नियम नमान्ने पत्रपत्रिकालाई कारबाहीको चेतावनी

666 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, ११ वैशाख  – सूचना विभागले छापाखाना र प्रकाशन सम्बन्धी ऐन र नियममा तोकिएको व्यवस्था लागू नगर्ने पत्रपत्रिकालाई कारवाही गर्ने चेतावनी दिएको छ ।

विभागले छापामाध्यम सञ्चालक सञ्चार प्रतिष्ठानहरुको नाममा सार्वजनिक सूचना जारी गर्दै ऐन र नियममा भएको व्यवस्था कार्यान्वयन नगर्नेलाई कारवाही गर्ने चेतावनी दिएको हो ।

विभागले कतिपय पत्रपत्रिकाको नामको अक्षर शब्दहरु एउटै फन्ट र आकारमा नभएको तथा सबै विवरण तोकिएको ठाउँमा उल्लेख नगरिएको पाइएको भन्दै आउँदो अंकदेखि नै नियम अनुसार प्रकाशन गर्न छापामाध्यम सञ्चालक सञ्चार प्रतिष्ठानहरुलाई भनेको छ ।

छापाखाना र प्रकाशन सम्बन्धी ऐन २०४८ र छापाखाना र प्रकाशन सम्बन्धी नियमावली २०४९ मा समाचार, पत्रपत्रिका प्रकाशन गर्नुपूर्व स्थानीय अधिकारी, जिल्ला प्रशासन कार्यालयबाट दर्ता प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । यस्तै पत्रपत्रिकाको पहिलो पृष्ठको शिरमा दर्ता नम्बर, पत्रपत्रिकाको नाम, प्रकार, वर्ष, अंक, मिति, मूल्य तथा अरु पृष्ठको शीरमा नाम र मिति उल्लेख हुनुपर्ने र तोकिए अनुसारको आकार र पृष्ठ संख्या हुनुपर्ने व्यवस्था छ ।

तोकिएको विवरण उल्लेख गर्ने पत्रपत्रिकाका प्रकाशकलाई जरिवाना गर्न सक्ने तथा सरकार र सरकारी स्वामित्वका संघसंस्थाबाट दिइने सुविधा, सहायता वा विज्ञापन नदिने व्यवस्था पनि ऐन र नियमावलीले गरेको छ । अहिले प्रकाशनमा रहेका धेरै पत्रपत्रिकाको नाम नै तोकिएको फन्ट अनुसार नराख्ने गरेको पाइएको छ    उज्यालो अनलाईनले खवर लेखेको छ ।