इमेल र सोसल मिडियाका २० लाख पासवर्ड चोरिए, साबधानी अपनाउन सुरक्षाबिज्ञको सुझाव

571 पटक पढिएको

सम्पादक: Dhadingnews.com

यदि तपाई फेसबुक,ट्वीटर, गुगल, याहु लगायतका चर्चित इमेल र सामाजिक संजालको प्रयोगकर्ता हुनुहुन्छ भने तुरुन्तै पासवर्ड परिवर्तन गर्नु बुद्धिमानी हुने छ ।

नेदरल्याण्डमा साइवर अपराधिहरुमाथि अनुसन्धान गरिरहेका साइवर सुरक्षा बिशेषज्ञहरुले हालै करिव २० लाख पासवर्ड ह्याक भएको पत्ता लगाएका छन् । पोनी बोनेट नामक  भाइरसका माध्यमबाट बिश्वभर छरिएर रहेका प्रयोगकर्ताहरुको युजर आईडी र पासवर्ड ह्याक गरी सर्भर स्टोर गरेको अबस्थामा बरामद गरेका छन् ।

यसमध्ये ३ लाख १८ हजार फेसबुक प्रयोगकर्ता, ७० हजार ५ सय जीमेल प्रयोगकर्ता, ५९ हजार ५ सय याहु र २१ हजार ७ सय ट्वीटर प्रयोगकर्ताको एकाउन्ट रहेको बताइएको छ ।

सेक्युरिटी फर्म ट्रष्टवेभका अनुसार बेलायत, अमेरिका, रसिया, सिंगापुर लगायतका मुलुकका प्रयोगकर्ताको पासवर्ड ह्याक गरेको पाइएको छ । उसले नेदरल्याण्डका अधिकारीसँग सम्र्पक गरी पासवर्ड स्टोर गरिएको सर्भर बन्द गर्न अनुरोध गरेको डेली मेलले  जनाएको छ ।
सवैभन्दा बढि प्रयोग गरिएका पासवर्डहरु

सवैभन्दा बढि प्रयोग गरिएका पासवर्डहरु

त्यसरी ह्याक गरिएका अकाउन्ट र पासवर्डहरुको बिश्लेषण गर्दै स्पाइडलल्याबले भनेको छ– ह्याक हुनेमध्ये करिव १६ हजार आईडीको पासवर्ड १२३४५ राखिएको छ । यसैगरी धेरैले १२३, पासवर्ड,एडमीन,१२३४५६७८९ जस्ता सजिला पासवर्ड प्रयोग गरेको पाइएको छ । सुरक्षा बिज्ञहरुले यस्ता सजिला पासवर्ड प्रयोग नगर्न प्रयोगकर्ताहरुलाई सुझाव दिएका छन् ।

पोनी बोनेट रोवर्ट नेटवर्क हो जसले कम्प्युटर र सर्भरहरुमा आक्रमण गरी रिमोट एक्सेस गर्न सक्छ । नेदरल्याण्डबाहेक अन्यत्र पनि यस्तैखाले नेटवर्क हुन सक्ने भन्दै सुरक्षा बिज्ञहरुले प्रयोगकर्तालाई साबधानीका लागि तत्कालै पासवर्ड परिवर्तन गर्न सुझाव दिएका छन् ।

फेसबुक र ट्वीटरले संकास्पद एक्सेस गरिएका एकाउन्ट पहिचान गरि प्रयोगकर्ताहरुलाई पासवर्ड परिवर्तन गर्न लगाएको बताएको छ ।

पोनी बानेट शैलीका भाइरस पृष्ठभूमीमा संचालन हुने र प्रयोगकर्तालाई थाहा नहुने भएकाले आफ्नो एन्टीभाइरस, ब्राउजर र अन्य एप्लीकेसनहरु अपडेटमा राख्न सुझाव दिएका छन् ।

– एजेन्सिको सहयोगमा