग्लोबल फन्टको सहयोगमा सेभ द चिल्ड्रेनमार्फत नागार्जुन डेभलपमेन्ट कम्युनिटीले उपचारका लागि बालबालिकालाई एक हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको थियो । धादिङबाट रोजगारीका लागि विदेश जाने केही पुरुष एचआइभी सङ्क्रमित भइआउने गरेको र त्यसले गर्दा महिला तथा बालबालिका पनि सङ्क्रमित हुने गरेको देखिन्छ । जिल्ला एड्स समन्वय समिति को बैठकमा समन्वय समितिका पदाधिकारी सदस्यका अतिरिक्त एड्स रोकथामसम्बन्धी काम गर्दै आएका गैरसरकारी सङ्घसंस्था तथा सञ्चारकर्मीको  सहभागिता थियो । जिल्लामा अहिलेसम्म एआरटी सेवा उपलब्ध नभएकाले सङ्क्रमितहरूलाई काठमाडौँ र नुवाकोट जानुपर्ने भएकाले जिल्लामै उपलब्ध गराउन जिल्ला स्वास्थ्य कार्यालयले पहल गर्नुपर्ने सहभागीहरूको भनाइ थियो ।