राजमार्गको ‘क्याट आई’ टिकेन

605 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,  – राजमार्गको दायाँबायाँ र बीचमा लाइन कायम गर्न राखिएको ‘क्याट आई’ -रातिमा बल्ने यन्त्र) नौ महिना नपुग्दै काम नलाग्ने भएको छ । गल्छी बैरेनीदेखि मुग्लिनसम्मको सडक खण्डमा यही वैशाखमा राखिएको क्याट आई उप्कन, फुट्न र हराउन थालेको हो । सडक डिभिजन कार्यालयले टेन्डर प्रक्रियाबाट दुई हजार पाँच सय थान नर्मल क्याट आई (सामान्य रातिमा बल्ने यन्त्र) र करिब सय थान सोलार क्याट आई जडान गरेको थियो । अधिकांश सोलार क्याट आई काम नलाग्ने भएको ट्राफिक प्रहरीले जनाएको छ । सामान्य क्याट आई पनि फुट्न र बिग्रन थालेका छन् ।

images (1)‘बढी दुर्घटना हुने क्षेत्रमा रातको समयमा चालकलाई सवारी चलाउन सहज होस् भनेर क्याट आई राखेका हौं ।’ कार्यालयका इन्जिनियर गौतमकुमार श्रेष्ठले भने । सडक राम्रो नहुँदा क्याट आई टिकाउ नभएको उनले बताए । एड्भेन्चर निर्माण सेवा र न्यु तीन कन्या निर्माण सेवाले राजमार्गमा उक्त यन्त्र जडान गरेका थिए । उपयुक्त सडक भए क्याट आईको आयु तीन वर्षसम्म हुने सडक डिभिजनले जनाएको छ । ‘सोलार जडित क्याट आई परीक्षणका लागि राखेका हौं,’ उनले भने, ‘नतिजा राम्रो नआएपछि पुनः मर्मत गर्न निर्माण कम्पनीलाई भनेका छौं ।’

सडक छेउछाउमा राखिएको नर्मल क्याट आई रातिमा सवारीको बत्तीको उज्यालाले चम्कने गर्छ भने सोलार क्याट आई २४ सै घन्टा बल्छ । ‘सोलार जडितभित्र ब्याट्री र पाता हुन्छ,’ उनले भने, ‘दिउँसोमा बलेको हामीले देख्न सक्दैनौं ।’ कृष्णभीर मछेडी खोलामा राखिएको क्याट आई रातको समयमा चोरी भएको कार्यालयले जनाएको छ । ‘करिब डेढ सयभन्दा बढी चोरी भयो,’ उनले भने, ‘चोरी भएपछि सुरक्षाका लागि ट्राफिक प्रहरीलाई पत्र लेखेका छौं ।’

सडक राम्रो नहँुदा, सवारी लोड र चालकका लापरबाहीका कारण क्याट आई टिकाउ नभएको कार्यालयले जनाएको छ । ‘यन्त्रमाथि ढुंगा, गिट्टी पर्दा र चालकले जथाभावी ब्रेक लगाउँदा टुटफुट हुन सक्छ,’ गौतमले भने । क्याट आई सडक सतहभन्दा थोरै माथि उठेको हुन्छ । सोलार जडित आठ सय क्याट आई राख्ने तयारी भए पनि टिकाउ नभएपछि योजना परिवर्तन गरिएको डिभिजन प्रमुख हरिकुमार पोखरेलले बताए । ‘बिग्रेको ठाउँमा पुनः परिवर्तन गर्ने भनेका छौं,’ पोखरेलले भने । नर्मल र सोलार क्याट आई प्रतिगोटा आठ सय र चार हजार पर्छ ।

-इ कान्तिपुर डट कमवाट