पत्रकार महासंघमा बामपन्थी एकता, चार वटा संगठनबीच एलायन्स

603 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Bampanthi-Patrakar-Samuha

काठमाडौं। नेपाल पत्रकार महसंघको २४ औं महाधिवेशनमा चार वटा वामपन्थी संगठनहरु एकैथलोमा उभिएका छन् ।

प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघले नेपाल पत्रकार महासंघको चुनावमा एक भएर लड्ने निर्णय गरेका हुन् ।

काठमाडौमा बुधबार घोषणा सभा गर्दै ४ वटा पत्रकार संगठनले चुनावी एकताबारे जानकारी गराएका हुन् ।

बुधबार प्यानलबाट समावेशी उपाध्यक्षमा प्रेस चौतारीका महेश दास, खुला सचिवमा क्रान्तिकारी पत्रकार महासंघका प्रभात चलाउने, महिला सचिवमा क्रान्तिकारी पत्रकार संघकी संगीता खड्का र समावेशी सचिवमा क्रान्तिकारी पत्रकार महासंघका धर्मेन्द्र कर्णको नाम घोषणा गरिएको छ ।

खुल्लातर्फ प्रगतिशील पत्रकार संघका तर्फबाट दीपेन्द्र कुँबर र अल्पसंख्यकमा प्रेस चौतारीका तर्फबाट अब्दुल्ला मियाँको नाम टुंगो लागेको छ ।

एशोसियट सचिव र खुल्लातर्फका चार जना केन्द्रीय सदस्यको नाम पछि तय गरिने बताइएको छ ।

बामपन्थीहरुको विजयी सुनिश्चित बनाउन प्रेस चौतारीका निवर्तमान अध्यक्ष गगन विष्ट संयोजक र क्रान्तिकारी पत्रकार संघका सचिव शचिन रोका सहसंयोजक रहेको संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

Press-Chautari-agreement

यसैगरी, अध्यक्षमा डा. महेन्द्र बिष्ट, खुल्ला उपाध्यक्षमा खिलबहादुर भण्डारी, महासचिवमा उजिर मगर, कोषाध्यक्षमा सूर्यमणि गौतम, उपत्यका केन्द्रीय सदस्यमा रामहरि सिलवाल, दलिततर्फ किसान संगीत र कमल परियार, आदिबासी जनजातिमा लोकबहादुर चौधरी लक्की र मोहनसिंह लामा लगायतको नाम भने यसअघि नै सार्वजनिक गरिएको छ ।

यसैगरी, सुदूरपश्चिममा दुवै केन्द्रीय सदस्य पाएको प्रेस चौतारीले प्रकाश बिक्रम शाह र खगेन्द्र पन्तलाई उम्मेदवार बनाएको छ ।

उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै एमाले प्रचार विभागका सचिव सूर्य थापा, प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्य, पत्रकार महासंघका अध्यक्ष कुमार शाह, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, प्रेस चौतारीका निवर्तमान अध्यक्ष एवं संयुक्त निर्वाचन परिचालन समितिका संयोजक गगन विष्टले चुनावका लागि घोषणा गरिएका उम्मेदवार र समूह अत्यन्तै समावेशी बनेको बताए ।

नेपाल पत्रकार महासंघको वैशाखको २० र २१ गते काठमाडौमा महाधिवेशन हुँदैछ । महाधिवेशनमा बामपन्थीहरु एकजुट भएका छन् भने प्रेस युनियन एक्लै चुनाव लड्दैछ ।

Press-Chautari-agreement1

चार वटा संगठनबीचको घोषणापत्र यस्तो छ :

यस्तो छ संयुक्त घोषणापत्र

संयुक्त घोषणापत्र–२०७१

नेपाल पत्रकार महासंघलाई अझ सशक्त, जुझारु र नेपाली पत्रकारहरूको साझा पेशागत संगठनका रूपमा स्थापित गर्दै श्रमजीवी पत्रकारको हकहित, व्यावसायिक पत्रकारिताको प्रवद्र्धन, प्रेस स्वतन्त्रताको संवद्र्धन, पत्रकारिताको संस्थागत विकास र सशक्त अगुवा नागरिक संस्थाको रूपमा अघि बढाउन प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघ नेपाल बीच विगतदेखि हुँदै आएको सहकार्यको यात्रालाई अझ उचाईका साथ अघि बढाउन नेपाल पत्रकार महासंघको आगामी २४ औं महाधिवेशनमा हामी चार संगठनबीच साझा दृष्टिकोणका आधारमा प्रेस चौतारीद्वारा प्रस्तावित अध्यक्षका उम्मेदवार डा. महेन्द्र विष्टको नेतृत्वमा संयुक्त व्यावसायिक प्यानल बनाई एकसाथ अघि बढ्ने सहमति भयो ।

संयुक्त प्यानलका नीतिगत आधार, नेतृत्वको संरचना र कामका प्राथमिकता देहायबमोजिम रहनेछन्—

(१) नेपाल पत्रकार महासंघलाई आम पत्रकारहरूको साझा नेतृत्वदायी पेशागत संगठनका साथै उचित श्रम अभ्यास र सामूहिक सौदावाजीको वैधानिक अधिकार सम्पन्न संगठनको रूपमा अघि बढाइने छ ।

(२) राज्यको पुनर्संरचना अनुरूप पत्रकार महासंघको पनि संगठनात्मक पुनर्संरचना गरिने छ । पुनर्संरचना गर्दा महासंघका सवै वास्तविक सदस्यले यसको नीतिगत निर्णय, नेतृत्व चयन र निर्णय प्रक्रियामा सहभागी हुने सुनिश्चित आधार सिर्जना गरिने छ ।

(३) श्रमजीवी पत्रकार ऐन जारी भएको दुई दशक भइसक्दा पनि यसको कार्यान्वयन हुन नसकेको कटु यथार्थलाई मनन गर्दै श्रमजीवी पत्रकार, कर्मचारी, कामदारको प्रतिस्पर्धात्मक क्षमता र वृत्ति विकासको अवसर सुनिश्चित गर्दै सञ्चार प्रतिष्ठानमा नियुक्ति पाएको दिनदेखि नै न्यूनतम पारिश्रमिक, विदा, वार्षिक वृद्धि, औषधी उपचार, बिमा, उपदान लगायतका सामाजिक सुरक्षाका सुविधाहरू पाउने प्रत्याभूतिसहित श्रम समस्याहरू समाधानको पहल गरिने छ ।

(४) मिडियाको स्वनियमन र प्रवद्र्धनको लागि राष्ट्रिय मिडिया आयोग र पत्रकारको दक्षता अभिवृद्धिका लागि राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाको पहल गरिने छ । प्रेस काउन्सिलसहित सरकारी स्वामित्वमा रहेका संचार संस्थाको पूर्नसंरचना गरी प्रतिस्पर्धी, सक्षम र सवल बनाउन स्वायत्तता प्रदान गर्न पहल गरिने छ ।

(५) मिडियालाई उद्योगको रूपमा विकास र संरक्षणका साथै व्यावसायिक पत्रकारिताको विकास, साना लगानीका पत्रपत्रिका र संचार माध्यमको संरक्षण, सम्पादकीय स्वतन्त्रताको जगेर्ना, सूचनामा पहुँचको सुनिश्चितता, पत्रकार र सञ्चारमाध्यमको भौतिक सुरक्षा, द्धन्द्ध पीडितलाई राहत, विज्ञापनको समुचित र समानुपातिक वितरण, सञ्चारमाध्यमको वर्गीकरण र सहुलियतको व्यवस्थामा पुनरावलोकन, स्थानीय तहका सञ्चारमाध्यमको संरक्षण, मिडियामा समावेशीकरण, लैंगिक समानताको प्रवद्र्धन, सरकारी टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक प्रसारण संस्था (एक्द्य) का रुपमा रूपान्तरण, अनलाइन पत्रकारितालाई मूल प्रवाहको पत्रकारिता सरह सुविधा, विधागत र एशोसियट संस्थाको प्रवद्र्धन एवं क्षेत्रगत असमानताको अन्त्यलगायत नेपाली मिडियाका समसामायिक मुद्धाहरूको संबोधनका लागि नयाँ मिडिया नीतिको निर्माण र मिडिया कानुनको पुनरावलोकनका साथै विशेष कार्ययोजना बनाई कार्यान्वयनको पहल गरिनेछ ।

(६) नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिमा पदीय बाँडफाट देहायबमोजिम हुनेछ—

पदाधिकारीतर्फः

प्रेस चौतारी नेपाल: अध्यक्ष, उपाध्यक्ष (समावेशी), सचिव (एसोशियट) र कोषाध्यक्ष ।

क्रान्तिकारी पत्रकार संघ: उपाध्यक्ष (खुल्ला), महासचिव र सचिव (महिला) ।

क्रान्तिकारी पत्रकार महासंघ: सचिव (खुल्ला) र सचिव (समावेशी)

सदस्यहरुतर्फः

प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार संघ: सुदूरपश्चिम प्रेस चौतारी दुबै, अन्य सबै क्षेत्र, प्रतिष्ठान र उपत्यका– १÷१ जना ।

कर्णाली: प्रेस चौतारी– १ ।

समाबेशी: दलित, मधेसी, जनजाति प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघ– १÷१ जना ।

महिलाः प्रेस चौतारी– २, क्रान्तिकारी संघ– १ ।

एशोसियट: प्रेस चौतारी– १ र क्रान्तिकारी महासंघ– १ ।

खुल्लातर्फ सदस्य :

प्रेस चौतारी– २
क्रान्तिकारी पत्रकार संघ– १
क्रान्तिकारी पत्रकार महासंघ– १
प्रगतिशील पत्रकार संघ नेपाल– १

समावेशीतर्फ (सदस्य)

अल्पसंख्यक: प्रेस चौतारी– १ ।

अपांगता भएकाबाट: क्रान्तिकारी पत्रकार संघ– १ ।

लेखा समिति:

प्रेस चौतारी : अध्यक्ष
क्रान्तिकारी पत्रकार संघ: सदस्य
क्रान्तिकारी पत्रकार महासंघः सदस्य (महिला)

७) चार संगठनबीच भएको यो सहकार्यलाई दृढतापूर्वक कार्यान्वयन गर्दै ठोस परिणाम हासिल गरी महासंघको नेतृत्व गर्न इमान्दारितापूर्वक पहल गरिनेछ ।

८) नेपाल पत्रकार महासंघलाई थप समावेशी बनाउन विधान संशोधनको पक्षमा रहेका विभिन्न संगठन र सरोकारवालाहरुसँग भएको छलफल र सहमति कार्यान्वयन गर्न संयुक्त रुपमा निर्णायक भूमिका निर्वाह गरिनेछ ।

राजेन्द्र अर्याल
अध्यक्ष, प्रेस चौतारी नेपाल

गोविन्द आचार्य
अध्यक्ष, क्रान्तिकारी पत्रकार संघ, नेपाल

कुमार शाह
अध्यक्ष, क्रान्तिकारी पत्रकार महासंघ

नारायण शर्मा

अध्यक्ष, प्रगतिशील पत्रकार संघ नेपाल
१७ बैशाख २०७१

 दैनिक नेपाल डट कमबाट – 

Like