राहदानी आवेदन सङ्कलन काउन्टर थपिए

566 पटक पढिएको

सम्पादक: Dhadingnews.com

सरकारले राहदानी वितरण प्रणालीलाई सहज बनाउन थप तीनवटा आवेदन फाराम सङ्कलन केन्द्र सञ्चालन गरेको छ ।

राहदानी विभागमा सेवाग्राहीको बढ्दो भीडलाई ध्यानमा राखि सरकारले विद्यमान ६ वटा फाराम सङ्कलन काउन्टर बढाएर ९ वटामा पुर्‍याएको छ ।

त्यसैगरी राहदानी वितरण पनि सहज बनाउन कम्प्युटर इन्जिनियरलगायत १५ जना जनशक्तिको व्यवस्था गर्न विभागले प्रयास गरेको विभागका महानिर्देशक रमेशप्रसाद खनालले बताए । उनले अर्थ मन्त्रालयबाट दरबन्दी स्वीकृत हुनासाथ थप जनशक्ति आउने जानकारी दिए ।

मौजुदा कम्प्युटर इन्जिनियर र अन्य प्राविधिक कर्मचारीले बिहान ७ देखि राति ७ बजेसम्म काम गरेर दैनिक आठ हजारको हाराहारीमा राहदानी तयार गरिरहेको पनि उनले बताए ।

यसैबीच, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले १५ जना जनशक्ति विभागलाई उपलब्ध गराउन सरकार सकारात्मक रहेको बताउँदै त्यसबारेमा आफूले अर्थमन्त्रीसँग छलफल गरेको जानकारी दिएका छन् ।

“अर्थमन्त्रीज्यू अहिले विदेशमा रहेकाले उहाँ स्वदेश फर्कने वित्तिकै थाँती रहेको काम पूरा गराउनेतर्फ लाग्नेछु’,– मन्त्री पाण्डेले भने ।

चार वर्षको अवधिमा विभागले तीन लाख ३१ हजारभन्दा बढी राहदानी नवीकरण, हराएका ६९ हजार ६७४ र हस्तलिखित तीन लाख २६ हजार ८४५ राहदानी प्रतिस्थापन गरिसकेको छ ।

सन् २०१५ को अक्टोबर २४ सम्ममा विश्वभरमा एमआरपी लागू गरी सक्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन सङ्गठनको नियमानुसार नेपालमा पनि एमआरपी लिनेहरूको घुइँचो बढेको हो ।

त्यसैगरी वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेकाले पनि राहदानी लिनेको लर्को लाग्ने गरेको छ हिमालखबर डट कमले खवर लेखेको छ ।